PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

निरन्तर वर्षाको प्रभाव : रुपन्देहीमा हालसम्म २ जनाको मृत्यु, ३ जना बेपत्ता



पूजा पन्थी

निरन्तर वर्षाको प्रभाव : रुपन्देहीमा हालसम्म २ जनाको मृत्यु, ३ जना बेपत्ता
फाइल फोटो।

बुटवल : बिहीवारदेखि निरन्तर रुपमा पानी पर्दा तराईका जिल्लामा डुबानको स्थिति आएको छ। तराईको जिल्ला रुपन्देहीका दक्षिणी क्षेत्रमा यसको प्रभाव बढी परेको छ।

बिहीवार बेलुकादेखि परेको पानीले रातिदेखि नै तराईका क्षेत्रहरुमा पानीको बहाब बढ्दै आएको थियो। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले यो वर्ष वर्षाको समयमा कुनै क्षति नभएपनि भदौमा आएर क्षति भएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले निरन्तरको वर्षाले रुपन्देहीमा २ जनाको मृत्यु भएको जानकारी दिए। ओमसतिया गाउँपालिका-४ का एक पुरुष र सिद्धार्थनगर नगरपालिका-११ का एक पुरुषको मृत्यु भएको उनले जानकारी दिए।

उनले ३ जना अझै पनि बेपत्ता रहेको बताए। बाढीका कारण बेपत्ता हुनेमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका उमेर नखुलेका एक युवा, बुटवल उपमहानगरपालिकाका १४ वर्षीय बालक र सम्मरिमाई गाउँपालिकाका २३ वर्षीय युवक रहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।

नदी तथा सडकमा पानीको बहाब बढ्दै जाँदा यो समाचार तयार पार्दासम्म ९ सय ५० घरमा पानी पसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। ६२ घरमा क्षति पुगेको पनि कार्यालले जनाएको छ। १ पक्की घर र अन्य कच्ची तथा अन्य किसिमका घरहरुमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए।

वर्षा तथा बाढीले पशुपन्छीमा पनि क्षति पुगेको छ। प्रशासन कार्यालयका अनुसार हालसम्म देबदहमा ४३ खसीबोका, ओमसतियामा ७० बगुंर, हास तथा दक्षिणी क्षेत्रमा माछा र्फममा समेत क्षति पुगेको छ।

निरन्तर पानी परेकोले सुरक्षित रहनको लागि सीडीओ तामाङले आग्रह समेत गरेका छन्। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा तालीम प्राप्त जनशक्तिको प्रयोग गरी उद्धारको काम भइरहेको प्रशासनले जनाएको छ। डोरी, लत्ता कपडा, डुंगा, लाईफ ज्याकेट लगायतको माध्यमबाट रेस्क्यु गरिने पनि तामाङले जनाए।

राहतको प्रबन्ध

बाढी पीडितलाई राहत समेत प्रदान गर्दै आएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिए। व्यक्तिको मृत्यु भएमा १ लाख नगद तथा अन्य पीडितलाई आवश्यकताअनुसार राहत दिँदै आएको उनले जानकारी दिए। 

आइतवार बुटवलमा ठूलो क्षति

शुक्रवार जिल्लाको दक्षिणी क्षेत्रमा निकै समस्या देखिएपनि आइतवार भने बुटवलमा ठूलै समस्या देखिएको छ। आइतवार बिहानैबाट बुटवल ३ ज्योतिनगरमा पहिरो जाँदा करिब २० घरमा क्षति पुगेको छ भने अझैपनि जोखिम कायमै रहेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्य नारायण थापाले जोखिम कम गर्ने तथा व्यक्ति स्थानान्तरणको कार्य गरेको जानकारी दिए।

बुद्धनगरमा पनि कटानको कारणले धेरै घरहरु जोखिममा परेका छन्। सुकुम्बासी बस्तीका घरहरु जोखिमा रहेको उनले जानकारी दिए। उनले स्थानान्तरण गरिएका व्यक्तिहरुलाई खाने तथा बस्ने व्यवस्था समेत मिलाएको जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell