PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

स्थानीय पाठ्यक्रममार्फत दबाइएका इतिहास भन्ने कीर्तिपुरको रणनीति : के हुन्छ होला सफल?



सहयोग रञ्जित

स्थानीय पाठ्यक्रममार्फत दबाइएका इतिहास भन्ने कीर्तिपुरको रणनीति : के हुन्छ होला सफल?

भनिन्छ - सधैं जित्नेहरुको हातमा हुन्छ इतिहासको लेख्नेको लगाम। इतिहासका अक्षरहरुमा जित्नेको देवत्वकरण र हार्नेको दानवीकरण हुनुको कारण त्यही हो। किनकि पराजितहरुको इतिहासमा मूल्याङ्कन हुँदैन।  

कुनै बेलाको समृद्ध राज्य कीर्तिपुरमाथि इतिहासकारहरुले 'निर्मम' रुपमा न्यारेसन गरे जसले यो भेगलाई सधैं छायाँमा पारिरह्यो - अलग राज्य हुँदादेखि अहिलेसम्मै। 

काठमाडौंभित्रकै सांस्कृतिक नगर भए पनि कीर्तिपुर केन्द्रको छायाँमा पर्दै आएको शहर बन्यो। पृथ्वीनारायण शाहले राज्य विस्तारका क्रममा उपत्यका विजय गर्ने ढोका बनाए त्यतिखेरको यही देशलाई। त्यस बखतको कीर्तिपुर विजय गरेपछि कीर्तिपुरवासीको नाक काटेको, दरबार जलाइएका जस्ता कैयन कथनहरु लाई लिएर अहिले पनि बहस भइरहन्छन्। तर, के कीर्तिपुर पृथ्वीनारायण शाहको विजय किल्लाभन्दा अरु केही थिएन त? कीर्तिपुरको आफ्नो सम्पदा, भाषा, संस्कार, भौगोलिक सामर्थ्य शून्य बराबर? एकदमै थोरैले अनुसन्धान गरेका छन् यस विषयमा। अरु त अरु, कीर्तिपुरवासी नै अनभिज्ञ होलान्, थाहा पाएकाले पनि भुल्दै होलान्। पछिल्ला पुस्ताले त थाहा पाउन् पनि कसरी?

त्यसैले कीर्तिपुर नगरपालिकाले अब आफ्नो इतिहास खोतल्ने जमर्को गर्दैछ। कीर्तिपुरका मूर्त-अमूर्त सम्पदाका साथै नसुनाइएका अनि लुकाइएका कथाहरुको संगालो तयार गर्दैछ नगरपालिकाले। यी कथाहरुको संगालो निरर्थक पानामा मात्र समेटिने छैन, पढाइने छ विद्यालयमा। स्थानीय पाठ्यक्रम त्यसको आधार बनेको छ।

कीर्तिपुर नगरपालिकाले यही शैक्षिकसत्र देखि नेपालभाषामा स्थानीय पाठ्यक्रम लागू गरेको छ। यस वर्ष कक्षा १ देखि ३ सम्म स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गरिए पनि कोभिड १९ संक्रमणका कारण कार्यान्वयनमा जटिलता आयो। यद्यपि, यही शैक्षिक सत्रको अन्त्यसम्म पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गरि अर्को वर्षदेखि पूर्ण रुपमा स्थानीय पाठ्यक्रमबाट कीर्तिपुरको पुन: पहिचान गराउने प्रयासमा लागिरहेको छ नगरपालिका। यसै विषयमा केन्द्रित भएर पहिलोपोस्टकर्मी सहयोग रञ्जितले कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनलाई प्रश्न गरेका छन् - 

स्थानीय पाठ्यक्रम लागू गर्न कीर्तिपुर नगरपालिकाको तयारी कहाँ पुगेको छ?

