PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

फेरि हल्लाकै बजार : के साँच्चै निर्मला प्रकरणमा अभियुक्तको नजिक पुगेको हो प्रहरी?



सविन ढकाल

फेरि हल्लाकै बजार : के साँच्चै निर्मला प्रकरणमा अभियुक्तको नजिक पुगेको हो प्रहरी?

काठमाडौं : बिहीवार राज्य व्यवस्था तथा सुशासन समितिमा दुईवटा विषयमा गृह मन्त्री बालकृष्ण खाँणले जवाफ दिनुपर्ने थियो। दुवै विषय पेचिला थिए। गृह मन्त्रालयको नेतृत्व गर्ने जो कोही मन्त्रीका लागि यी विषयमा जवाफ दिन सजिलो थिएन।

खाँड अघि मन्त्रालयको नेतृत्व सम्हालेका रामबहादुर थापा बादलले पनि यसको जवाफ प्रस्टसँग नदिँदै बिदा भए। त्यस्तै, बहालवाला गृह मन्त्री खाँणका लागि पनि ठ्याक्कै यही भन्ने अवस्था थिएन। नअलमल्याउँ, दुवै घटना सुदूर पश्चिमको हो। एउटा दार्चुलाका जयसिंह धामीको विषय हो भने अर्को चाहिँ निर्मला पन्त। एउटा पुरानो इस्यु त एउटा नयाँ तर दुवैमा जवाफको अपेक्षा। धामीको विषय नयाँ रहे पनि निर्मलाको विषयमा भने धेरैले आशा मारिसकेका छन् - न्याय मिल्छ भन्ने। खाँणले निर्मलाको विषयमा कसरी आफू मातहतले काम गरिरहेको छ भनेर जवाफ दिए। तर, उनले दिएको जवाफको जसरी रिपोर्टिङ भयो त्यसले फेरि पनि तरङ्गमात्र सिर्जना गर्‍यो।

गृहमन्त्री खाँणको जवाफ त दिए। तर, उनले दिएको जवाफ यतिखेर विभिन्न कोणबाट हेरिरहेको छ। अनि कतिपय सञ्चार माध्यममा निर्मलाको हत्यारा पत्ता लगाइसकेको भन्दै समाचार पनि आए। के निर्मलाको हत्याराको नजिक प्रहरी पुगिसकेको हो त? यदि होइन भने, गृहमन्त्री खाँणले अनुसन्धान किन नजिक पुगिसकेको दावी समिति बैठकमा गरे? अथवा उनले जे भनेका थिए त्यो फरक रुपमा मिडियामा आयो त?

राष्ट्रिय समाचार समिति (रासस)मा निर्मला घटनाको अनुसन्धान नजिक पुगिसकेको र भेरिफाई हुने बित्तिकै सार्वजनिक गरिने कुरा गृहमन्त्रीले बताएको भन्दै समाचार प्रवाह भयो। त्यसैलाई आधार बनाएर सबैजसो सञ्चार माध्यममा समाचार आयो।

राससले लेखेको समाचारमा भनिएको छ, 'गृहमन्त्री खाँणले नेपाल प्रहरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नजिक पुगिसकेको र अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक हुने जानकारी पनि गराउनु भयो।'

सरकारी स्वामित्वको र मुलुकको एकमात्र समाचार संस्थाको समाचारलाई विश्वास गर्दा गृह मन्त्री खाँणले प्रहरी निर्मलाको हत्यारा नजिक पुगेको मान्न सकिन्छ। तर, त्यही समाचारको अर्को अनुच्छेदमा राससको लिडमा जे लेखिएको छ त्यसकै फरक अर्थ हुनेगरी लेखिएको छ। उक्त अनुच्छेदमा 'अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक गर्छौँ' भनिएको छ। पूर्णता पाएपछि... भन्नुको अर्थ हो पूर्णता पाएको छैन। पूर्णता नपाएसम्म हत्याराको नजिक पुगेको भन्न कसरी सकिन्छ? प्रहरी अधिकृतहरु अनुसन्धान कि त शून्य मान्छन् कि त शतप्रतिशत। कहिले पनि अनुसन्धान ५०/६० वा अन्य प्रतिशतमा नहुने तर्क गर्छन्। त्यसैले अभियुक्त यही हो भन्ने आधार पुष्टि नभएसम्म नजिक पुगेका छौँ भन्नुको अर्थ रहन्न।

तर, गृहमन्त्री खाँणले निर्मलाको हत्यारा नजिक पुगिसकेका छौँ। फेरिफाई गरेपछि सार्वजनिक गर्छौं भनेकै हुन् त? तपाईँलाई जस्तै जिज्ञासा हामीलाई पनि लाग्यो। र, सोध्यौं।

राज्य व्यवस्था तथा सुशासन सदस्य डिला संगौला (पन्त)ले समाचारमा पढेजस्तो गृहमन्त्रीले नबोलेको बताइन्।

'उहाँले सार्वजनिक गर्छौं, नजिकै पुगेका छौँ भन्नुभएको छैन। अनुसन्धान भइरहेको छ भनेर राम्रोसँग जानकारी दिनुभएको थियो,' संगौलाले भनिन्।

तत्कालीन गृह मन्त्री रामबहादुर थापा बादलले घटनाको पूर्ण जानकारी नै नलिई घटनाको बारेमा प्रतिनिधिसभामा बोल्दा अनुसन्धानमा नै प्रभाव परेको थियो। गृह मन्त्री रामबहादुर थापा ‘बादल’ले संसदमा घटनाबारे जानकारी गराउँदै भनेका थिए, 'आफन्तले दिएको जानकारीका आधारमा दुई जनालाई पक्रिसकेका छौँ - २२ वर्षका जीवन घर्ती मगर र १७ वर्षका दीपक नेगी। तर, उनले दिएको जानकारी पछि गलत साबित भएको थियो। अर्थात् उनले भनेका दुई व्यक्ति प्रहरीले अनुसन्धानको लागि शंका लागेरमात्र ल्याइएको थियो। तर, हत्यारा प्रमाणित हुने कुनै आधार नै थिएन।

त्यसपछि, अर्को राज्य व्यवस्था समितिको बैठकमा बादलले दिएको अभिव्यक्तिले पनि अनुसन्धानमा झनै शंका उब्जायो। उनले प्रहरीले निर्मलाका बुबाको नक्कली औँठाछाप लिएको ‘खुलासा’ गरेका थिए। आफैँले कुरा नबुझी गृह मन्त्रीले व्याख्या गरिरहेका थिए त्यतिखेर।

गृह मन्त्रीहरुबाट आउने अभिव्यक्तिले तत्काल इस्यु थामथुम पार्नका लागि काम त गर्ला तर दीर्घकालीन हिसाबमा त्यसको असर उल्टो हुनसक्छ। हुँदै नभएका घटना वा अपूरो सुचनाका आधारमा उच्च ओहदामा बसेका व्यक्तिले बोलिदिँदा उल्टै अनुसन्धान प्रभावित भएको उदाहरण पटक पटक देखिएको छ। त्यसमा बादलका अभिव्यक्तिहरु प्रहरीका लागि बलियो 'केस' स्थापित भइसकेको छ।

यस्ता अभिव्यक्तिका कारण एकातिर प्रहरीको अनुसन्धान प्रभावित हुन्छ भने अर्कातिर न्यायको आशामा बसेका मानिसहरुको अपेक्षामाथि तुसारापात हुन पुग्छ। न्यायको विश्वसानीयतामाथि यसले असर पार्छ। बादलले निर्मला प्रकरणमा जेजस्तो अभिव्यक्ति दिए त्यस्तै ढङ्गमा उत्रिएका हुन् त खाँण? त्यसो हो भने बादल प्रवृत्ति नै दोहरिने हो त यस्ता केसहरुमा? संग्रौलाले खाँडको बचाउ त गरेकी होइनन्?

हामीसँग शंकाको आधार थियो। त्यसपछि अर्का सदस्यसँग 'क्रस चेक' गर्‍यौं। समितिका सदस्य प्रेम सुवाललाई प्रश्न गर्‍यौं - के खाँणले दिएको अभिव्यक्ति त्यस्तै थियो त?

'उहाँले स्पष्ट यही भएको भनेर भन्नु भएन। नजिक भन्ने शब्द प्रयोग गर्नु भएको थियो। तर, समातिसकेका छौं चाहिँ भन्नु भएको छैन,' सुवालले भने।

समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री पनि उपस्थित थिए। उनले पनि निर्मला घटनाको बारेमा प्रहरीले पछिल्लो पटक गरेको अनुसन्धानका बारेमा ब्रिफिङ गरेका थिए। त्यस क्रममा घटनाको अनुसन्धान केन्द्रीय तहदेखि नै भइरहेको समेत जानकारी गराएको समिति सदस्य प्रेम सुवालले सुनाए।

समितिमा प्रहरीले आफ्नो तर्फबाट प्रस्तुती पनि दियो। त्यसबारे हामीले नेपाल प्रहरीसँग पछिल्लो अवस्थाबारे अपडेट माग्यौं। नेपाल प्रहरीबाट पहिले झै जवाफ मिल्यो - निर्मला प्रकरणको अनुसन्धान भइरहेको छ। केन्द्रबाट डीएसपी सहितको टोलीले र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले अनुसन्धान गरिरहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले बताए।

'अनुसन्धान विभिन्न कोणबाट भइरहेको छ। तर, सोचेको जस्तो प्रगति भने भएको छैन,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुँवरले भने।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआइजी उत्तमराज सुवेदीले दिन नै तोकेर निर्मला पन्तको हत्यामा संलग्नलाई सार्वजनिक गर्ने अभिव्यक्ति दिएका थिए। तर, उनले तोकेको दिन बितिसक्दा पनि अभियुक्तलाई उभ्याउन सकेनन्।

के हुँदैछ अनुसन्धान?

१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या गएको गत साउन १० गते तीन वर्ष पूरा भइसकेको छ।

नेपाल प्रहरीले यस घटनालाई महत्वका साथ अनुसन्धान गरे पनि हत्यारा समक्ष पुग्न सकेको छैन। सय भन्दा धेरै मानिसमाथि अनुसन्धान भए पनि पुष्टि हुने आधार केही फेला पार्न सकेको छैन। अहिले नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) बाट डीएसपीको टोली पठाएर अनुसन्धान गरिरहेको छ।

९० जनाभन्दा बढी मानिसको डीएनए परीक्षण समेत भइसकेको छ। गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले डीएनएबाट अपराधी पत्ता नलाग्ने निष्कर्ष निकालिसकेको छ। तर, पनि त्यो निष्कर्षलाई लत्याउँदै शंकाको घेरामा रहेका केही मानिसको डीएनए परीक्षण समेत गरिएको छ। प्रहरी अझै डिएनएलाई आधार मानेर अनुसन्धान गरिरहेको छ। किनकि प्रहरी ठोस प्रमाणकै खोजीमा छ ता कि अनुसन्धानमाथि औला नठडियोस्।

त्यस्तै, अनुसन्धानमा खटिएका केही प्रहरीले निर्मलाको हत्या गरेर अभियुक्त भारतमा लुकेकाले पक्राउ गर्न नसकेको भन्दै ब्रिफिङ समेत गरिरहेका छन्। तर, उनीसँग आफ्नो तर्कलाई पुष्टि गर्ने आधार भने छैन। तीन वर्षसम्म अपराधी पत्ता लाग्न नसक्दा निर्मला प्रकरण नेपाल प्रहरी र सरकारको नेतृत्व गर्ने दलको लागि चुनौतिपूर्ण देखिएको छ। बेलाबेलामा उच्च ओहोदामा बसेका व्यक्तिले निर्मला प्रकरणमा दिने अभिव्यक्तिले घटना केही चर्चामा आउँछ त्यसपछि फेरि सेलाएर जान्छ। जसरी अहिले फेरि सोसल मिडिया र केही मुलधारे मिडियामा पनि निर्मलाको हत्यारा समातिन लागेको खबर फैलियो। जुन, 'हल्ला'भन्दा बढी केही हुन सकेन। साथै, निर्मला प्रकरणमा असफल बनिरहेको गृह प्रशासन धामी प्रकरणमा सफल कसरी होला त? प्रश्न पनि कायमै रह्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell