PahiloPost

Dec 25, 2024 | १० पुष २०८१

पत्रकार मोजिबुल्लाह घटना बुझ्न पत्रकार महासंघको टोली गौरमा, पीडित पत्रकार भन्छन् : ममाथि षड्यन्त्रपूर्ण रुपमा अन्याय भयो



राधेश्याम पटेल

पत्रकार मोजिबुल्लाह घटना बुझ्न पत्रकार महासंघको टोली गौरमा, पीडित पत्रकार भन्छन् : ममाथि षड्यन्त्रपूर्ण रुपमा अन्याय भयो

वीरगंज : नेपाल पत्रकार महासंघको केन्द्रीय मिसन टोली रौतहटको सदरमुकाम गौर पुगेको छ। पत्रकार मोहम्मद मोजिबुल्लालाई प्रहरीले लागू औषध मुद्दामा फसाएको घटनाको सत्य तथ्य छानबिन गर्न वरिष्ठ उपाध्यक्ष रमेश विष्टको नेतृत्वमा सात सदस्यीय छानबिन टोली बिहीवार दिउँसो गौर पुगेको हो।

पत्रकार महासंघको मिसन टोली समक्ष पीडित पत्रकार मोहम्मद मोजिबुल्लाहले पक्राउ पर्नुभन्दा पहिलेको अवस्था,कसरी फसाइएको व्योहोर तथा पक्राउ गरिसकेपछिको प्रहरीले के कस्तो यातना दियो भन्ने बारेमा जानकारी गराएका थिए। उनले प्रहरीले आफूलाई समाचार लेखेकै आधारमा फसाएको बताए थिए। साथै हिरासतमा रहदा प्रहरीले गाली गलौज तथा अपशब्द बोलेर मानसिक यातना दिएको बताए।

‘प्रहरीले समातेर लगेपछि मसँग केही सोधेन, सबै पहिलेदेखि रेडी थियो, मात्र मेरो उमेर हाल्न बाँकी थियो, डीएसपीले गालीकै मुखबाट बोल्थे,’ उनले भने, ‘मैले भन्थेँ के प्रहरीले टाइप गर्थ्यो के? ’

उनले समाचार लेख्ने पत्रकारको अवस्था यस्तो छ भने अन्य सर्वसाधारणलाई तह लगाउन प्रहरीले कति हदसम्म गुन्डा बन्न सक्छ, त्यसैको उदाहरण आफ्नो घटना भएको उनले विश्लेषण गर्दै सुनाए।

नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले यस्तो हर्कतको भन्डाफोर भएपछि अहिले नेपाल प्रहरीको गरिमा नै खस्केको बताए। उनले दोषी जो कसैलाई पनि कानुन बमोजिम कारवाहीको माग गरे। रौतहटका पत्रकार प्रभातकुमार झाले मोजिबुल्लाहको घटनालाई राजनीतिकरण गर्ने काम भइरहेकोले सचेत भएर छानबिन प्रक्रिया पूरा गरी भोलिको दिनमा अन्य मोजिबुल्लाह नफसुन् भन्ने आवश्यक पहल गर्न पत्रकार महासंघसंग अपिल गरे।

कारबाहीको माग

छानबिन गर्न रौतहट पुगेको मिसन टोलीका संयोजक रमेश विष्टले पत्रकारलाई लागू औषध मुद्दामा दोषीमाथि अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन्। उनले रौतहटको घटना प्रेस स्वतन्त्रता हननको गम्भीर घटना भएकाले यसमा महासंघ चुप लागेर नबस्ने बताए। महासंघका महासचिव रोशन पुरीले यो घटनालाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी रहेको बताए।

‘यो चानचुने घटना होइन, अन्तर्राष्ट्रिय सङ्घसंस्था मिलेर घटनालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ,’ उनले भने, ‘उनले संलग्न पत्रकार सन्जय सहनीलाई अहिलेलाई निलम्बन गर्न र दोषी भेटिए बर्खास्त गर्न रौतहट शाखालाई निर्देशन पनि दिइसकिएको छ।

’पत्रकार महासंघका सचिव दीपेन्द्र चौहानले पत्रकार मोजबुल्लाका विगतको क्रियाकलाप, उसको र प्रहरी बिच बढेको द्वन्द्वको कारण,घटनाको योजनाका पात्र तथा संलग्नलाई गहन छानबिन गरी सत्य बाहिर ल्याउनु पर्ने बताए। उनले मिसन टोलीले चाँडै प्रतिवेदन पेश गरी अन्य दोषीलाई पनि कानुनको दायरमा ल्याउन सरोकारवालासँग सकारात्मक पहल चाल्ने बताए।

के थियो घटना?

गत साउन ३२ गते गौर स्थित ग्रिन सिग्नल होटेल अगाडि पार्क गरिएको भारतीय नम्बरको मोटरसाइकलमा केही व्यक्तिले १०५ पिस प्रतिबन्धित लागु औषध नाइट्रोभेट राखेका थिए।

साँझ करिब ७ बजे मोटरसाइकलको लेग गार्डमा लागु औषध सहितको प्लास्टिकको झोला झुन्ड्याएको आधा घण्टापछि घुमुवा प्रहरीका असई उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहको टोलीले मोहम्मद मोजिबुल्ला र मोटरसाइकल चालक एवं अनलाइन रौतहट एक्सप्रेसको कार्यालयमा काम गर्ने शेख अतिउल्लाहलाई प्रहरीले गिरफ्तार गरेको थियो।

पछि होटेल अगाडि पार्क गरिएको सीसीटिभी फुटेज फेला परेपछि घटनामा पत्रकार मोजिबुल्लाह निर्दोष रहेको र घुमुवा प्रहरी तथा अन्य दुई जना धिरज यादव र जितेश यादवले लागू औषध राखेको खुलेको थियो। त्यसपछि रौतहटका तत्कालीन प्रहरी प्रमुख सिद्धिविक्रम शाहले पत्रकार सम्मेलन गरी पत्रकार मोजिबुल्लाहलाई रिहाइ गरेका थिए।

उनले नेपाल पत्रकार महासंघ रौतहटका सहसचिव सन्जय सनहीको संलग्नता रहेको खुलाएपछि एसपी शाह र सन्जय सहनीबिच भएको फोन संवादको अडियो सार्वजनिक भएको थियो। जसमा एसपीकै निर्देशनमा उक्त घटना भएको भन्दै नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले एसपी शाहलाई आवश्यक छानबिनको लागि काठमाडौं तानेको छ। घटनामा संलग्न पत्रकार सहनी फरार रहेका छन्।

घटनामा संलग्न दुई जना घुमुवा प्रहरीका असई यादव र साहलाई निलम्बन गरिएको छ भने सन्जय सनहीको मिडिया हाउस आजतक नेपालका कर्मचारी जितेश यादव र रौतहटका पत्रकार गौतम श्रेष्ठको मिडिया हाउस द नेपाल मिडियाका कर्मचारी धीरज यादवलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell