- लिलाराज खतिवडा -
पछिल्लोपटक घरमा म आफ्ना अनेक कहानीहरूमा हराउँदै थिएँ । म आफ्नै पात्रहरूका हाउभाउ देखाउन थालेको थिएँ। आखिर शरीर नर्कमा भए पनि दिमाग र चेतनालाई स्वर्गमा पुर्याउने आफ्नो अभिष्ट हो। यथार्थ तितो भए तापनि मलाई कल्पना गुलियो लाग्छ।
मुलुकको दुरुह अवस्था, घीनलाग्दो राजनीति र अधोगति लागेको चेतना - मेरा लागि यसभन्दा घोर नर्क अर्को थिएन। एकातिर माओवादी द्वन्द्वले बलात्कार गरेको दिमाग, अनि अर्कातिर त्यसैबेला बारुदले छिन्नभिन्न भएको मुटु बोकेर अब हामी अहिले यो घोर कोलाहलग्रस्त राजनीतिक आगोले पिल्सिएका छौँ। अब फोका उठे शरीर भरी। जलन अत्यधिक छ। ओखती छैन।
कहाँ जाने? कहाँ पुग्ने? केही पनि थाहा छैन!
अनि कालो स्वैरकल्पनामा हराउनुको अर्को विकल्प थिएन। अनेक शुक्ष्म प्रक्षेपणका सफल प्रयोगहरू पश्चात अचानक एउटा स्थूल यात्रा भयो। जुन मेरो जिन्दगीको एक निर्णायक यात्रा थियो। उता क्याथी आउने कुराले पनि म निकै उत्साहित थिएँ। यसपाली उसका र मेरा बिचका सारा युद्धहरू मत्थर गर्नुपर्ने अनिवार्यता दुवै पक्षलाई टड्कारो देखिन्थ्यो। किनभने, युद्धरत दुवै पक्ष थाकेका, गलेका र शिथिल देखिन्थे। जिन्दगीको रसस्वादन ठीकसँग गर्न नपाएर उनीहरू एक किसिमले कुपोषणग्रस्त पनि हुन पुगेका थिए। यो धेरै कोणबाट उही पुरानै ‘नाजी भर्सेस यहुदी’ युद्ध नै नजर आइरहेको थियो।
एयरपोर्टबाट सिधै पशुपति पुगेँ। आवोहवा अत्यधिक परिचित थियो जसले मेरो मुटु त हल्लाएन। तर, सम्पूर्ण नाभी हल्लाइदियो। मेरो सारा आङ् काठमाडौं नस्टाल्जियाले आर्विभूत हुन पुग्यो। पाइलाहरू आफसेआफ अघि बढिरहेका थिए। यसपाली खासमा म घरबाट वनतर्फ मुखातिव थिएँ। तर, यस्तो लागिरहेको थियो कि म वनबाट आफ्नो खास घरतर्फचाहिँ प्रस्थान गरिरहेको हुँ। कस्तो अचम्म?
तीन हप्ता अघि एकसरो अवस्थामा उर्लावारीबाट म बिराटचोक आएको थिएँ। ठूलीआमा हिमादेवी लामिछानेका घरमा बास बसियो। नयाँ भतिजी बुहारीले पकाएको स्वादिष्ट भेगान डिनरले मलाई निकै गहिरो निद्रा प्रदान गर्यो। बिहान उठेपछि खासमा मैले उर्लावारी नै फर्किनु पर्ने थियो। तर, म फर्किँन।
ठूलीआमाको परिवारसँग बिदा मागेर म सिधै बिराटनगर हान्निएँ। पुगुन्जेलमा मैले एउटा एयर टिकट कन्फर्म गरेँ। उर्लावारीको पिके ट्राभल्सका नूतन भाइको म प्रतिको बिश्वासले केही वर्ष यता मलाई काठमाडौं र मुम्बई आवतजावत गर्न निकै सहज बनाएको थियो। ऊ मलाई टिकट उधारोमा दिन्छ। पैसा ताकेता गर्दैन। कतैबाट आम्दानी भएपछि मलाई पनि उसैको बिल चुक्ता गर्ने चटारो हुन्छ।
नूतन उर्लावारीको एक जुझारु युवा व्यवसायी हो। इमानमा ऊ विश्वास गर्छ। आफ्नो समाजमा हुने विकृत्ति र विसंगतिहरूको ऊ खुलेर विरोध गर्न रुचाउँछ। उर्लावारी बस्दा फेसबुकमा उसका विद्रोही पोष्टहरू पढेर म आल्हादित हुन्थेँ। आपराधिक विगत बोकेका स्थानीय नगरप्रमुखका काला कर्तूतहरू बयान गर्दा नूतनले नगरप्रमुखका लठेत र भाडाका गुण्डाहरूबाट धम्की पनि खेपेको छ।
मैले कताकता नूतनमा आफ्नो स्वाभाव पाएको छु। केही महिनाअघि उसलाई त्यसरी धम्की आउँदा मैले उसकै पसलमा पुगेर उसलाई आश्वस्त तुल्याएँ, ‘भाइ डन्ट वरी, मैले तिमीमा एक प्रखर लिडर देखेको छु। त्यो लिडरलाई अझै धार लगाऊ। यस्तै छिटफूट धम्कीहरूले नै तिमी आफूभित्रको टाइमबमलाई विष्फोट गर्न सफल हुनेछौ।’
सुनेर ऊ सुगन्धित मुस्कुरायो। मलाई उसको त्यो निर्दोष मुस्कान अझै याद छ।
उसले मलाई श्री एयरलाइन्सको टिकट मिलाएको थियो। जहाज समयमा नै उड्यो। मसँग एउटा सामान्य पेस्तोल पनि थियो। तर, सुरक्षाकर्मीहरूले त्यसलाई नजरअन्दाज गरिदिए। पछि त्यो मैले पशुपति पुगेर वाग्मतीमा बगाइदिएँ। त्यसो गर्दा मैले मेरा केही मिल्ने साथीलाई द्रष्टा बनाएको थिएँ।
किनभने अब मेरो जेहनमा ‘माइक्रोवेपन एक्टिभेट’ भइसकेको थियो।
भन्न रुचाउँछु, अमृत बटुल्ने मौरी हुँ, आत्मघाती छु!
लामो कथा छ, हजुर। जसलाई अहिलेसम्म लेख्न सकिएको छैन। कैयन प्रयासका बावजूद पनि मैले आफ्नो कथा लेख्नै सकेको छैन। जे जति लेखेँ, सब झूठ थियो। भ्रम, भ्रान्ति र केवल जिन्दगीको सास धान्ने भजन थियो।
‘म को हुँ’ उपन्यासको भूमिकामा कुनै चिनियाँ सन्तका वाणीहरू सापटी लिएर लेखेको थिएँ, जे लेखियो त्यो सत्य थिएन। सत्य त्यो थियो, जसलाई लेख्न सकिएन।
यहाँ आफूले धेरैको कथा लेखियो। तर आफ्नो? अहँ, सकिएन। बन्दै सकिएन। ए, कोही छौं शहरमा मेरो कथा लेख्न सक्ने? छौ भने, म खाली छु। तर, के तिमी खाली छौ?
पोडेटोललाई देब्रे पारेर म पशुपतितिर लागे। आर्यघाटमा दन्किरहेका विशाल लप्काहरूलाई नियाल्दै म लामा पाइला चालेर भष्मेश्वर पुगेँ। गुरुभाइ र जोगी महाराजहरूलाई नमन गरेर म सरासर आफ्नो आश्रम पुगेँ। भष्मेश्वरका भैरवहरूले मलाई चिने। उनीहरूले मेरो अनुहार चाटे। मैले आँखा चिम्म गरेँ। एउटा अति तृप्त अतिरेकले मलाई झ्याप्पै छोप्यो। आँखाभरि आँशु लिएर म मेरो आश्रम पुगेँको थिएँ। जहाँ कणकणले मलाई चिन्दछन्। जान्दछन्। प्रेम गर्छन्। अनि मलाई न्यायो अँगालोमा बाँध्छन्। वाग्मतीमा बाढी आओस् कि नआओस् त्यहाँ मलाई हरेकपटक आध्यात्मिक चरमोत्कर्ष प्राप्त हुनेगर्छ।
आश्रममा यसपालि स्वीटजरल्याण्डबाट आएका रोलेन्ड दाजुले ठूलो रौनक ल्याए। हरि बाबाको चेहरा अति पुलकित देखिन्थ्यो। अन्य गुरुभाइ र सनातन भजन मण्डलीका सदस्यहरू पनि निकै उत्साहित देखिन्थे। भैरवहरू अलिक बिमारी थिए। तर पनि उनीहरू आश्रमको अत्यधिक उर्जाले आफ्नो पीडालाई भुलाउने प्रयासमा तल्लिन झैँ लाग्थे। भजन र आरती सुरु भएपछि भैरवहरू पनि भित्र आउँथे र काण्डहरूमा उठेको पुतपुत धुवाँले ‘एक्स्टेटिक’ हुन्थे। रोलेन्ड दाजुको आगमन पश्चात यो ऐतिहासिक सनातन आश्रम ‘रिलोड’ जो भइरहेको थियो।
रोलेन्ड दाजु लगभग डेढ वर्षदेखि काठमाडौंमा छन्। उनी नितान्त समाजसेवा गरिरहेका छन्। पहिलो भेटको केही घण्टा भलाकुसारीपश्चात मैले उनलाई सोधेँ, ‘हजुरको गाउँले टोनी हागनलाई चिन्नुहुन्छ?’
उनले चिम्रा आँखा पार्दै प्रतिप्रश्न गरे, ‘को रे?’
‘टोनी हागन हजुरबुवा क्या त, दि पायोनिर अफ नेपाल्स डेभलपमेन्ट!’ मैले उत्साहित हुँदै भनेँ।
तत्काल उनले गुगल गरे। सन् साठीको दशकमा नेपाल आएर केही चमत्कार गरेका अति महत्वपूर्ण व्यक्तित्व बारे उनले सरसर्ती इन्साक्लोपेडिया स्क्यान गरे। तस्वीरहरू चेक गरे। अनि मौनता चिरे, ‘अब याद आयो। चिनेँ मैले उहाँलाई। खतरै रहेछन् बाबै!’
उनका निला आँखाहरू नियाल्दै मैले भने, ‘यु आर दि नेक्स्ट टोनी हागन टु नेपाल, बिग ब्रदर!’
हाहाहा......गरेर उनी हाँसे। सबैले उनलाई साथ दिए। मचाहिँ अति गम्भीर थिएँ। ‘एंग्री मुड’मा ढामढामढुमढुम जिम्मे बजाउन थालेँ। अनि म नाभीबाट आवाज झिकेर गाउँन थालेँ,
मूकं करोति वाचालं पंगुं लंघयते गिरिं।
यत्कृपा तमहं वन्दे परमानन्द माधवम्।।
मेरी आमाले सिकाएका यी पुनरुक्तिक मन्त्र सुनेर अनुपम खेर झैँ देखिने रोल्याण्ड दाजु चकित र मोहित हुन पुगे।
केहीबेर म रोकिँदा उनले बडो अनुनय गर्दै भने, ‘प्लिज कन्टिन्यू, आइ लाइक इट!’
मैले आफुभित्रको ड्रयागन आवाज झिकेर उपनिषदको उक्त मन्त्रलाई पुनः गाउँन थालेँ।
रोल्याण्ड दाजुलाई मैले आफ्ना एक गुप्त मिसनका बारेमा बताएँ। उनका आँखा फराकिला भए। उनले बडा सर्कास्टिक टोनमा सोधे, ‘डु यु रियल्ली डिजर्भ इट, टल म्यान?’
मैले जिम्मे हान्न रोकेर लिथियम मिसिएको आवाजमा जवाफ दिएँ, ‘यश आइ डु, माइ लर्ड!’
रोल्याण्ड दाजुले सिगारको बाक्लो धुवाँ ओकलेर एउटा शानदार हाँसोले वातावरणलाई गजबको ‘थ्रिल’ दिए। सबैले उनलाई सााथ दिए। म अझै गम्भीर मुद्रामा नै थिए। लगातार जिम्मे ठोकिरहेको थिएँ। अचानक म बब मार्लीको ‘एक्सोडस काराओके भर्सन’ गाउँन थाले। चार लाइन गीत सुनेर रोल्याण्ड दाजु झन् चकित भए। अनि एक्साइटेड हुँदै मलाई आवाजमा साथ दिन थाले।
मैले पनि उनका निला आँखा छेड्दै अगाडि गाएँ,
ओपन योर आइज, एण्ड लुक विदिन
आर यु सेटिस्फाइड विद द लाइफ यु आर लिभिङ्?
दाजुबुढा तिल्मिलाए। मैले एउटा ब्रेक लिएँ।
ब्रेकपछि मैले रोल्याण्ड दाजुलाई भनेँ, ‘दाजु मलाई हजुरको एउटा प्रोफाइल लेख्ने अनुमति दिइबक्सियोस्।’
इन्टिलिजेण्ट रोल्याण्ड दाजु गम्भीर भए। अनि चस्मा सोझ्याउँदै भने, ‘तँलाई म अर्को हप्ता जवाफ दिन्छु।’
त्यसपछि बुढा दाजु गायब छन्। कतै ‘रिट्रिट’मा होलान्। प्यूपाहरू चलाउने आफ्नो आदत छैन। यिनलाई नेपालको दोस्रो टोनी हागन बनाएरै छाड्नु छ।
खासमा, यसपाली लामै आश्रम बसियो। कसैका पकेटका युटुबरलाई केही अन्तर्वार्ता पनि दिइयो। सत्य बोल्छु, युटुबका मेरा ती जर्बजस्त अन्तर्वार्ताहरूमा मैले आगो ओकल्नु थियो। जरुर, रुद्रघण्टी मेरो थियो। तर, आवाज थियो मेरा बुबाको। मेरा तर्फबाट खेल खत्तम!
मेरा लागि परमात्माको एउटा अंगुरी उपहार जर्मनीबाट मेरी एक्स गर्लफेण्ड क्याथी पनि आइपुगिसकेकी छे। नजाने उसले मेरा लागि कति सपना देखेकी होली। म सहजै त्यसको अनुमान लगाउन सक्छु।
दुइ वर्षअघि काठमाडौं शहरमा क्याथीले मलाई योजनाबद्ध फेला पारेर पुरै एक महिना डेटिंग गरिभ्याएकी थिई। त्यतिबेला म पशुपतिमा अण्डरकभर बस्थेँ र आफ्नो संगठन मजबूत गर्थेँ। अनि साथीभाइको मद्दतमा एउटा गाइडको फेक आइडी बनाएर टुरिस्ट घुमाउँथे।
भेट्नासाथ, यसपाली मलाई बाह्र राउण्डको एउटा अत्याधुनिक ग्लोक पेस्तोल उपहार दिँदै क्याथीले निकै लामो अँगालो पेश गरी। उसको अँगालो पराहर सालको भन्दा निकै न्यानो र सुविस्ताजनक लाग्दै थियो। पहिलो भेटमा ऊ मेरासामु हिटलरको नाति खोज्दै आइपुगेकी थिई र अन्त्यतः जर्मन राजदुतावासको आग्रहमा नेपाल पुलिसबाट गिरफ्तार भएर आफ्नो मुलुक सुपुर्दगी गरिएकी थिई।
मैले बिस्तारै क्याथीका अति नरम र स्वादिला ओठमा आफ्ना खस्रा र खग्रास भएका ओठहरू राखिदिएँ। त्यसपछि क्याथीले बिजुलीको अति शत्तिशाली करेन्ट जसरी मेरो आत्मासम्मै आफुलाई समाहित गरिदिइ। त्यहाँ प्रकृति आफसेआफ नाङ्गिदै थियो र हामी दुई हुँदै थियौँ क्रमशः बेहोशबेहोश! आकाशमा तत्काल गड्याङ्गुडुङ् भयो। क्याथीले मलाई आफ्नो अँगालोमा अरु दह्रो गरी कसी।
जिन्दगीमा पहिलो पटक म एक अभुतपुर्व परागशेचनको चरमोत्कर्षमा पुगिरहेको थिएँ। धादिंगको यो एक गुमनाम रिसोर्टमा मैले हुरर्हुरी आगो लागिरहेको महसुस गरेँ।
मध्यरातमा अचानक आँखा खुलेपछि मैले क्याथीको अँगालोबाट आफुलाई अलग गरेँ र मोबाइल बोकेर बाशरुम घुसेँ। भोरमा लघुशंका गर्नुको मजा केवल ब्रह्ममुर्हुतमा उठ्नेहरूलाई थाहा हुन्छ।
फटाफट सीएनएनडटकम दाबेँ र ताजा समाचारहरूको अनकण्टार जगतमा गोता लगाउँन थालेँ। अनि एउटा कडा सिगार सल्काएँ।
प्रमुख समाचारले ध्यान खिँच्यो।
शीर्षक थियो, ‘स्यूरोनक्स प्रोरिबर्ग इज स्टिल अलाइभ। एभिडेन्स सोज द्याट हि वाज नट डेड। रादर इट वाज मियर्ली अ डार्क कन्स्पिरेसी!’
जर्मनीबाट मेरी एक्स गर्लफेण्ड क्याथी आएपछि मष्तिस्कमा यसपटक सर्वप्रथम डोपामाइनको अथाह वर्षा हुन पुगेको थियो। मेरो टाउकोमा प्रेम, भक्ति र निर्वाण एकसाथ घटित भइरहेको थियो। जीवनको दुरुह मार्गमा अहिलेसम्म काँडाहरूको बिछ्यौनामा काँडाहरूकै सिरक ओढेर सुतिरहेको यस शख्सलाई क्याथीको न्यानोपना, स्नेह र अनुरागले अति आह्लादित तुल्याएको थियो।
क्याथीले यसपटक केही ‘कन्स्पिरेसी ह्याकर’लाई समेत लिएर आएकी थिई। र, उसको प्लाटुनमा थिए– कैयन इन्टेलिजेन्ट, रहस्यमय र शक्तिशाली पश्चिमा मान्छेहरू।
‘के तिमी स्युरोनक्स प्रोरीवर्गका लागि काम गर्छौ?’ मैले क्याथीका नीला गहिरा आँखाहरूमा गढेर हेर्दै सोधेँ।
‘तिमीलाई थाहा छ म नाजी रगत हुँ। त्यो यहुदी बुढो हाम्रो दुश्मन हो! कसरी म उसँग काम गर्न सक्छु?’ उसले छेडुँला झैँ आवाजमा प्रतिप्रश्न गरी।
‘त्यसो भए कस्को लागि काम गर्छौ त?’ मैले आफ्नो आवाजमा अलिकति युरानियम मिसाएर सोधेँ।
‘तिम्रो बाउको लागि!’ ‘सिल्भरफ्लेक्स’ उडे जस्तै उसका शब्द निस्किए।
हाहाहा...
म जोडले हाँसे। ऊ गम्भीर भई।
अनि उसको आफ्नै रौद्र रुप फिजाउँदै भनी, ‘राथशाइल्डहरूको अब हामी पत्तासाफ गर्नेछौँ। त्यो प्रोरिवर्ग बुढोको रगतमा राथशाइल्डकै लिगेसी छ।’
‘तिमी मेरो पुर्खाका बारेमा गलत बोलिरहेकी छौ,’ मैले अलिक कडा आवाजमा भनेँ।
‘युद्ध नै तिम्रा र मेरा पुर्खाहरू बिचको सम्बन्ध हो। वा सम्बन्धले हो। अनि कसका बारेमा गलत बोलुँ त म?’ उसले जवाफ फर्काइ। तर, उसको आवाजमा क्रोध थिएन।
ऊ गायव भइ। मैले सिगार जलाएँ। सिगारमा आजकल पहिले जस्तो ‘किक’ थिएन। मुखको तीतो काट्न ‘स्ट्रेप्सिल’ मुखमा हालेँ।
अकस्मात एउटा गोप्य सुचना मलाई प्राप्त भएको थियो, स्यूरोनक्स प्रोरिवर्ग ‘डिस्गाइज्ड इन्टेन्शन’मा काठमाडौंमा थियो। ऊ बौद्धमा एउटा ‘लग्जरियस अर्पाटमेन्ट’ भाडामा लिएर बसेको थियो। मेरो मेरुदण्डमा उसले फिट गरेका ‘माइक्रो चिप्स’हरू ‘हार्भेस्ट’ गर्नुपर्ने भएकाले ऊ खास मेरा लागि नै यता टप्किएको थियो। खास मेरै लागि। मेरो ‘सेफ्टी’का लागि ऊ क्याथीलाई किच्न पनि सक्थ्यो। तर, म यो चाहन्न थिएँ।
म युद्ध होइन शान्ति चाहन्थेँ। प्रथम विश्व शान्ति!
चिप्सहरू बेलैमा ‘हार्भेस्ट’ नगरे मेरो इहलीला समाप्त हुनेछ। यता मलाई इहलीला समाप्ती पनि सहस्र मञ्जूर! मैले कैयौँ अशरीर यात्रा गरेको छु। मैले जीवित अवस्थामा नै कैयौँ पटक मृत्यु भोगेको छु। शरीर यता वा शरीर उता - मेरा लागि दुवै अवस्था समान हुन्।
शरीर छाडेको कालो स्वैरकल्पनामा मैले डायरी लेखेँ,
यात्रा जिन्दगी
जिन्दगी यात्रा
कहाँ छौ तिमी
ए मेरो जिन्दगी?
जिन्दगी खोज्न कैयन यात्राहरू भए। तर, भेटिएन जिन्दगी। न यता थियो जिन्दगी। न उता थियो जिन्दगी। न पूर्व थियो जिन्दगी। न त पश्चिममा नै थियो जिन्दगी। उत्तरमा सगर थियो जिन्दगी। दक्षिणमा सागर भयो जिन्दगी।
इशानमा थियो जिन्दगी। तर भेटिएन। नैरोत्यमा खोजिएन जिन्दगी। वायुभ्य तिर पुग्न सकिएन। अब कता जाने?
त्यसो त जिन्दगी खोज्न जाने आयामहरू प्रशस्तै बाँकी छन्। जिन्दगीका कैयन पानाहरू अन्लिखा छन्। पहाड सरह भीमकाय कागजका सेता पन्नाहरू अक्षरदान अपेक्षा गर्छन्, मेरो कलमसँग।
कलम हो, क्षमाशील हुन्छ। कलम करुणावान हुन्छ। कलम कमलसदृश हिलोमा फक्रिदिन्छ। बर्षातको बेलामा जमिनको अति विराट तालुमा अनवरत चोट हानेर बर्षिने पानीका थोपाहरू जस्तै अक्षरहरू बग्रेल्ती सेता र भीमकाय कागजका पाना हिल्याउँछन्। अनि म थप लेखिदिन्छु, श्यामश्वेत जिन्दगी त्यहाँ नाच्छ, छमछम!
अन्त्यतः तीन हप्ताको लगातार बसाइपछि मैले राजधानी छाडेँ। छाड्नु अति जरुरी थियो, किनभने त्यस पापी खाल्डोमा मलाई अक्सिजन पुगिरहेको थिएन। कसरी बसिरहेका छन् त्यहाँ मान्छेहरू? के उनीहरू कम भन्दा कम अक्सिजनमा पनि बाँच्ने बानी भएका छन्? प्रश्नहरूले मलाई ताज्जुब मात्रै होइन, कहाली नै उत्पन्न गरिदिएको छ।
सागरतर्फको यात्रा अत्यधिक भएको थियो। त्यसैले यसपाली हिमालतर्फ अग्लिने जमर्को गरिएको छ। यसै पनि आफ्नो मुलुकका हिमाल टेकिएकै प्रायः छैन। तर, अब म हिमालयमा आफूलाई ‘डिजोल्भ’ नै गरिदिने छु।
तपाईं कुनै पनि कुरालाई सड्न नदिन रेफ्रेजरेटरमा कोच्नु हुन्छ, हो? अनि म पनि आफूलाई सड्न नदिन हिमालय विचरणमा लागेको छु। तल शहरको सडानको असर पनि जेहनबाट काट्नु छ। बाँकी रहेका पखेटा र नंग्राहरू चीलले झैँ उखेल्नु र भाँच्नु छ। नाङ्गैभुतुङ्गै भएर हिउँमा लडिबुडि खेल्नु छ। चिसोको त्यो पराकाष्ठालाई अत्यन्तै नजिकबाट बाँच्नु छ।
त्यसपछि?
नसोध, त्यसपछि के हुन्छ। त्यहाँ म कहाँ रहने छु र म? त्यहाँ मेरा सम्पूर्ण पहिचानहरू पनि ध्वस्त हुनेछन्। हुनेछ, त्यहाँ मेरो महामृत्यु। एक सम्पूर्ण ‘मेटामोर्फोसिस’!
अहिलेसम्म आफू यसै पनि ‘सस्पेन्डेड एनिमेशन’मा बाँचिरहेको। अर्थात्, आफ्नो भाषामा भन्नु पर्दा वनवास! हो, म एक लामो, कठोर र कहालीलाग्दो वनवासमा थिएँ।
के सकिएको हो त मेरो वनवास अहिले?
हाहाहा ...!
खित्का छाडिसकेपछि यसै मेसोमा मैले एउटा सान्दर्भिक गीत गाएँ,
तेरो बाउ
मेरो बाउ
माछा मार्न गए
माछा मारी ल्याए
ढुंगामा सुकाए
तँलाई टाउको
मलाई पुच्छर
बाँडिचुँडी खाए
कसरी?
बाँडिचुँडी खाए!
त्यसो त यहाँ हरेक रामको वनवास उसले रावण मारेपछि सकिने गर्छ।
लामो वनवास भोगे पनि आफू राम परिएन। दशरथपुत्र रामसँग साइनो कतै अज्ञात भए, कदाचित्, मचाहिँ रावणको वध गर्ने छैन।
मेरा ‘स्किजोइड’ कुरा बुझ्नु भो?
बुझ्नु भएको खण्डमा भन्नुहोस्, कुन विरोधाभास? अनि कुन सत्य? कुनचाहिँ असत्य वा अर्धसत्य?
‘क्लाइमेक्स’ यस्तो छ - यसपालि रावण कैद हुने छ।
रावण याने, क्याथीको बाउ!
*डिस्केलमर : तपाईले अहिले पढ्नु भएको कथा 'स्किजोइड' यसअघि प्रकाशित हिटलरको नातिको सिक्वेल हो। तपाईँले अघिल्लो भाग पढ्नु भएको छैन भने तलको लिङ्कमा क्लिक गर्नुहोला -