PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

माधव नेपाललाई साथ नदिए गठबन्धनले मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई हटाउने



पहिलोपोस्ट

माधव नेपाललाई साथ नदिए गठबन्धनले मुख्यमन्त्रीबाट अष्टलक्ष्मी शाक्य र भीम आचार्यलाई हटाउने

काठमाडौं : सत्ता गठबन्धनले नेकपा (एमाले)का तर्फबाट मुख्यमन्त्री भएकाहरुलाई पदबाट हटाउने भएको छ। वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यलाई पदबाट हटाउने गठबन्धनका नेताहरुले बताएका छन्।

एमालेबाट छुट्टिएर नयाँ दल नेकपा (एकीकृत समाजवादी) बनाएका नेता माधवकुमार नेपाललाई साथ नदिए उनीहरुलाई पदबाट हटाउने गठबन्धनको तयारी छ। एमाले विभाजन हुँदा शाक्य र आचार्यले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका थिए। नेपाल समूहमा रहेर एमालेमा संघर्ष गरेका दोस्रो तहका नेताहरुले ओलीलाई साथ दिएपछि नेपाल उनीहरुसँग रुष्ट छन्।

नेकपा (एकीकृत समाजवादी)का सांसद विरोध खतिवडाले एकीकृत समाजवादीमा नआए शाक्य र आचार्यलाई गठबन्धनले हटाउने जानकारी दिए। गठबन्धनमा सामेल भए मात्रै शाक्य र आचार्यको पद जोगिएन बताए।

'दल विभाजन भएपछि स्वभावैले गठबन्धनकै मुख्यन्त्री बनाउने प्रयत्न हुनु स्वभाविक हो। अहिले बन्नुभएका मुख्यमन्त्रीहरु एकीकृत समाजवादीमा बस्नुभयो भने गठबन्धनले त्यही अनुसार सोच्छ नभए गठबन्धनले आफ्ना मुख्यमन्त्री ल्याउन प्रयत्न गर्छ,' उनले भने।

शाक्यले नेता नेपाल र ओलीको सल्लाहमा आफू मुख्यमन्त्री भएको बताएकी थिइन्। उनले पद जोगाउन एमाले नछोड्ने बताइसकेकी छिन्।

एमालेमा विभाजन आएसँगै ओली निकट नेताहरु मुख्यमन्त्रीबाट हट्नुपरेको थियो। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिले नै राजीनामा दिएका थिए भने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पद जोगाउन हरसम्भव प्रयास गरे पनि असफल रहे।

प्रदेश १ र वाग्मतीमा भने ओलीले एमालेकै मुख्यमन्त्रीलाई कायम राख्न आफू निकट नेताहरुलाई राजीनामा दिन लगाएका थिए। ओलीले नेपाल निकट मानिएका नेताहरुलाई मुख्यमन्त्री बनाएर पार्टी समीकरणलाई सन्तुलनमा राख्ने प्रयास गरेका थिए। ओलीको रणनीति अनुसार शाक्य र आचार्य मुख्यमन्त्री बनेको भए गठबन्धनले उनीहरुलाई हटाउने तयारी गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell