PahiloPost

Jul 5, 2024 | २२ असार २०८१

विमलेन्द्र निधिले खोले बानेश्वरमा सम्पर्क कार्यालय, महाधिवेशन सम्मका लागि पुरै ब्याङ्क्वेट भाडामा



पहिलोपोस्ट

विमलेन्द्र निधिले खोले बानेश्वरमा सम्पर्क कार्यालय, महाधिवेशन सम्मका लागि पुरै ब्याङ्क्वेट भाडामा

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आउँदो महाधिवेशनलाई लक्षित गर्दै बानेश्वरमा सम्पर्क कार्यालय खोलेका छन्।

१४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका निधिले बानेश्वर ब्याङ्क्वेट नै बुक गरेर सम्पर्क कार्यालय खोलेका हुन्। महाधिवेशनसम्मकै लागि बुक गरिएको ब्याङ्क्वेटमा सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष स्थापना गरिएको छ।

निधिका लागि छुट्टै सचिवालय कार्यालय समेत निर्माण गरिएको छ।

महाधिवेशन लक्षित गर्दै ५०० जना अट्ने बैठक कक्षको समेत व्यवस्था गरिएको छ।

निधिले आज ब्याङ्क्वेटबाट आफ्नो सम्पर्क कार्यालयको शुभारम्भ गरेका छन्। निधि त्यहाँ पुग्दा कार्यकर्ताहरुले नाराबाजी गरेका थिए। 'विमलेन्द्र निधि जिन्दावाद, पार्टी सभापति विमलेन्द्र निधि जिन्दावाद' नारा बिच निधिले सम्पर्क कार्यालयको शुभारम्भ गरेका छन्।

निधिले भोलिबाट सबै भेटघाट ब्याङ्क्वेटबाट गर्ने बताइएको छ।

सरकारले हाल पार्टी प्यालेस, ब्याङ्क्वेटहरु संचालन गर्न अनुमति दिएको छैन। साथै, संक्रमणको जोखिम अझै रहेकोले भिडभाड नगर्न समेत आग्रह गरेको बेला निधिले ब्याङ्क्वेटमा नै सम्पर्क कार्यालय खोलेर भिडभाडबिच उद्घाटन समेत गरेका हुन्।

१४ औं महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा फेरि सभापति पदमा खडा हुने निश्चित भइसकेको छ। साथै, रामचन्द्र पौडले, कृष्णप्रसाद  सिटौला, प्रकाशमान सिंहका साथै कोइराला परिवारबाट पनि शंशाक, शेखर र सुजाता कोइराला समेत आकांक्षी देखिएका छन्। देउवालाई टक्कर दिन साझा उम्मेदवारको खोजि भइरहँदा निधिले सम्पर्क कार्यालय खोलेर औपचारिक रुपमा नै महाधिवेशनको तयारी सुरु गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell