- भुवनेश्वरी शर्मा -
नेपाल अनेकतामा एकता भएको देश हो। प्राकृतिक विविधतामा मात्र नभएर सामाजिक साँस्कृतिक हिसाबले पनि नेपाल उत्तिकै समृद्ध र उन्नत छ। हरेक भूगोल, हरेक जाति र साँस्कृति परम्परासँग जोडिएका विविध तथा मैलिक चाडबाड र पर्वहरू छन्। यी चाडबाडहरू नेपाली धरोहर हुन्। यी नै चाड पर्वमध्ये सुदूर पश्चिम कर्णाली प्रदेशका केही जिल्लाहरूमा धुमधामका साथ मनाइने लोकप्रिय गौरा पर्व पनि एउटा हो। देवी पार्वतीले भगवान् शिवलाई प्राप्त गर्न गरेको तपस्या, आराधना, किम्वदन्ती नै यो पर्वको प्रारम्भ भएको भनाइ छ।
मूलतः गौरामा पार्वती र शिवको महिमा गाउने भए पनि यस पर्वमा पार्वतीलाई गौरा र शिवलाई गौरा महेश्वरको रूपमा पुकारिन्छ, पूजा गरिन्छ। गौरा-महेश्वर ब्रत र आराधना नै यस पर्वको प्रमुख विषय हो।
यस पर्वमा विशेषगरी विवाहिता महिलाहरूले पूर्ण श्रद्धा, भक्ति तथा विश्वासका साथ ब्रत बस्ने गर्दछन्। विवाहिता महिलाहरूले यो पर्वमा ब्रत बस्नु अनिवार्य जस्तै मानिन्छ। साथै, यस पर्वमा सबै उमेरका महिला पुरूष उत्साहका साथ भाग लिन्छन्। एक हिसाबले भन्नु पर्दा यो पर्व सामाजिक सद्भाव र सामाजिक एकताको पर्व पनि हो।
विवाहित महिलाहरूले गौरा माताको ब्रत बसी, पूजाअर्चना गरेर सन्तान प्राप्ति ,परिवारिक सुख तथा पतिको दीर्घायुको कामना गर्दछन्। गौरा माताको पूजा आराधनाबाट अटल सौभाग्य प्राप्त हुने विश्वासको कारण यो पर्वलाई सौभाग्यको पर्व पनि भन्ने पनि गरिन्छ।
साधारणत भाद्र शुक्ल पञ्चमीमा सुरु भइ करिब एक हप्तासम्म गौरा महेश्वरको धुमधामका साथ पूजा कार्यक्रमहरू संचालन हुन्छ। साधारणतः गौरा पर्व भाद्र शुक्ल पक्ष पञ्चमीमा सुरू भएर अष्टमीमा समाप्त हुन्छ। तर, गौरा पर्व कहिले काहीँ कृष्ण पक्षमा पनि पर्दछ। शुक्ल पक्षमा पर्ने पर्वलार्इ अजाली गौरा अर्थात् उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा पर्ने गौरालाई अनारी गौरा अर्थात् अध्यारी गौरा भनिन्छ।
पहिलो पटक ब्रत बस्ने महिलाहरूले शुक्ल पक्षको गौरा अर्थात् उज्याली गौराको ब्रतबाट शुरू गर्दछन्। पाँच प्रकारका गेडागुडी, पाँच प्रकारका वनस्पति गौरा पर्वका अनिवार्य बस्तुहरू हुन्। तसर्थ गौरा पर्वमा पाँच अंकको ठूलो महत्व हुन्छ।
भाद्र शुक्ल पञ्चमी गौरा पर्वको पहिलो दिन हो। पञ्चमीको दिन ब्रत बस्ने महिलाहरुले घर, गोठ लिपपोत तथा सरसफाई गरी चोख्याउछन्। स्नान गरी, शुद्ध भइ पञ्च बिरूडालाई तामा वा पित्तलको भाडामा भिजाएर घरको पवित्र ठाँउमा राखी गौरा पर्वको सुरूवात गर्छन्। पञ्च बिरूडा जुन पाँच प्रकारका गेडागुडीहरू जस्तैः गहूँ, गहत, मास गुराउँस र कलौको एक ठाउँमा मिसाएर तयार पारिन्छ। पञ्च बिरूडागौरा माताको पूजामा अक्षताको रूपमा प्रयोग गरिन्छ र पर्वको समापनमा प्रसादको रूपमा समेत वितरण गरिन्छ। गौरा पर्वभरी बिरूडाको महत्व हुने भएकाले गौरा पर्वको पहिलो दिनलाई बिरूडा पञ्चमी पनि भन्ने चलन छ।
गौरा पर्वको देस्रो दिन षष्ठीको दिन हो। अघिल्लो दिन घरघरमा तामाको भाडामा भिजाएर राखिएको बिरूडालाई पायक पर्ने पँधेरो, कुवा वा खोलामा लगेर महिलाहरूले शुभ मुहूर्तमा पखाल्छन्। बिरूडालाई पखालेपछि त्यही ठाउँमा गौराको प्रतिमा स्थापना गरी सगुन फाग गीत गाउँदै, पूजा आराधना गर्दछन्। पानीघट्टा नजिक स्थापित गौरा प्रतिमालाई न्वालो (कुवा) गौरा भनिन्छ।
गौरा पर्वमा सगुन, फाग गीत महत्वका साथ गाइन्छ। पौराणिक कालदेखि गाइने सगुन, फाग गीत बिरूडा भिजाउँदा, पखाल्दा, गौरा प्रतिरूप तयार गर्दा, स्थापना गर्दा साथै हरेक भिन्नाभिन्नै कार्यहरूमा फरकफरक बोलमा गाइन्छ।
सप्तमी गौरा पर्वको तेस्रो दिन हो। यस दिन गाँउभरीका महिलाहरू शुद्ध भएर दिनभरी निराहार बस्छन्। सामुहिक रूपमा खेतबारीमा गएर पञ्च वनस्पतिहरू साउँ, मुथो, धान, तिल र अपमार्ग खोजेर ल्याउछन्। ल्याइएका पञ्च विरूवाहरू मिलाएर गौराको प्रतिरूप बनाउँछन्। साथै, बेलको काठलाई महेश्वरको प्रतीक मानेर तयार गरिन्छ। बेहुली झै सिंगारिएकी गौराको प्रतिरूप र पहेलो कपडाले बेरिएको महेश्वर प्रतिमालाई सँगैसँगै राखिन्छ।
पवित्र, शुद्ध नयाँनयाँ कपडा लागाएका ब्रतालु महिलाहरूले दुलही झै सिंगारिएकी गौराको प्रतिरूप र महेश्वरको प्रतीकलाई बाँस, निगालोबाट बनेको डालोमा राखी पालैपालो शीरमा राखेर सगुनफाग गाउँदै विविध धार्मिक अनुष्ठानका साथ मन्दिर वा गाँउलेहरूले तयार गरेको गौरा घरमा भित्र्याउछन्। श्रध्दालु महिलाहरूले गौरी (गौरा) र महेश्वरको पूजा–अर्चना गर्दछन्। साथै रातो, पहेलो, कालो, निलो हरियो, सेतो पञ्चरंगको धागोबाट बनेको सात ठाउँमा गाँठो भएको दुबो धागो (कतै दुब धागो, सप्तमी डोरी पनि भनिन्छ) चढाउँछन्। गौराघरले त्यसबेला विवाह घरको झल्को दिन्छ। पूरा गाउँ नै रमाइलोमा सरिक हुन्छन्। पहिला पहिला सप्तमीका दिन ब्रतालु महिलाहरूले आगोमा पकाएको अन्न खाने चलन थिएन। तर, आजकल बेलुका पूजा सकेपछि एकछाक खाना खाने गरिन्छ।
गौराको स्थापनापछि बिसर्जन नभएसम्म गौराघरमा पुरुष तथा महिलाहरू छुट्टाछुट्टै ठाउँमा देउडा, चैत, धमारी, आदि खेल खेलेर, गीत गाएर मनोरञ्जन गर्दछन्।
चौथो दिन गौराष्टमीलाई अठवाली पनि भनिन्छ। अष्टमीको दिन ब्रतालु महिलाहरूले बिहानैदेखि पूर्ण भक्तिका साथ गौरा माता र महेश्वरको बिरूडा र फूलपाती चडाएर पूजा आराधना गर्दछन्। गौरा मातालार्इ सौभाग्यका सामग्रीहरू जस्तैः चुरा, पोते, टीका, धागो, सिन्दूर र रातो बस्त्रहरू र महेश्वरलाई पहेलो बस्त्र चडाउँछन्। एक हिसाबले यस दिन गौरा महेश्वरको विवाह महोत्सव नै हो। बेलुकिपख गौरा र महेश्वरका प्रतिस्वरूप राखिएका दुई डालोलाई ब्रतालु महिलाहरूले पालैपालो शिरमा राखी सगुनफाग गाउँदै नाचगान गर्दछन्।
त्यसै दिन महिलाहरूले पुरानो दुबो धागोको बिसर्जन गर्दै पण्डितको मन्त्र बाचन र अभिषेकबाट शुध्द पारिएको सप्तमीमा चढएको नयाँ दुबो धागो धारण गर्दछन्। यो दुबो धागो पुरूषहरूले लगाउने जनै जत्तिकै पवित्र र धार्मिक महत्वको छ। यसलाई विवाहित महिलाहरूले मृत्युपर्यान्त लगाउँछन्। विवाहित महिलाहरूले दुबो धागो जपेरमात्र खाना खाने चलन पनि छ।
पूजाआजा सकिएपछि, गौरा पूजा गर्दा चडाइएका फलफूल, अक्षता लगायतका सामग्रीहरू ठूला पछ्यौरामा राखी पाँच पटकसम्म आकासतिर पछ्यौरा हुत्याउने वा फड्काउने चलन छ। महिलाहरू पोल्टा थापेर ती फलहरू समात्छन्। र, आफ्नो भाग्य, सौभाग्यको आँकलन गर्दछन्। यसलाई फल फड्काउने भन्ने चलन छ। अन्तमा, ब्रतालु महिलाहरूले बिरूडालाई अफ्नो परिवारका सदस्यहरूको टाउकोमा छरेर, टीका लगाइदिएर अर्शिवाद दिन्छन्। यस्तो कार्यलाई मुन्टो पुज्ने भनिन्छ। बिरूडालाई प्रसादको रूपमा वितरण गरिन्छ।
सामान्यतः अष्टमीको भोलिपल्ट गौराको प्रतिरूपलाई बाजागाजासहित फाग गाउदै शुद्ध ठाँउमा लगेर बिसर्जन गरिन्छ। कुन दिन बिसर्जन गर्ने भन्ने कुरा ठाउँ अनुसार फरक पनि पाइन्छ। महेश्वरको प्रतीकलाई पहेलो कपडाले बेरेर मन्दिर वा गौरा घरको पवित्र स्थानमा राखिन्छ। गौराको प्रतिरूपको बिसर्जनसँगै गौरा पर्वको अन्त पनि हुन्छ।
गौरा पर्व धार्मिक, सामाजिक र सांस्कृतिक सद्भावनाको अनुपम उदाहरण हो। यसले परिवार, समुदाय र राष्ट्रलाई समेत जोड्ने काम गरेको छ। तसर्थ, गौरा पर्वलाई भेगीय हिसाबले मात्र हेरिनु किमार्थ पनि न्यायसंगत हुँदैन। यस पर्व सम्पूर्ण नेपालीको पर्व हो। राष्ट्रिय साँस्कृतिक धरोहर हो। तसर्थ यो पर्वको उन्नयनमा हामी सबैले हातेमालो गर्नु अत्यन्त जरूरी छ। गौरा पर्वको पावन अवसरमा सबैलाई हार्दिक शुभकामना।
