PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कांग्रेस महाधिवेशन गर्माउने गरी विमलेन्द्र निधिको सम्पर्क कार्यालय खुल्दाका १० दृश्य



नेत्र तामाङ

कांग्रेस महाधिवेशन गर्माउने गरी विमलेन्द्र निधिको सम्पर्क कार्यालय खुल्दाका १० दृश्य

काठमाडौं : शुक्रवार नयाँ बानेश्वरको थापागाउँको मुल सडकमा मध्यान्हतिर एकाएक ट्राफिक जाम भयो। थापागाउँको बानेश्वर ब्याङ्क्वेट अगाडि ट्राफिक प्रहरीलाई मोटरगाडी भित्रतिर पसाउन र सडक खुकुलो बनाउन हम्मेहम्मे भइरहेको थियो।

कांग्रेस उपसभापति विमलेन्द्र निधिले यही ब्याङ्क्वेटलाई रोज्दै सम्पर्क कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेकले नेतादेखि कार्यकर्ता आउने क्रमले केही समय अस्तव्यस्त नै बन्यो सडक।

साढे १२ बजेका लागि कार्यक्रम तोकिए पनि निधि एक बजेमात्र कार्यक्रम स्थल आइपुगे। त्यसपछि धमाधम शुरु भयो उद्घाटनको कार्यक्रम। निधिको कार्यालय आफैँमा भव्य छ। यसले नेपाली कांग्रेसको आसन्न महाधिवेशन चर्को हुने संकेत पनि गरेको छ। शेरबहादुर देउवासँग सधैं निकट रहेका निधि देउवाविरुद्ध नै मैदानमा उत्रिनु आफैँमा हेर्न लायक विषय हो। त्यसमाथि जुन हिसाबले उनले तयारी अगाडि बढाएका छन्, त्यसले संकेत गर्छ - कांग्रेस महाधिवेशन कडै हुनेछ। कार्यालय सुरु गर्दाका केही दृश्यहरु यस्ता छन्, जुन तपाईँलाई रोचक लाग्न सक्छ - 

पानसमा बत्ती बालेर आफैँ उद्घाटन्

उपसभापति निधिले कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिको उम्मेद्वारी दाबी गरेका छन्। आफ्नो उम्मेद्वारी थप बलियो बनाउन र नेता कार्यकर्ताको सुझाव लिन उनले बानेश्वरमा सम्पर्क कार्यालय खोलेको उनको सचिवालयले जनायो।

आफ्नो कार्यालय आफैँ उद्घाटन।


दिउँसो १ बजे ब्याङ्क्वेट आइपुग्नासाथ निधिले सरासर उद्घाटन कार्यक्रम शुरु गरे। शुरुमा उनले पानसमा बत्ती बाले। त्यसपछि गमलामा रहेको वर पिपलामा पानी हाले। अनि उद्घाटन भयो सम्पर्क कार्यालय।

शहीदको तस्विरमा मल्यार्णपण

उद्घाटनसँगै निधि शहीदको फोटोमा मल्यार्पण गर्न पुगे। शहीदको फोटोमा शुरुमै लखन थापा मगरको फोटो राखिएको थियो भने अन्तिममा अरविन्द्र ठाकुरको। शहीदको फोटोहरुमा धर्मभक्त माथेमादेखि दुर्गान्द झासम्म समेटिएको छ। शहीदको फोटोको दायाँतिर पार्टी सभापति शेरबहादुर देउवाको फोटो राखिएको छ।

शहीददेखि नेतासम्म।


त्यसको दायाँतर्फ कांग्रेसका दिवंगत नेताहरुको तस्विर लहरै जसमा सबैभन्दा अगाडि वीपी कोइरालाको फोटो। सुवर्ण शमशेर गणेशमान सिंह, सूर्यप्रासद उपाध्यय निधिका बुवा महेन्द्रनारायण, शेख इद्रिस, सीके प्रसाइदेखि भीमबहादुर तामाङसम्मको फोटो राखिएको छ।

सातै प्रदेशको सम्पर्क कक्षा

बङ्क्वेटबाट भित्र पस्ने बित्तिकै सहायता कक्षा लेखिएको डेस्क देख्न सकिन्छ। त्यसको नजिकै दायाँ तर्फ सातै प्रदेशका लागि फरकफरक सम्पर्क कक्ष तोकिएको छ।

व्यवस्थित गर्ने प्रयास


त्यसको ठीक अगाडि सचिवालयका लागि बेग्लै कार्यकक्ष राखिएको छ। सचिवालयको भित्र भने ठूलो हल छ जहाँ ५०० जनासम्म नेता कार्यकर्ताका लागि कार्यक्रम र छलफल गर्न सकिने निधिको सचिवालयले जनायो।

भवनको देब्रेतिर माथिल्लो तल्लामा निधिको कार्यकक्ष रहेको छ। निधि सोमवार २ बजेबाट यही कार्यकक्षमा भेटिने छन्।

बानेश्वरको सिंगै ब्याङ्क्वेट भाडामा

पार्किङदेखि आमसभासम्म गर्न मिल्ने गरी निधिले ब्याङ्क्वेट भाडामा लिएका छन्। शुक्रवार उद्घाटन कार्यक्रममा मात्र १५ सय भन्दा बढी मानिसहरु उपस्थित भएका थिए। ब्याङ्क्वेट भाडा कति हो भनेर निधिको सचिवालयले खुलाएको छैन।आज उपस्थितको सवारी।


होमनाथ दाहालले सम्झेको एउटा घटना

कार्यक्रममा पूर्वमन्त्री समेत रहेका 'राष्ट्र पूकार'का पूर्व सम्पादक होमनाथ दाहालले निधिलाई बधाई तथा शुभकामना दिए।

२०२८ सालमा हालका सभापति शेरबहादुर देउवा नेविसंघको सभापति रहेको र उनको उत्तराधिकारीका रुपमा निधि नेविसंघको सभापति भएको घटना स्मरण गरे दाहालले। सोही प्रसंग जोड्दै दाहालले अहिले सभापति देउवा रहेकाले उत्तराधिकारी निधि हुनु नियतिको नै खेल भएको सुनाए।

चन्द्र भण्डारीको सुझाव : बलियो बनाउनुस्

कार्यक्रममा पुगेका कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले पनि सम्बोधनको मौका पाए। उनले सम्बोधनको क्रममा आफूहरुको बेग्लै समूह रहेको उल्लेख गर्दै सबैलाई सम्झाएर अहिले कमजोर बनेको कांग्रेसलाई बलियो बनाउन निधिलाई सुझाव दिए।निधिलाई सुझाव दिँदै।


'हाम्रो समूह छ। योग्य नेतृत्व होस् भन्ने हाम्रो चाहना छ। त्यसै अनुसार अभ्यास जारी छ। अरुको पनि उम्मेद्वारी आउनेछ, ' उनले भने, 'विमल दाजुको दायित्व सबैलाई सम्झाएर लानुपर्छ। सिटामोल दिने कि एन्टिबायोटिक दिने? अपरेसन गर्ने कि अरु के उपचार? कमजोर बनेको कांग्रेसलाई बलियो बनाउन सबै मिलेर लाग्नुपर्छ। विमल दाजुलाई शुभकामना।'

नियमित हेल्थ डेस्क

सहायता कक्षाको नजिकै हेल्थ डेस्क राखिएको थियो। जहाँ सुगरदेखि प्रेसर जाँच गर्ने नेता कार्यकर्ताको लाइन देखिन्थ्यो। महेन्द्रनारायण निधि मेमोरियल अस्पताल बसुन्धराले राखेको यो हेल्थ डेस्क महाधिवेशनभर राखिने निधिले जानकारी दिए।स्वास्थ्य परीक्षण।


विमलेन्द्रको त्याग बुझ्न दाहालको सुझाव

निधिको सम्पर्क कार्यालयको उद्घाटनमा पार्टीमा उनकै मातहातमा रहेको पार्टी प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले स्वागत मन्तव्य राखे। उनले निधिको राजनीतिक यात्राको चर्चा गर्दै बुवाको नामबाट राजनीति गरे भनेर आरोप लगाउनेहरुलाई विमलेन्द्रको त्याग बुझ्न आग्रह सुझाए। 

निधिले युवा पुस्तालाई अवसर दिन सभापतिमा दाबी गरेको र राजनीति गर्ने क्रममा पटकपटक जेलजीवन बिताउनुपरेको विषय उनले उठान गरेका थिए।

हिन्दु पूजारीहरु र लामाबाट पूजा

सम्पर्क कार्यालय उद्घाटन गर्दा निधिले विभिन्न शक्तिपीठका हिन्दु पुजारीहरु जम्मा गरेका थिए। बिहान ९ बजे नै हिन्दु पूजारी त्यहाँ पुगी पूजा गरेको निधिले बताए। 'आफ्नो चेम्बरमा बिहान ९ बजे हाम्रो सनातन धर्म अनुसार पूजापाठ गरेर शुभारम्भ गरेको छु,' निधिले भने।

पूजारीहरु। तस्बिर सौजन्य: रामजी दाहाल


पण्डित नरेन्द्र झाले नौ बजे पूजा गरेर उद्घाटन गरेको कार्यालयमा जनकपुर मन्दिरका महन्थ तापेश्वर दास, उनका सहयोगी रोशन दास, दक्षिणकालीका पुजारी, सूर्य विनायकका पुजारी, डोलेश्वर महादेवका पूजारी, पञ्च महालक्ष्मी मन्दिरका स्वामी कमल नायनाचार्यका प्रतिनिधि, पशुपतिनाथ मन्दिरबाट त्यहाँका भट्टका तर्फबाट भण्डारी आइपुगेको निधिले बताए। पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष कृष्ण अधिकारी पनि पूजामा आइपुगेका थिए। सभापतिको पदमा विजयी प्राप्त होस् भनेर पूजारीबाट आशीर्वाद मिलेको निधिले बताए।

त्यसैगरी, बौद्ध धर्मअनुसार पनि निधिले पूजा गरेको बताए। त्यसका लागि ३ जना लामा आइपुगेका थिए। 'लामा पनि आउनुभएको थियो। उहाँहरुको धर्मको अनुसार २१ तारा भनेको अत्यन्त शक्तिशाली हुन्छ। २१ ताराको पूजा गरेर उहाँहरुले मलाई आशीर्वाद दिएर जानुभएको छ,' निधिले भने।

सम्बोधन गर्दै निधि।


इश्लाम धर्मका गुरुहरु पनि सम्पर्क कार्यालय खुल्ने समयमा आइपुगेको निधिले बताए।

सम्बोधनको शुरुमै वीपी कोइरालालाई सम्मान गर्दै उनले कांग्रेसलाई अबको निर्वाचनमा जिताउन आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको जनाए। निधिले जिल्ला सभापतिहरुको सानेपामा जारी रिले अनशनको समेत समर्थन गरेका थिए। 'जिल्ला सभापतिहरूको माग ठीक हो। सबैले थाह पाउनुपर्छ क्रियाशील सदस्यताको सूची,' सम्बोधनका क्रममा निधिले भने।

निधिको सम्पर्क कार्यालय उद्घाटनका क्रममा नुवाकोट कांग्रेसका जिल्ला सभापति जगदीशनरसिंह केसी, डडेल्धुराका जिल्ला सभापति कर्ण मल्ल, धनुषाका सभापति, प्रदेश २ का कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, पर्साका कांग्रेस सभापति लगायत नेताहरुको उपस्थिति थियो। कार्यक्रममा करिब १५०० नेता तथा कार्यकर्ता आइपुगेको सचिवालयले जानकारी दिएको छ।

रसूचना यस्तो।


पान पराग खाएर जथाभावी नथुक्न सूचना

कार्यालयका हरेक स्थानमा एउटा सूचना राखिएको छ – कृपया पानपराग, गुट्खा खाएर जथाभावी नथुक्नु होला। यद्यपि, भर्खरै चिटिक्क पारेर खोलिएको अफिसका केही ठाउँमा भने पान खाएर थुकेको देखियो। शौचालयमा पनि यस्तरी जथाभावी थुकेको देखिन्थ्यो।

निधिको कार्यालय स्थापनाले नेपाली कांग्रेसको महाधिवेशन हुन्छ कि भन्ने संकेत भने गरेको छ। ठूलो खर्च र तयारीका साथ पार्टीका उप सभापतिले कार्यालय सञ्चालनमा ल्याउँदा कांग्रेसको महाधिवेशन राजनीति गर्माउने निश्चित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell