PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शहरको सफाइसँग जोडिएको गाउँको कथा : एउटा त्यस्तो मृत्यु जसले उठाउन रोक्यो सडक छेउको फोहर

शहरको सफाइसँग जोडिएको गाउँको कथा : एउटा त्यस्तो मृत्यु जसले उठाउन रोक्यो सडक छेउको फोहर

प्रवीण रानाभाट/पहिलोपोस्ट


२०६२ सालमा काठमाडौंसँगै जोडिएको नुवाकोट जिल्लाको सिसडोलमा काठमाडौं महानगर भित्रको फोहोर लागेर डम्प गर्ने सहमति भयो। सहमति भए पनि बेलाबेलामा आउने समस्याले काठमाडौंको फोहोर त्यहाँसम्म पनि पुग्दैन र दुर्गन्धित बन्छ काठमाडौं।  

विगत तीन सातादेखि काठमाडौंका सडक छेउछाउ फोहोरका डङ्गुर चुलिइरहेको छ। घरदेखि होटल बाहिरतिर पनि फोहोर थुप्रिन थालेको छ।

कतिपयले त यस्ता फोहर सडक किनारातिर मिल्काउँछन् भने कतिपयले खोलामा लगेर हेलिदिन्छन्।

सडक छेउमा थुप्रिएका फोहोरले पैदल यात्रुदेखि सवारी चालक दुवै आजित छन् किनकि त्यसले ट्राफिक समस्या पैदा गरिरहेको छ।

'फोहर गनाएर बसिनसक्नु भएको छ। यहाँ मानिसहरु यही गन्धका कारण आउँदैनन्,' कमलपोखरी अगाडि मोक्तान खाजाघर सञ्चालन गरिरहेकी महिलाले सुनाइन्, 'यस्तो महामारी छ। त्यसमाथि फोहर जम्मा भएको यति धेरै दिन हुँदा पनि उठाएको छैन।' कमलपोखरीको छेउमा फोहर थुप्रिन थालेपछि उनको खाजाघरको कारोबार नै ह्वात्तै घटेको छ। सडकमा फोहर थुप्रिँदा उनीजस्ता धेरैको व्यवसाय यतिखेर धरापमा परेको छ।

कमलपोखरीस्थित मोक्तान खाजाघर आसपास थुपारिएको फोहर।


वर्षामा सडकमा फोहर थुप्रिनु नियमित आकस्मिकता नै हुँदै आएको छ। हरेक वर्ष झै यसपाला पनि काठमाडौं महानगरपालिकाले झरीले सिसडोलस्थित ल्यान्ड फिल्ड साइटमा पुग्ने बाटो बिग्रिएको भन्दै फोहर उठाउन छाडेको छ। के महानगरले भने झै बाटो बेहाल हो त?

शनिवार यही प्रश्न लिएर हामी नुवाकोटको सिसडोल पुग्यौं। बालाजु बाइपासबाट नागर्जुन शिवपुरी राष्ट्रिय निकुञ्जको गेट पार गर्ने बित्तिकै सुरु भयो हिलाम्मे सडक। कतै पानी जमेका खाल्डो त कतै रातो माटोले पुरेर चिप्लिने डर। सडक छेउमा अगाडि बढ्ने प्रतीक्षामा बसेका फोहर बोकेका सवारीको लस्कर। गाडीमा लादिएका फोहर डुङ्डुङ्ती गनाउने, वरपर टिक्नै कठिन हुने।

मुड्खु भञ्ज्याङ हुँदै तीन पिप्लेसम्म पासाङ ल्हामु राजमार्गको यात्रा। तीन पिप्लेबाट भने नुवाकोटको सदरमुकामतिर लाग्ने बाटो छाडेर बायाँतिर हुँदै जान्छन् फोहर बोकेका गाडीहरु। तीन पिप्लेदेखि डम्पिङ साइट पुग्न कागती गाउँ हुँदै जानुपर्छ। गाउँको बाटो वरपर फरक खाले चहलपहल देखियो। बाटो हिलो त थियो नै तर त्यसले भन्दा पनि यहाँबाट अगाडितिर जाने बाटो चाहिँ रोकिएको रहेछ थुपारिएको ढुङ्गाले।

कागती गाउँमा सडकमा ढुङ्गा राखेर गाडी रोक्दै स्थानीय


कागती गाउँकै बाटो हुँदै डम्पिङ साइट जाने फोहोरका गाडीहरु यहाँभन्दा अगाडि जान पाइरहेका थिएनन्। 

+++

अघिल्लो शुक्रवार अर्थात् भाद्र ४ गते कागती गाउँकी ५६ वर्षीय पुतली बलामी एक्कासी बिरामी भइन्। बिरामी हुनुको कारण थियो झाडापखाला। उनलाई निक्कै असजिलो भयो। त्यसैले नजिकैको अस्पताल पुर्‍याइएको रहेछ। उनलाई अस्पताल त पुर्‍याइयो तर २४ घन्टा नहुँदै उनको ज्यान गयो।

'हामीले अस्पताल पुर्‍यायौं तर बचाउन भने सकिएन। डाक्टरले फोहोर पानी र खानेकुराको समस्याले यस्तो भएको बताउनुभयो,' स्थानीय कृष्णबहादुर बलामीले बताए।

हामीले उनलाई कागती गाउँमा भेला भएका मानिसहरुकै बिचमा भेटेका हौं। त्यही भिडमा रहेका एक अर्का स्थानीय भन्दै थिए, 'बाटो बिग्रिएको छ। हरेक वर्ष यही समस्या। नगरपालिकालाई बाटो बनाउने वास्तै  छैन, नाल बनाउने वास्तै छैन। खाली माथिको माटो ल्याएर हाल्छन्, एक दुई दिनमै फेरि उस्तै।'

पुतली बलामीको मृत्युपछि कागती गाउँको सडकमाै रोकिएको फोहर बोकेको गाडी।


उनी रोकिने मुडमा थिएनन्। हामी उनका कुरा सुनिरह्यौं। 'गाडी जान सक्दैन। हाम्रो घरछेउको सडकमै तीन चार दिनसम्म गाडी अड्याउँछन्। तलतिर पानीको मुहान छ,' उनले सुनाए, 'गाडीमा राखिएको फोहोरमाथि परेको पानी चुहिएर खानेपानीमा मिसियो। त्यसैले रोगी बनायो र मान्छे गुमाउनु पर्‍यो।'

उनले यसो भनिरहँदा सबैको एकै स्वर थियो - समस्या समाधान नभएसम्म गाडीलाई अगाडि जान नदिने।

+++

'चार दिनदेखि पालो कुरिरहेका फोहोरका गाडी मानिसहरु नभएको मौका पार्दै फोहर खन्याउन आएका थिए,' सिसडोल ल्यान्डफिल्डमा फोहर व्यवस्थापन गर्न डोजर चलाइरहेका एक चालकले भने, 'लुकीछिपी रातको समयमा फोहोर खन्याउन आएका थिए। आज ४५ ट्रकबाट खन्याइयो। हिजो एउटै खन्याउन सकिएन। अस्ति चाहिँ ७० वटा खन्याइयो।'

ल्यान्ड फिल्डसाइटमा फोहर फ्याल्ने दुईवटा ठाउँ छ - माथिल्लो डाँडा र त्यसकै तलतिर पनि। तलतिरको भागमा फोहर अब अटाउने ठाउँ छैन सबै भरिएको छ। 'तलको डम्पिङ साइट भरियो। अब जेनतेन १० गाडी फोहर खन्याउन मिल्छ होला,' ती चालकले भने।

लगातारको झरीका कारण माथिल्लो भागतिर भने गाडी उक्लिन सक्ने अवस्था छैन। 'पानी परेन भने त बल्लबल्ल जान सकिन्छ तर दिनकै पानी परेको छ,' उनले थप सुनाए, 'कि माथिसम्मै ग्रावेल गरिदिनु पर्‍यो।'

काठमाडौंको फोहर खसाल्ने सिसडोल पुग्ने सडकको अवस्था


+++

शहरका मानिसले गरेको फोहरको असर भोगिरहेका सिसडोलका मानिसहरु यतिखेर आक्रोशित छन्, त्यसैले थप फोहर व्यवस्थापन कठिन बनेको छ। 'आजसम्म त अलिअलि गर्दै मिलाइयो। राति राति भए पनि गाडी आएको थियो। तर, अब त माथि कागती गाउँमा यहि फोहोरकै कारण मान्छे मर्‍यो भनेर गाउँलेले  गाडी आउन दिएका छैनन्,' समस्याको चाङमाथि चाङ थपिएको उनले सुनाए।

अब समस्या समाधान भयो र गाडी आयो भने पनि कहाँ फाल्ने ? फोहर व्यवस्थापनमा रहेकाहरु सबैको टाउको दुखाईको विषय बनेको छ।

बिग्रिएको बाटोले निम्त्याएको अहिलेको समस्या काठमाडौंको फोहोर ओसार्ने गाडीका लागि मात्र होइन। यहाँका मानिसहरुमा पनि सोझो हिसाबले परेको छ। दैनिक गुजारा चलाउने स्थानीयलाई झरी र हिलोका कारण आवतजावतमा समस्या छ। समस्या उनीहरुले बताउनै पर्दैन रहेछ, सहजै देखिन्थ्यो।

हिलाम्मे बाटोमा सकिनसकी गाउँका ७/८ जना महिला तथा पुरुष घाँसका भारी बोक्दै आएका थिए। 'हाम्रो त घाँस दाउरा गर्ने बाटो नै यही हो,' कल्पना बलामीले सुनाइन्, 'कस्तो सरकार हो फोहोर फाल्ने ठाउँमात्र देख्छ। मान्छेको दुःख देख्दैन। यस्तो अवस्थामा हामीले कसरी दैनिकी चलाउने?'

हिलाम्मे बाटो हुँदै घाँस दाउरा ओसारपसार गर्दै स्थानीय।


उनको प्रश्नको उत्तर कसले दिने? उनीहरुले सधैं देखेको विषय यही हो - हरेक वर्ष मान्छेहरु आउँछन् हेर्छन्। र, फर्किन्छन्। समस्याको समाधान चाहिँ जहीँको तहीँ।

+++

हामी जुन बाटोमा पुग्यौं त्यहाँ गाडी चल्नसक्ने अवस्था नै छैन। त्यसैले शहरका मानिसका भातभान्सादेखिका फोहर बोकेका गाडी लोड गरेर सडक छेउ पार्किङ गरेर बसेका छन्। ती गाडीबाट झरीसरी लेदो फोहर चुहिरहेको छ। अनि त्यो लेदो खोल्सामा मिसिइरहेको छ।

'खाने पानीमा लिकेज मिसिएको छ। पुतली बलामीको डायरियाले मृत्यु भयो पिपुल्स अस्पतालमा,' ककनी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले सुनाए।

उनका अनुसार हैजाबाट पुतलीको मृत्यु भएको चिकित्सकले बताएका थिए। 'समस्या समाधान गर्नुपर्‍यो। लिकेज बग्न नदिने र बाटोमा फोहर खस्न भएन,' बलामीले भने, 'बाटोमा महानगरपालिकाका गाडीलाई पार्किङ गर्न दिन भएन।'

सडक अवरुद्ध हुँदा बिचबाटो मै रोकिएको फोहर बोकेको गाडी।


उनका अनुसार गाउँलेको स्वास्थ्य बिमा पटकपटक आश्वासन दिइएको छ। तर, १६ वर्षदेखिको उधारो सहमति बन्यो बिमाको विषय।

'वार्तामा बस्दा फोहोर खुलाउने तर मतलब नगर्ने भएको छ,' उनले गुनासो गरे।

अनामनगरमा थुपारिराखेको फोहर ट्रकमा लोड गर्दै
अनामनगरमा थुपारिराखेको फोहर ट्रकमा लोड गर्दै
काठमाडौंका सडकमा बोरामा राखेर फालिएको फोहर
आकाशे पुल मुनी फोहरको थुप्रो
कागती गाउँबाट सिसडोल जाने सडकमा ढुङ्गा राखेर बाटो अवरुद्ध गर्दै स्थानीय
कागती गाउँबाट सिसडोल जाने सडकमा ढुङ्गा राखेर बाटो अवरुद्ध गर्दै स्थानीय
सडक अवरुद्ध हुँदा फसेको फोहरको गाडी
हिलाम्मे बाटो हुँदै घाँस दाउरा ओसारपसार गर्दै स्थानीय
हिलाम्मे बाटो हुँदै घाँस दाउरा ओसारपसार गर्दै स्थानीय
सडकको अवस्था राम्रो नहुँदा स्थानीयलाई आवतजावतमा समस्या परेको छ
सडकको अवस्था राम्रो नहुँदा स्थानीयलाई आवतजावतमा समस्या परेको छ
सिसडोल जाने बाटोमा पर्ने गाउँ
सिसडोलमा फोहोर लागेर डम्प गर्ने स्थान
सिसडोलमा फोहोर लागेर डम्प गर्ने स्थान
सिसडोलमा फोहोर लागेर डम्प गर्ने स्थान


ट्रेन्डिङ पोस्ट

Ncell