स्थानीय निर्वाचनबाट जनप्रतिनिधिहरु आइसकेपछि हामीले पहिलो कार्यपालिका बैठकबाट नै नेपाल भाषालाई कीर्तिपुर नगरपालिकाको आधिकारिक भाषाका रुपमा मान्यता दियौं। त्यसको एक वर्षपछि नै हामीले स्थानीय पाठ्यक्रम बनाउन सुरु गर्‍यौं। कीर्तिपुरमा अवकाशप्राप्त प्रोफेसरहरुको टिमले मिलेर पाठ्यक्रम निर्माणको काम गर्‍यो। सुरुमा नेपाली भाषामा पाठ्यक्रम तयार गरिएको थियो। पछि नेपाल भाषामा लागू गर्नुपर्छ भनेर हामी नेपाल भाषामा नै पाठ्यक्रम तयार गर्‍यौं। पाठ्यक्रम प्रकाशन भइसकेको छ। यसको कार्यान्वयन गर्न सहजिकरण समिति र सल्लाहकार समिति बनाइएको छ।

पाठ्यक्रम कहिलेदेखि लागू हुन्छ? र, नेपाल भाषामा स्थानीय पाठ्यक्रम लागू गर्न शिक्षकको व्यवस्थाका कसरी हुन्छ?

यस वर्ष कक्षा १ देखि ३ सम्म सुरु गर्ने भनेका थियौं। तर, कोरोना संक्रमणका कारण लकडाउन र निषेधाज्ञा भयो। जसका कारण भौतिक रुपमा कक्षा हुन सकेको छैन। र, पाठ्यपुस्तक पनि छापिन सकेको छैन। आउने शैक्षिकसत्रमा पाठ्यपुस्तक सहित हामी यो कार्यान्वयन गर्नेछौं। कोभिड १९ का कारण केही ढिला हुन गएको हो। पाठ्यक्रम आउँदो शैक्षिकसत्रदेखि लागू हुन्छ। त्यसका लागि हामी शिक्षकको व्यवस्था गर्दैछौं।

यहाँ १२ वटा सामुदयिक विद्यालय छन्। पाँचवटा सामुदायिक विद्यालयमा यसअघि नै नेपाल भाषामा पढाई हुन्छ। करिब २१ वटा निजी विद्यालय छन्। ७ वटा गुठीका विद्यालय छन्। हाललाई हामीले सामुदायिक विद्यालयमा पढाउनका लागि शिक्षक तयार गरिरहेका छौं। हरेक हप्ता अनलाइन मार्फत् स्थानीय भाषामा कसरी पढाउने भनेर तालिम दिइरहेका छौं। हप्ताको एक दिन शुक्रवार चाहिँ भौतिक रुपमा नै अन्तर्क्रिया गरि पाठ्यक्रम लागू गर्ने विषयमा हामीले छलफल भइरहेको छ।

स्थानीय पाठ्यक्रम कार्यान्वयन गर्न सबै विद्यालयमा नेपाल भाषामा पढाउन सक्ने जनशक्ति नभएकाले नगरपालिकाले १० जना शिक्षकको दरबन्दी खोलेको छ। त्यसबाहेक विगत केही वर्षदेखि कीर्तिपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुमा स्वयम् सेवक शिक्षकहरु खटाएको छ। तीमध्ये नेपाल भाषा पढाउन सक्नेलाई यसमा समेटिनेछ। आठ जना नेपालभाषा बोल्न र लेख्न जान्नेहरु छनोटमा परिसकेका छन्। पाठ्यक्रम लागू गर्न १८ जान तयार अवस्थामा छन्। तुरुन्तै तालिम सकाएर हामी शिक्षकहरुलाई कार्य क्षेत्रमा पठाउनेछौं।

पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक पनि लगत्तै तयार गर्नेछौं। आउँदो शैक्षिकसत्रसम्म पाठ्यपुस्तक तयार हुन्छ।

पाठ्यक्रममा कीर्तिपुरका विषयवस्तुहरुलाई कसरी समेटिएको छ?

स्थानीय पाठ्यक्रम भएका कारण कीर्तिपुर क्षेत्र भित्रकै विषयवस्तुले प्राथमिकता पाएका छन्। पाठ्यक्रममा ८ वटा इकाइहरु छन्। कीर्तिपुरको संस्कृति, भाषा, भेषभुषा, पर्यटन, सम्पदा, कृषि, बाजा, खेल र कीर्तिपुरको मौलिक उत्पादनहरु पाठ्यक्रममा समेटिएको छ। काठमाडौं उपत्यकामा सबै स्थानमा समान रुपमा मनाइने केही चाडपर्वहरु बारे पनि यसमा राखिएको छ।

विशेषगरी कीर्तिपुरको मूर्त सम्पदाहरुको विवरण पाठ्यक्रमबाट प्रस्तुत गरिएको छ। चोभारको आदिनाथ, बाघ भैरव, उमा महेश्वर, पाँगाको विष्णुदेवी, चम्पादेवी यहीँका पोखरी, ढुंगेधाराहरुका बारेमा विस्तृत रुपमा विद्यार्थीलाई बुझाउने प्रयास गरिएको छ।

सामुदायिक विद्यालयमा त सहजै यसलाई लागू गराउनु होला। निजी विद्यालयमा स्थानीय पाठ्यक्रम पढाउन के कस्ता प्रयास भइरहेको छ?

सामुदायक, गुठी र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रम लागू हुन्छ। सरोकारवालाहरुसँग हामीले छुट्टाछुट्टै छलफल गरेका छौं। पाठ्यक्रम लागू गर्ने सवालमा संस्थागत विद्यालयहरुसँग पनि कुराकानी भएको छ। केही विद्यालयहरुले हामी आफै नेपाल भाषा पढाउन शिक्षक राख्छौं भनेका छन्। केहीले भने आर्थिक रुपमा भार पर्ने कुरा गरेका छन्। त्यसै अनुसार हामीले १८ जनाको दरबन्दी कायम गरेर हाललाई पाठ्यक्रम कार्यान्वयन गर्ने चरणमा छौं।

काठमाडौं महानगरपालिकाले पनि स्थानीय भाषामा स्थानीय पाठ्यक्रम लागू गर्दा केहीले आलोचना गरे। कीर्तिपुरमा पनि अब स्थानीय भाषामा नै पाठ्यक्रम लागू गर्दा त्यस्तै अवस्था त आउँदैन?

पञ्चायतमा एउटा भाषा एउटा भेष भन्ने थियो। अन्य भाषालाई दमन गरिन्थ्यो। संघीय लोकतान्त्रिक गणतन्त्रमा सबै भाषा फुल्ने अवसर छ। यो संविधानले नै दिएको अधिकार हो।

यहाँ पनि केही आलोचना सुनिएका थिए। नेपाल भाषा नेवारहरुलाई मात्र लागू गर्नुपर्छ। अरुलाई गाह्रो हुन्छ भन्ने कुराहरु पनि सुरुसुरुमा आएका थिए। अहिले जहाँजहाँ पाठ्यक्रम पढाउन सुरु भएको छ सकारात्मक प्रतिक्रिया आएको छ। हामी विदेशमा हेर्न सक्छौं, तीनवटा भाषालाई सँगसँगै लैजाने गरेको। हामीले पनि स्थानीय भाषा बचाउन संविधानले दिएको अधिकार कार्यान्वयन गर्ने प्रयास गरेका हौं।

हामीले के बुझ्न पर्छ भने विद्यार्थीहरुलाई नेपाल भाषा पढाउने होइन। माध्यम भाषा चाहिँ नेपाल भाषा हो। अर्को कुरा, भाषामा भन्दा प्रयोगात्मक पाठहरु यसमा धेरै समावेश छ। यसबाट विद्यार्थीले कीर्तिपुरको बारेमा अझै राम्ररी बुझ्न सक्छन्। नेपाल भाषामा भए पनि सरल तरिकाले बुझ्ने गरि पाठ्यक्रम बनाइएको छ। विद्यार्थीले परीक्षामा ल्याउने नम्बरमा असर नपर्ने गरी व्यवहारिक रुपमा पाठ्यक्रम लागू हुन्छ। परीक्षामा समेत यो विषयको धेरै बेटेज हुँदैन।

काठमाडौं जिल्लाकै भए पनि कीर्तिपुरलाई छुट्टै नजरले हेर्ने गरिन्छ। यो पाठ्यक्रमको माध्यमबाट कीर्तिपुरको पहिचान कसरी प्रस्तुत गरिएको छ?

कीर्तिपुर छायाँमा पारिएको शहर हो। यसमा राजनीति पनि मिसिएको भन्ने जस्तो पनि लाग्छ। काठमाडौं उपत्यकामा पृथ्वीनारायण शाहले हमला गर्ने सवालमा कीर्तिपुरमा जस्तो क्षति अरु कहिँ पनि भएन। कीर्तिपुर ल्याकु (दरबार) भत्काइयो। धेरै सम्पदाहरु त्योबेला नष्ट गरियो। अधिकांश शिलापत्रहरु पनि ध्वस्त पारिए। इतिहास नै मेटाउने प्रयास भयो। पृथ्वीनारायण शाहप्रति अलि बफादार हुनेहरु कीर्तिपुरप्रति कहिले काहिँ नकारात्मक हुने गरेको हो कि भन्ने पनि लाग्छ। तर, त्यसपछि पनि धेरै वर्षसम्म कीर्तिपुर राज्यको प्रतिपक्षीका रुपमा रहँदै आएको हो। कीर्तिपुर सत्ताको जहिलै विपक्षमा देखिन्छ।

राजनीतिक, सांस्कृतिक आन्दोलनमा कीर्तिपुर जहिलै अग्रमोर्चामा रहँदै आएको छ। आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने तर आन्दोलनपछिको प्रतिफल लिने क्रममा करिब करिब शून्य हुने अवस्था रह्यो। सायद् नेतृत्वको अभावले पनि होला। वा नेतृत्वमा रहेकाहरुको चाहनाले पनि फरक पारेको होला। कसैले प्रयोग गरिरहेको पनि हुनसक्छ।

त्यसो भए अब कीर्तिपुरले आफ्नो इतिहास आफै लेख्छ?

इतिहास जित्नेहरुले नै लेख्ने हो। यथार्थमा एउटा भएको हुन्छ तर इतिहासमा त्यो उल्लेख नभएको हुनसक्छ। इतिहासले यथार्थलाई फरक ढंगले प्रस्तुत गरेको हुनसक्छ। नेपालको सन्दर्भमा पनि त्यही हो। तर, इतिहासले कति न्याय गर्‍यो त? त्यसैले त्यो कुराहरुलाई पनि हामीले अलि सच्याउने काम गरेका छौं। त्यसका लागि हामीले सन्दर्भ किताबहरु समेत तयार गरेका छौं।

गुन्द्रकुको आविष्कार यहीँबाट भएको भनिन्छ। खेलहरु लोप भए। यहीँ सुरु भएर यही अन्त्य भयो ती खेल। कीर्तिपुरको विशिष्ट संस्कृति, प्राकृतिक सम्पदा सबैलाई पुनर्जागृत गर्ने हाम्रो प्रयास हो यो पाठ्यक्रम।

अहिले शिक्षाको सवालमा कीर्तिपुर नगरपालिका उपत्यकाका अन्य नगरपालिका भन्दा कम छैन। प्रदेशमै कीर्तिपुरमा उच्च साक्षरता भएको नगरमध्ये एक हो। त्रिभुवन विश्वविद्यालय यही भएकाले पनि हजारौंको संख्यामा विद्यार्थीहरु यहीँ बस्छन्। वर्षौंसम्म यहाँ बस्छन् तर उनीहरुलाई कीर्तिपुर के हो भन्ने यथार्थ जानकारी हुँदैन। यहाँको इतिहास र यहाँको मौलिक पहिचानको बारेमा थाहा छैन। किनभने त्यस्तो कुनै अध्ययन नै भएन। त्यसैले हामीले पाठ्यक्रमबाट अब नयाँ पुस्तालाई बुझाउने यही कुरा हो।

यो पाठ्यक्रमले कीर्तिपुर के हो भनेर चाहिँ सबै जानकार हुन्छन् भन्ने हाम्रो विश्वास हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell