PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

खेलाडीलाई 'नेशनल ड्युटी' मा फर्किन किन रोक्दैछन् युरोपका क्लबहरू?



पहिलोपोस्ट

खेलाडीलाई 'नेशनल ड्युटी' मा फर्किन किन रोक्दैछन् युरोपका क्लबहरू?

पछिल्लो समय युरोपियन क्लबहरू विश्व फुटबलको नियामक निकाय फिफासँग सन्तुष्ट छैनन्। उनीहरूले फिफाले आफ्नो अधिकारको दुरुपयोग गरिरहेको आरोप लगाइरहेका छन्।

त्यसमा पनि इङ्ग्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाले त दक्षिण अमेरिकामा विश्वकप छनोट अन्तर्गतका खेलका लागि खेलाडी रिलिज नगर्ने क्लबहरूलाई समर्थन गरिरहेका छन्।

फिफाको निर्णयले खासगरी प्रिमियर लिग प्रभावित छ। फिफाको निर्णय अनुसार ९ देखि ११ दिन अनिवार्य खेलाडी रिलिज गर्नुपर्ने भनिएको छ।

त्यसमा इङ्ग्ल्याण्डको कडा क्वारेन्टाइन सम्बन्धी नियम लिगको टाउको दुखाई बनेको छ। कोभिड १९ को विषयमा खेलाडीलाई भनेर सरकारले कुनै विशेष छुट नदिएकाले समस्या भएको प्रिमियर लिगले जनाएको छ।

प्रिमियर लिग क्लब लिभरपुलले यसअघि नै आफ्ना स्टाइकर मोहम्मद सलाहलाई राष्ट्रिय टिममा फर्कन रिलिज नगर्ने बताइसकेको छ। किनभने उनको इङ्ग्ल्याण्ड फर्कनासाथ क्वारेन्टाइनमा लामो अवधि बस्नुपर्ने छ। र, क्लबको खेलमा फर्किन ढिला हुन्छ जसले नजिता प्रभावित हुनसक्छ।

सलाहमात्र होइन लिभरपुलका ब्राजिलिय ट्रियो रोबेर्टो फर्मिन्हो, एलिसन बेकर र फ्याबिन्होको पनि अर्को महिना ब्राजिल फर्कनुपर्ने हुनेछ। तर, उनीहरूको सन्दर्भमा पनि सलाहकै केस दोहोरिने देखिन्छ।

विश्वकप क्वालिफायर खेलमा ब्राजिलले सेप्टेम्बर पहिलो साता चिली, अर्जेन्टिना र पेरुसँग प्रतिस्पर्धा गर्दैछ। यी तीनवटै बेलायतले कोभिड १९ महामारीमा अत्याधिक जोखिमयुक्त भन्दै 'रेड' लिस्टमा राखेका मुलक हुन्।

त्यसबाहेक म्यानचेस्टर सिटीका एडरसन र गाब्रियल जिससलगायतका खेलाडी पनि रिलिज नहुने अवस्था देखिएको छ। त्यस्तै, लिड्स युनाइटेडका राफिन्हा, म्यानचेस्टर युनाइटेडका फ्रेड, एभर्टनका रिचार्लिसन, चेल्सीका थिएगो सिल्भा लगायतका ब्राजिलियन खेलाडी अन्योलमा छन्।

त्यस्तै, टोटेनहमका क्रिस्टियन रोमेरो, जियोभानी, एस्टोन भिल्लाका इमिलियानो मार्टिनेजलगायतका अर्जेन्टिनी खेलाडी पनि यस्तोखाले नीतिले प्रभावित हुनेछन्।

'प्रिमियर लिगका क्लबहरूले अनिच्छुक हुँदाहुँदै सर्वसहमतिले अर्को महिना 'रेड लिस्ट'मा रहेका देशहरूमा खेलाइने अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी रिलिज नगर्ने निर्णय गरेको छ,' प्रिमियर लिगको विज्ञप्तिमा भनिएको छ, 'प्रिमियर लिगले १९ क्लबले गरेको निर्णयलाई समर्थन गरेको छ जसको सोझो असर ६० खेलाडीमा लागू हुन्छ। यी सबै क्लबका ६० जना खेलाडी सेप्टेम्बरको इन्टरनेशनल विन्डोमा रेड लिस्टमा रहेका २६ वटा देशमा खेल्न जाने तयारीमा छन्।'

स्पेनको ला लिगाले पनि एक विज्ञप्ति निकाल्दै साउथ अमेरिकन क्वालिफायर्स खेल्न जाने खेलाडीलाई रिलिज नगर्ने निर्णयको समर्थन गरेको छ।

'१३ फरक क्लबहरूबाट २५ खेलाडीहरू यो समय प्रभावित हुनेछन्। यो संख्या अझै बढ्न सक्ने देखिन्छ,' ला लिगाको विज्ञप्तिमा भनिएको छ।

यो त भयो दक्षिण अमेरिकाको कुरा। त्यसबाहेक एसिया, अफ्रिका लगायतका महादेशमा पनि विश्वकप छनोट अन्तर्गतका खेल हुँदैछन्।

युरोपियन क्लब एसोसिएसन (ईसीए)ले आफ्ना सदस्यलाई पत्राचार गरेको थियो। जसमा फिफाले ईसीए र अन्य सरोकारवालाहरूको आपत्तिका बाबजुद फिफाले एकतर्फी निर्णय गरेकोमा असन्तुष्टि जनाएको रोयटर्सले प्राप्त गरेको पत्रमा उल्लेख छ।

'ईसीएले फिफाको निर्णयमा आपत्ति जनाएको छ र स्थितिको समीक्षा गर्न आग्रह गरेको छ,' उक्त पत्रमा भनिएको छ, 'फिफाजस्तो फुटबलको गभर्निङ संस्थाले आफ्नो व्यवसायिक हित र क्लबका वैधानिक खेलको हित र यसका सदस्यहरूको व्यवसाय जोगाई राख्नका लागि आफ्ना नियामक कार्यको दुरुपयोग गर्छ भन्ने ईसीएले स्वीकार्दैन।'

ईसीएले यसै महिना दक्षिण अमेरिकी फुटबल फेडेरेसन कन्मेबोलको आग्रहमा अनिवार्य रिलिजको समय बढाएको निर्णयलाई क्लबहरूको हितविपरीत भएको आरोप लगाएको छ।

यसको विकल्प भनेको बेलायत सरकारले दिनसक्ने क्वारेन्टाइन छुट हुनसक्छ।

क्लबले खेलाडी रिलिज गर्न अस्वीकार गरे फिफाले कारवाही गर्न सक्छ। यो उसको क्षेत्राधिकार हो। फिफाले प्रिमियर लिगको कदमलाई लिएर कुनै प्रतिकृया दिएको छैन।

यता फिफाका अध्यक्ष जिआन्नी इन्फान्टिनोले क्लबहरु खेलाडीलाई रिलिज गर्न क्लबहरु बाध्य रहेको बताएका छन्। उनले बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई सम्बोधन गर्दै लेखेको पत्रमा खेलाडीको सन्दर्भमा युकेको रेड लिस्टमा परेको देशबाट खेलेर फर्कँदा क्वारेन्टाइन सम्बन्धि नियममा छुट दिन अपील गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell