PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

नयाँ दलमा नआए अष्टलक्ष्मीलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन, राजेन्द्र पाण्डे होलान् मुख्यमन्त्री?



निशा गुरुङ

नयाँ दलमा नआए अष्टलक्ष्मीलाई पदबाट हटाउने तयारीमा सत्ता गठबन्धन, राजेन्द्र पाण्डे होलान् मुख्यमन्त्री?

हेटौंडा : एमाले विवाद चुलिएर औपचारिक रूपमा दल विभाजन भएकै दिन वाग्मती प्रदेशको मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य सत्तारोहणको केही दिन नबित्दै अल्पमतमा परिन्। माधव कुमार नेपालले एमाले फुटाएर नेकपा एकीकृत समाजवादी गठन गरेपछि शाक्य नेतृत्व गरेको सरकारको आयु छोटिदै गएको छ। माधव नेपालको नयाँ पार्टीमा एमालेबाट प्रदेशसभामा निर्वाचित केही सांसद प्रवेश गरेसँगै शाक्यको बहुमत गुमेको हो।

हाल एमालेबाट विभाजित नेकपा समाजवादीसहित नेपाली र नेकपा माओवादी केन्द्र शाक्यको विरुद्धमा जुटिरहेका छन्। बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले सामान्य अवस्थामा विश्वासको मत लिन नपर्ने भएपनि सत्तारुढ दल एमाले विभाजन भएकाले अब उनले विश्वासको मत लिनु पर्ने भएको छ ।

दल विभाजनलाई सहज हुने गरी ल्याइएको राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार निर्वाचन आयोगले एमालेबाट निर्वाचित प्रदेशसभा सांसदलाई भदौ २२ गतेसम्म एमालेमै रहने वा माधव नेपालको पार्टीमा जाने भन्ने निर्णय लिन समय दिएको छ। यसकारण भदौ २२ गतेपछि मात्रै प्रदेशको अन्‍तिम अंक गणित सार्वजनिक हुनेछ। हाललाई भने माधव नेपाल समूहमा रहेको बेला मुख्यमन्त्री शाक्यलाई साथ दिएका तीनजना प्रदेश सांसद राजेन्द्र पाण्डे, वसन्त मानन्धर र कृष्ण खनालले खुलेरै नेकपा एकिकृत समाजवादीमा प्रवेश गरिसकेको घोषणा गरिसकेका छन्। उनीहरु सँगै अन्य केही सांसद पनि माधव समूहमा गएको बताइन्छ।

प्रदेशसभामा एमालेको संख्या ५६ छ। सरकारमा बहुमत पुर्‍याउन ५५ सांसद चाहिन्छ। तर, नवगठित नेकपा एकिकृत समाजवादीमा एमालेकै कति सांसद जान्छन् त्यो यकिन हुन सकेको छैन। अहिले नेकपा एमाले, नेकपा एकिकृत समाजवादी पार्टीका सांसदहरुलाई रिझाउनभन्दा पनि अन्य साना दलहरुलाई रिझाउने प्रयासमा देखिन्छ।   

वाग्मती प्रदेशसभाका एमाले सचेतक दिपक निरौलाले माधव नेपालको नेकपा एकीकृत समाजवादीमा हस्ताक्षर गरेका सांसदहरुले समर्थन फिर्ता लिने विश्वास रहेको बताएका छन्।

उनले भने, ‘त्यो नभए संसदभित्र अन्य दलहरु पनि छन्। उहाँहरुसँग पनि छलफल र परामर्श गरेर अघि बढ्ने काम हुन्छ। विभाजित हुँदापनि वाग्मती प्रदेशको एमाले प्रमुख दल हो, सरकार बनाउनका लागि अन्य खालका कानुनी प्रावधानहरुका लागि ढोका खुल्ला हुन्छ। त्यही ढोका अनुसार हामी अघि बढछौं।’

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सरकार टिकाउन र विभाजनको असर कम पार्ने रणनीति सहित ‘विश्वास पात्र’ डोरमणि पौडेललाई राजीनामा गराएर आफ्नो आलोचक अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाएका थिए। तर, दल विभाजनसँगै मुख्यमन्त्री शाक्यलाई अब सरकार टिकाउन गाह्रो भएको छ। नेकपा एकिकृत समाजवादीका नेताहरुले भने मुख्यमन्त्री शाक्य नयाँ दलमा आए सरकारले निरन्तरता पाउने अन्यथा उनको सरकार ढल्ने बताइसकेका छन्। शाक्यले भने आफू नयाँ दलमा नजाने बताइसकेकी छिन्।

नेपालनिकट एक सांसद्ले भने, 'नयाँ दल दर्तापछि अब प्रदेशमा कांग्रेस र माओवादीसहित गठबन्धन बन्नेछ। यदि शाक्य आफ्नो पक्षमा नआए शाक्यको स्थानमा राजेन्द्र पाण्डेलाई कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट मुख्यमन्त्री बनाउने योजना रहेको उनले बताए। पाण्डेले माधव नेपालको साथ छाडेका छैनन्। सोही कारण उनलाई वागमती प्रदेशको मुख्यमन्त्री बनाउने विषयमा पार्टीमा छलफल सुरु भएको बुझिएको छ।

वाग्मती प्रदेश सदस्य लक्ष्मण लम्सालले  दल रोज्नको लागि अझै समय बांकी रहेको हुँदा त्यसपछि मात्रै केही भन्न सकिने बताए।

'भाद्र २२ गतेसम्म दल रोज्ने समय छ। त्यो दल रोज्ने अवसर हुँदा मुख्यमन्त्री शाक्यको आगामी दिनका बाटोहरु कसरी जान्छ प्रष्ट हुन्छ' लम्सालले बताए।

१०९ सदस्य रहेको वाग्मती प्रदेशमा अहिलेको सरकार जोगाउन एमालेसंग भएको अर्को विकल्प भनेको गठबन्धनमा नरहेका विवेकशील साझाको ३, नेमकिपाका २, राप्रपाका २ र १ स्वतन्त्र गरि ८ जना सांसदको विश्वास जित्नु हो।

तर, हस्ताक्षर गरेका ३ सहित एमालेकै मुनु सिग्देल, वसुन्धरा हुमागाँई र लक्ष्मण लम्साल समेत गरि ६ जना नयाँ पार्टीमा सामेल भएकाले साना दल सबैको विश्वासको मत लिन सजिलो छैन्। यो अवस्थामा मुख्यमन्त्रीले विश्वास गुमाएमा गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र अन्य साना दलका सरकार बन्ने सम्भावना देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell