PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

जिल्ला सभापतिकै नाम 'क्रियाशील सदस्यबाट आउट!' कांग्रेसमा चरम असन्तुष्टि



पहिलोपोस्ट

जिल्ला सभापतिकै नाम 'क्रियाशील सदस्यबाट आउट!' कांग्रेसमा चरम असन्तुष्टि
अनशनकारी जिल्ला सभापतिहरु।

काठमाडौं : क्रियाशील सदस्यताको राजनीतिले नेपाली कांग्रेसको आसन्न महाधिवेशनलाई नराम्ररी विथोलेको छ। विवादित बनेको क्रियाशील सदस्यताको विषय सुल्ट्याउन पटकपटक सहमति जुटे पनि त्यसले परिणाम दिन सकेको छैन।

क्रियाशील सदस्यताको सूची सुरुमा सार्वजनिक नै भएन भने भएपछि पनि विवादबाट बाहिरिएन। पार्टी कार्यालयमा आज यसै विषयलाई लिएर अनशन बसेकाहरुलाई अनशन तोड्ने भनिए पनि अहिलेसम्म सहमति भइसकेको छैन।

त्यसैबिच कांग्रेसको जिल्ला सभापतिकै नाम क्रियाशील सदस्यको सूचीमा नभेटिएको नेताहरुले सार्वजनिक गरेका छन्।

रुकुम पूर्वका सभापति केशरमान रोक्काको नाम क्रियाशील सदस्यता सूचीमा नभेटिएको काभ्रेपलाञ्चोकका कांग्रेस जिल्ला सभापति मधु आचार्यले जानकारी दिए। बिहीवार प्रकाशित भएको थियो रुकुमपूर्व सहित ३८ जिल्लाका क्रियाशील सदस्यहरुको सूची।

पार्टीको जिल्ला सभापतिकै नाम सूचीबाट 'आउट' भएको भन्दै पार्टी कार्यालयमा उपस्थित नेता तथा कार्यकर्ता आक्रोशित बनेका छन्। यसै विवादले महाधिवेशन थप अन्योलतिर धकेलिँदैछ।

यता अनशन तोडाउने भनिए पनि नेताहरु आइपुगेनन्। त्यसैले जिल्ला सभापतिहरुले रिले अनशन जारी नै राखेका छन्। आज बिहान ११ बजे अनशन तोडाउने खबरले हिजोबाट बसेका जिल्ला सभापतिहरु अहिले दिउँसो ४ बजेसम्म यहीँ थिए। कृष्ण सिटौला, रमेश लेखक, डा मिनेन्द्र रिजाल अनशन तोडाउन आउने भनिएको थियो। उनीहरु नआएपछि काठमाडौं जिल्ला सभापति सबुज बानियाँसहित उदयपुरका विदुर बस्नेत र संखुवासभाका दिपनकुमार श्रेष्ठ अनशनका लागि पार्टी कार्यालय आइपुगेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell