PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

मेलम्ची अनिश्चित भएसँगै उपत्यकामा फेरि पानीको हाहाकार, दैनिक १० करोड लिटर मात्रै आपूर्ति!



दिनेश खड्का

मेलम्ची अनिश्चित भएसँगै उपत्यकामा फेरि पानीको हाहाकार, दैनिक १० करोड लिटर मात्रै आपूर्ति!

काठमाडौं : मेलम्ची आयोजना लगभग पूरा भएर काठमाडौंको सुन्दरीजलमा पानी झरेसँगै राहत महसुस गरिएको राजधानीमा खानेपानीको समस्या पुन: शुरू भएको छ।

सिन्धुपाल्चोकको मेलम्ची खोलाको १७ करोड लिटर पानी आएपछि वितरण सञ्जाल विस्तार भइसकेका उपत्यकामा विभिन्न स्थानहरुमा दिन बिराएर पानी वितरण हुन थालेको थियो। तर, असार १ मा मेलम्ची खोलामा आएको बाढीले आयोजना अनिश्चित भएसँगै यतिबेला उपत्यकामा पुनः पानीको हाराहार शुरु भएको हो।

मर्मतका लागि दुई महिनालाई भनेर बन्द गरिएको दिन नै मेलम्चीमा बाढी आएर आयोजनाको हेड वर्क्स पूरै बगाएको थियो। मर्मतका लागि सुरुङ बन्द गरिएकाले त्यसमा भने ठूलो क्षति पुग्न पाएन। यद्यपि, आयोजनाको हेडवर्क्स, सुरुङको मुख र साइटमा रहेका अन्य संरचनाहरु यतिबेला गिट्टी बालुवाले पुरिएको छ।

यसैले भदौ १ बाट मर्मत सकेर पुनः पानी वितरण गर्न थाल्ने योजना रहेको मेलम्ची अब अनिश्चितकालका लागि रोकिएसँगै काठमाडौंबासीका धारामा मेलम्चीको पानी फेरि कहिलेबाट आउन थाल्छ भन्ने पनि अनिश्‍चित भएको छ।

मेलम्ची बन्द भएपछि अहिले उपत्यकाभित्र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले वितरण गर्ने सबै स्थानमा चाँडोमा पनि सातामा एकपटक मात्र पानी आइरहेको छ। प्रायः हिउँद (सुख्या याम) मा पानीको हाहाकार हुने काठमाडौंमा अहिले बर्खामै पानीको समस्या शुरु भएको छ। यसैले पानी वितरण गर्ने निकाय केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्य आफैं भन्छन् - अहिल्यै यस्तो छ, सुक्खा समयमा उपत्यकामा पानी अभाव कति विकराल होला?

शाक्यको यो चिन्तापछाडि खासगरी दुई कारण छन्। एक, सुक्खा याममा यसैपनि भूमिगत र सतह दुवै किसिमका पानीका स्रोतहरु सुकेर करिब ५० प्रतिशत पानी घट्छ भने अर्कोतिर केयुकेएलले वितरण गर्ने आधा पानी चुहिएरै खेर गइरहेको छ।

अहिले काठमाडौं उपत्यकाका डाँडाहरुमा भएका ३५ वटा सतह स्रोतहरु र ९९ वटा डिप ट्युब वेल गरी केयुकेएलसँग काठमाडौंमा वितरणका लागि दैनिक १७ करोड लिटर पानी उपलब्ध छ। हिउँदमा भने यो घटेर नौ करोड लिटर हाराहारीमा झर्ने गरेको केयुकेएल बताउँछ।

अर्कोतर्फ, केयुकेएलको आफ्नै अध्ययन अनुसार यसको मेलम्ची अघिको वितरण प्रणालीको पाइपलाइन अत्यन्त पुरानो रहेका कारण चुहावट ४० प्रतिशत बढी छ। वितरण प्रणालीको लगतमा नदेखिने अन्य कृतिम चुहावट पनि रहेको बताइन्छ। यो सबै गर्दा प्रणालीमा हालिएकोमध्ये लगभग आधा पानी चुहावटमै खेर गइरहेको हो।

यी कारणले गर्दा उपत्यकामा रहेको पानीको माग र आपूर्तिबीचको खाडल असाध्यै फराकिलो हुँदै गएको छ।

अहिले काठमाडौं उपत्यकामा पानीको माग दैनिक ४३ करोड लिटर रहेको अनुमान छ। मेलम्ची राम्रोसँग स‌ञ्चालनमा आउँदा पनि यसको १७ करोड लिटर र केयुकेएलले अन्य स्रोतहरुबाट व्यवस्थापन गर्दै आएको १७ करोड लिटर गरी वर्षामा कुल ३४ करोड लिटर पानी उपलब्ध हुन्छ। केयुकेएलले व्यवस्थापन गर्नै आएको आधा लिकेजमै सकिने हुँदा वर्षामा करिब २६ करोड लिटर र हिउँदमा करिब २२ करोड लिटर पानी मात्र उपत्यकामा वितरण हुन सक्छ। त्यो भनेको मागको आधा मात्र हो।

तर, अहिले यति पनि आपूर्ति भएको छैन। मेलम्ची आयोजना बाढीले क्षतिग्रस्त भएपछि केयुकेएलले विद्यमान स्रोतहरुबाटै दिनमा १७ करोड लिटर पानी वितरण प्रणालीमा पठाइरहेको छ। तर, त्योमध्ये पनि लगभग आधा पानी चुहावटमै सकिने भएकाले राजधानीबासीका धारासम्म भने करिब नौ करोड लिटर मात्र पानी पुगिरहेको छ।

यसबाहेक ट्याङ्कर व्यवसायीहरुसँग भएका करिब ९ सय ट्याङ्करको दैनिक पानी आपूर्ति क्षमता पाँच करोड लिटर रहेको छ। तर, कोभिडका कारण र होटल-रेस्टुँराहरु पनि यतिबेला राम्ररी चल्न नसकेकाले ट्याङ्करबाट पनि एक तिहाई (करिब डेढ करोड लिटर) मात्र पानी आपूर्ति भइरहेको खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी संघका अध्यक्ष सुमन पाठकले बताए।

केयुकेएल र ट्याङ्कर व्यवसायी दुवैको मिलाएर पनि अहिले उपत्यकामा १० करोड लिटर हाराहारी मात्र पानी आपूर्ति भइरहेको देखिएको छ।

के गर्दैछ केयुकेएल?

केयुकेएलले पुरानै पाइपलाइनबाट पानी वितरण गरेका कारण चुहावट बढेको हो। मेलम्चीका लागि बिछ्याइएको नयाँ पाइपलाइन केही स्थानमा परीक्षण भएपनि धेरै ठाउँमा बाँकी नै छ। नयाँ पाइपलाइन नबिछ्याइएका स्थानहरुमा समेत केयुकेएलले पानी वितरण गरिरहेको छ। वर्षेनी चुहावट बढ्दै गएको भएपनि केयुकेएलले सुधारको योजना बनाएर कार्यान्वयन गर्न भने सकेका छैन।

सतहमा देखिने चुहावट मर्मतको काम गर्ने गरिएको भएपनि प्रणालीमा सुधारका लागि केयुकेएलले काम गर्न सकेको छैन। शाक्यका अनुसार सतहमा देखिने चुहावट सडक विभागसँग समन्वय गरेर ४८ घण्टाभित्र मर्मत भैसक्छ। तर, सतहको चुहावट मर्मत गरेपनि अण्डरग्राउण्ड लिकेज मर्मत गर्न केयुकेएलले सकिएको छैन। जबकि, कुल चुहावटमा केयुकेएलका अनुसार अण्डरग्राउण्ड लिकेज नै धेरै छ।

यसकारण पानीको समस्या टार्न स्रोतहरुको संरक्षरण र वितरण प्रणाली सुधार समेत गर्न लागिएको शाक्यले दाबी गरे। त्यसका लागि ट्युवेलहरुको मर्मत सम्भार गर्न लागिएको उनको भनाइ छ। त्यसैगरी, १० वटा ट्युवेल खनेर एक करोड लिटर पानी उत्पादन बढाउन लागिएको पनि उनी बताउँछन्।

४३ करोड लिटर पानी उपलब्ध गराइदिन माग

केयुकेएलले पानी वितरणको मात्रै काम गर्ने भएकाले ४३ करोड लिटर पानी वितरणको प्रबन्ध गरिदिनका लागि तालुक निकायहरुसँग माग गरेको छ।

हिउँदमा पानीका भएका स्रोतहरु पनि घट्ने र हाहाकार हुने भन्दै केयुकेएलले माग बमोजिमको परिमाणमा पानी आपूर्तिका लागि स्रोतहरु व्यवस्थापन गरिदिन खानेपानी मन्त्रालय र उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँग अनुरोध गरेको हो।

मेलम्ची खानेपानी बाढीले क्षतिग्रस्त बनाएर अनिश्चित भएपछि मन्त्रालय र बोर्डलाई काठमाडौं वरिपरिका स्रोतहरुको पहिचान गरेर पानी ल्याउने काम अघि बढाउन समेत सुझाएको शाक्यले बताए।

‘याङ्ग्री र लार्के आउन समय लाग्न सक्छ। मेलम्ची मात्रैले त नपुग्ने देखिएकै छ’, उनले भने, ‘यसैले मेलम्चीसँगै अन्य स्रोतहरु पनि खोजी गर्नुपर्छ।’

मकवानपुरको सिस्नेरी खोला, कुलेखानी ड्याम, त्रिशुली, शिवपुरी लगायतका स्थानलाई काठमाडौं उपत्यकामा खानेपानी आपूर्तिका अन्य सम्भाव्य स्रोतका रुपमा हेरिएको छ। यस्तै, वाग्मतीकै पानी समेत स्रोतका रुपमा प्रयोग गर्न सकिन्छ भनेर पनि बोर्डले छलफल चलाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell