PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

नेकपा एमालेका नेता/कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको आह्वान



पहिलोपोस्ट

नेकपा एमालेका नेता/कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको आह्वान

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा व्यक्तिवादमा सवार भएकाले त्यसविरुद्ध विद्रोहमा उत्रिन आह्वान गरेका छन्। 

'तपाईँहरु तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुस्,' पार्टीले औपचारिक मान्यता पाएपछि आफ्ना धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले भने। उनले केपी ओली जनताको जिम्मेवारीबाट भागिसकेको, पार्टी तहसनहस पार्न उद्धत भएको, सरकार चलाउन असफल भएको लगायतका आरोप लगाउँदै विद्रोह गर्न आह्वान गरेका हुन्।

'जबजलाई तिलाञ्जली दिइसकेपछि, क्रान्तिकारी नेतालाई पार्टीबाट निस्कासन गरेपछि विद्रोहको विकल्प भएन,' नेता नेपालले भने, 'विद्रोह पटकपटक भएको छ। इतिहासमा यस्तो हुने गर्दछ। विश्वमा पनि भएको छ। कार्ल मार्क्सले पनि गर्न परेको थियो।' 

आफ्नो अभियानलाई कम्युनिस्ट पार्टीको पुनर्गठनको अभियान भनेका छन्। त्यसमा पूर्व एमालेमा पीडित भएका सबै कार्यकर्ता, क्रान्तिकारी जनसमुदायको साथ मिलेकाले विद्रोह गरेको बताए।

'दुई दुई पटक प्रतिनिधिसभा विघटन गर्ने कीर्तिमान कायम गरेको व्यक्तिमाथि विद्रोह गर्न आह्वान गरेका छौं,' उनले भने।  

केपी ओलीलाई प्रतिगामी भएको भन्दै उनले नवौं महाधिवेशनबाट निर्वाचित अध्यक्ष भए पनि झिनो मतले मात्रै जितेका बताए। 'तर, उहाँले आफूलाई सर्वशक्तिमान ठान्नु भयो। पार्टीमा भेदभाव र व्यक्तिको समर्पण खोज्नुभयो। उहाँको वरिपरि प्रशंसाको पुल बाध्दै नाच्नेहरुलाई मात्र महत्व दिनुभयो,' नेपालले भने, 'अरु सबैको अवमूल्यन गर्नुभयो। पार्टीका बैठक बसेन। पार्टी मृतप्राय अवस्थामा पुग्यो। पार्टीभित्र उकुसमुकुस पैदा भएपछि हामीले संकल्प गर्‍यौं - राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेर विद्रोहको बिगुल फुक्यौं।' 

उनले आफूसँगका नेताहरुले साथ छाडेको विषय उठाउँदै लामो यात्रामा जाँदा बिचमै कतिपय थाक्ने गरेको बताए। 'लक्ष्य हासिल गर्न चाहनेहरु, क्रान्ति चाहनेहरु निरन्तर लागिरहनेछन्,' उनले भने।

राष्ट्रिय भेलाका कार्यकर्ताको भावनालाई आत्मसाथ गरेर देशभरि संगठन फैलाएको तथा कमिटी बिस्तारको काम गरेको समेत उनले बताए। उनले पुरानो बाटो नपछ्याउने भन्दै अहिले साथ छाडेका सहयोद्धाहरुलाई नकारात्मक टिप्पणी नगर्ने बताए। 

उनले नयाँ पार्टीले समाजवादको नेपाली मोडल देखाउने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell