PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दक्षिण अफ्रिकाबाट काठमाडौं ट्रान्जिट हुँदै भारततिर तस्करी हुँदै गरेको कोकिन सहित तीन विदेशी पक्राउ



सविन ढकाल

दक्षिण अफ्रिकाबाट काठमाडौं ट्रान्जिट हुँदै भारततिर तस्करी हुँदै गरेको कोकिन सहित तीन विदेशी पक्राउ

काठमाडौं : दक्षिण अफ्रिकाबाट नेपाल हुँदै भारतमा कोकिन सप्लाइ गर्ने समूहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। तीन मुलुकका तीन जना नागरिकलाई झन्डै ३ किलोग्राम कोकिन सहित नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा एक जना दक्षिण अफ्रिकी, एकजना तान्जेनियाका र एक जना भारतीय नागरिक रहेको ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीको दावी अनुसार उनीहरुबाट जफत भएको लागू औषधको मुल्य करिब ९ करोड रुपैयाँ पर्न जान्छ।

दक्षिण अफ्रिकी नागरिक सार्ली गामा भदौ ३ गते कतार एयरबाट केपटाउन, दोहा हुँदै काठमाडौं आएका थिए। उनले उतैबाट लागू औषध ल्याएको प्रहरीलाई बयान दिएका छन्।

उनले ल्याएको कोकिनको नेपालमा तान्जेनियन नागरिक किमारोले व्यवस्थापन गरेर भारत लैजाने तयारी भइरहेको थियो। यी दुई बाहेक भारतीय नागरिक विजय सिंह पनि अपराधिक गतिविधिमा जोडिएको प्रहरीले जनाएको छ।

सार्लीलाई प्रहरीले काठमाडौंको कमलादीमा रहेको एक होटलबाट पक्रेको थियो। किमरो भने भारत फरार हुने क्रममा सिन्धुलीबाट पक्राउ परेको प्रहरीको दावी छ।   

एसपी श्रेष्ठका अनुसार दक्षिण अफ्रिकाबाट काठमाडौं ट्रान्जिट गराउँदै भारतमा कोकिन लैजाने तयारी भइरहेको थियो। विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणको लागू औषध जफत र अभियुक्तहरु नियन्त्रणमा लिएको हो। प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell