PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तान्जेनियाबाट विश्वभाषा क्याम्पसमा पढ्न आएकी किमारो यसरी परिन् आफ्नै 'काउन्टर सर्भिलेन्स'को जालमा



सविन ढकाल

तान्जेनियाबाट विश्वभाषा क्याम्पसमा पढ्न आएकी किमारो यसरी परिन् आफ्नै 'काउन्टर सर्भिलेन्स'को जालमा

काठमाडौं : कसैले दिएको आदेशअनुसार २६ वर्षीय तान्जेनिया नागरिक किमारो दरबारमार्गस्थित अन्नपूर्ण होटलको नजिकै पुगिन्। उनलाई जस्तै दक्षिण अफ्रिकी ३० वर्षीय नागरिक शेर्ला गामालाई पनि अन्तै कतैबाट त्यही समयमा केएफसीको आउटलेट नजिकै पुग्न भनिएको थियो।

निर्धारित समयमा नै दुबै जना दरबारमार्ग पुगेका थिए। तर, एकले अर्कलाई प्रत्यक्ष देख्‍न र भेट्न नपाउँदै उनीहरू छुट्टिए। उनीहरू दुवै जनाको यसअघि पहिले कहिल्यै भेट भएको थिएन। चिनजान त टाढाको कुरा। जे हुँदै थियो, त्यो पूरा भएको भए सायद उनीहरुको भेट हुँदैन पनि थियो होला।

तर, अहिले यी दुवैजना सँगै छन्। अनि एउटै कोठामा रात बिताइरहेका पनि। त्यतिमात्र होइन, एउटै हतकडीले जोडेको छ उनीहरुलाई। नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्युरोको टोलीले यी दुवैलाई नियन्त्रणमा लिएको हो। प्रहरीले गामालाई २ किलो ९ सय ६६ ग्राम लागू औषध कोकिनसहित काठमाडौंको कमलपोखरीस्थित एक होटेलबाट पक्राउ गरेको हो।

भदौ ३ गते राति उनलाई प्रहरीले पक्राउ गरेको हो। सोही दिन उनी केप टाउनबाट दोहा हुँदै नेपाल आएकी थिइन्। त्यसअघि काठमाडौंको विमानस्थलबाट उत्रिएपछि सिधै कमलपोखरीस्थित होटेलमा पुगिन् उनी। प्रहरीले गामाले कोकिन बोकेर ल्याएको सूचना पाइसकेको थियो। त्यसैले उनको फलो गरिरहेको थियो। प्रहरीले उनले ल्याएको सुटकेसमा फल्स बटम बनाएर राखिएको अवस्थामा कोकिन फेला पार्‍यो।

प्रहरी कोकिनसहित गामालाई पक्राउ गर्न सफल भइसकेको थियो। तर, थाहा थिएन ल्याइएको कोकिन नेपालबाट कता लगिँदैछ? या यहीँ बिक्रीको तयारी? उनले कसलाई कोकिन ह्यान्डओभर गर्छिन्? यसको गिरोहमा अरु कोको संलग्न छन्? प्रहरीले 'अपरेसन कोक' जारी राखेको थियो।

साउनदेखि नै अफ्रिकाबाट कोकिन बोकेर पठाउने गिरोह गामासँग सम्पर्कमा थियो। यता कोकिन ह्यान्डओभर गर्ने लगाउने मानिसलाई पनि उताबाट नै परिचालन गरिएको थियो। प्रहरीले कतै गामालाई नियन्त्रणमा लिएको त छैन भन्ने बुझ्नको लागि 'काउन्टर सर्भिलेन्स' अपरेसन चलिरहेको थियो। त्यही अनुसार गामालाई र किमारोलाई दरबारमार्ग पठाइएको थियो।

किमारो केएफसी अगाडि पुग्दा गामाको वरिपरि कोही देखेका थिएनन्। उनी प्रहरीको नियन्त्रणमा नभएको निष्कर्ष उनले निकालिन्। त्यही सूचना अर्को मानिसलाई फरवार्ड गरिन्। उनीहरूलाई लागू औषध पठाउने र त्यसको व्यवस्थापन गर्ने माथिल्लो तहले गामा सुरक्षित भएको जानकारी पाएपछि लागू औषध हन्यान्डओभर गर्ने योजना बनाए।

माथिबाट दिएको जनकारीअनुसार नै कोकिन लिन भारतका ३३ वर्षीय विजय सिंह पुगे। तर, उनी पुग्दा प्रहरीले आफ्नो योजनामा सफल भइसकेको थियो। अब प्रहरीको कोकिन अपरेसनमा दुई विदेशी नागरिक परिसकेका थिए।

प्रहरीलाई यस घटनामा तान्जेनिय नागरिक किमारोसमेत भएको जानकारी आइसकेको थियो। यता किमारोलाई पनि लागू औषध घटनामा आफ्ना मानिस समातिएको जानकारी भयो। त्यसपछि उनी काठमाडौं छोडेर भाग्न लागिन्। प्रहरीले उनलाई सिन्धुलीबाट भदौ ८ गते समात्न सफल भयो।

'उनीहरू तीन जना नै एक अर्कोलाई चिन्दैनन्। उनीहरूलाई कसैले निर्देशन दिइरहेको थियो। उनीहरूलाई आफ्नो आफ्नो काम सकिएपछि फर्किन भनिएको थियो,' लागू औषध ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।

गामा भिजिट भिसामा नेपाल आएकी थिइन्। भाद्र १९ गते उनी दक्षिण अफ्रिका फर्किने टिकटसमेत काटिएको थियो। तर, उनी अब नेपालको कारागारमा नै केही समय बिताउन बाध्य छिन्।

विश्वभाषा क्याम्पसका विद्यार्थी जो दुई वर्षदेखि नेपालमै

प्रहरीले पक्राउ गरेको गामा पहिलो पटक नेपाल आएको देखिएको छ। तर, उनीसँगै ५ दिनपछि पक्राउ परेकी तान्जेनियाकी नागरिक किमारो भने दुई वर्षदेखि नेपालमा बस्दै आएको खुलेको छ। यस बिचमा उनी आफ्नो देशसमेत फर्किएकी थिइन्।

सन् २०१९ मा उनी पर्यटक भिसामा नेपाल आएकी थिइन्। त्यसपछि अप्रिलबाट भने स्टुडेन्ट भिसामा नेपालमा रहेको देखिन्छ। उनी विश्वभाषा क्याम्पसमा नेपाली भाषा पढ्दै आएकी थिइन्।  किमारो क्षेत्रपाटीमा २० हजार रुपैयाँ मासिक तिरेर फ्ल्याटमा बस्दै आएको पनि खुलेको छ।

'उनको यसअघि पनि कोकिन कारोबारमा संलग्नता भएको खुलेको छ। थप अनुसन्धान गरिरहेका छौँ,' लागू औषध नियन्त्रण ब्युरोका एसएसपी हृदय थापाले भने। किमारोको नेपालमा विभिन्न व्यक्तिहरूसँग सम्बन्ध भएको पनि खुलेको छ। प्रहरीले अहिले उनीहरूसँग भएको सम्पर्कलाई समेत केलाइरहेको छ।

कोकिन कारोबारीका अनुसार दक्षिण अफ्रिकाबाट नेपाल भित्रिएको कोकिन भारतको नयाँ दिल्ली लैजाने योजना थियो। तर, प्रहरीले उनीहरूको योजना चकनाचुर बनाइदिएको छ। प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य ९ करोड रुपैयाँसम्म पर्ने प्रहरीको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell