
सुर्खेत : कर्णाली प्रदेशमा २०७४ असार १ देखि जुम्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले प्रदेशका दश वटै जिल्लामा सञ्चालनमा छ।
नागरिकलाई स्वास्थ्य बीमाको आधारमा सवैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यले सरकारले आर्थिक वर्ष २०७२/७३ देखि लागु गरेको कार्यक्रम कर्णालीमा २०७३/०७४ बाट सुरु भएको हो।
तर संघीय सरकारले तामझामका साथ सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कर्णालीमा प्रभावकारी बन्न नसकेको सरकारी तथ्यांकले देखाउँछ। स्वास्थ्य बीमा बोर्ड कर्णाली प्रदेश कार्यालयका अनुसार कूल जनसंख्याको हालसम्म १७ प्रतिशतमात्रै बीमाको पहुँचमा छन्।
झण्डै १८ लाख बढी जनसंख्या रहेको कर्णालीमा अहिलेसम्म दुई लाख ६७ हजार नागरिकले स्वास्थ्य बीमा सेवा लिएका छन्।
ग्रामीण भेगका मात्रै होइन, अधिकांश राजधानी वीरेन्द्रनगरवासीलाई कार्यक्रमबारे जानकारी नै छैन,भने बीमा गरेकाहरुले समेत सहज सेवा उपभोग गर्न नपाउँदा पनि यसप्रतिको आकर्षण खासै देखिएको छैन।
अहिले बीमा कार्यक्रम प्रदेशका दश वटै जिल्लामा सञ्चालन भईरहेको छ। कर्णालीमा यो कार्यक्रम प्रभावकारी बन्न सकेको छैन।
‘स्वास्थ्य बीमा भनेर त दुई/तीन वर्षअघिदेखि सुनेको हो,’ वीरेन्द्रनगर–१२का रामप्रकाश कंडेल भन्छन्, ‘अहिलेसम्म कोही कसैले पनि स्वास्थ्य बीमा गर्दा, यो, यो फाइदा हुन्छ, यो सेवा पाइन्छ भनेर कसैले भनेका छैनन्, थाहा पनि छैन।’
कंडेललाई जस्तै अधिकांश नागरिकलाई स्वास्थ्य बीमा बारे थाहै छैन। जसले गर्दा पनि बीमा गर्ने नागरिकको संख्या न्युन छ।
कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा ५२ हजार ५ सय ९९ जना, कालिकोट ३६ हजार ८०६, जाजरकोट ४० हजार १७६, रुकुमपश्चिम ५५ हजार ३८, जुम्ला ५३ हजार ६२, हुम्ला ७ हजार ३३२, डोल्पा २ हजार १९० मुगु ४ हजार २५६, दैलेख, १० हजार ३५१ र सल्यान ५ हजार ३८५ गरी २ लाख ६७ हजार १९५ जनाले बीमा गरेको स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए।
राजधानी वीरेन्द्रनगर नगरपालिकामा मात्रै करिब एक लाख ८० हजारको हाराहारीमा जनसंख्या छन्। कूल जनसंख्याको एक तिहाई नागरिकसम्मले पनि बीमा गरेका छैनन्।
सवैभन्दा बढी जुम्लामा ४८ दशमलव ७ प्रतिशत जनसंख्याले बीमा गरेका छन्भने, सवैभन्दा कम सल्यानमा २ दशमलव २ प्रतिशत नागरिक बीमा कार्यक्रममा आवद्ध भएका छन्।
अहिले बीमा गरेका कतिपयले नविकरण गरेका छैनन्भने, जिल्ला सदरमुकाम पुगेपनि ग्रामिण भेगसम्म अझै पुग्न सकेको छैन्।
स्थानीय स्वास्थ्य संस्थामा पर्याप्त औषधी उपलब्ध नहुदाँ किन्नुपर्ने, स्वास्थ्यकर्मीको बेवास्ता, सरकारले तोकेकै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने बाध्यता, सेवा लिने प्रक्रियासमेत झन्झटिलो हुदाँ सेवा लिने नागरिकको संख्या खासै वृद्धि देखिएको छैन।
‘दुई वर्षअघि सवै घरपरिवारको स्वास्थ्य बीमा गरेको हो,’ लेकबेशी नगरपालिकाका स्थानीय शुक्रराज विकले भने, ‘जुन अस्पताल भेटियो त्यसैमा उपचार गर्न पाए सजिलो हुने थियो, एक ठाउँमा विरामी हुन्छ अस्पताल खोज्दै जानुपर्छ।’ उनी थप्छन्, ‘उपचार गराउनै करकर गर्छन्, स्वास्थ्यकर्मी, बीमासंग उपचार खर्च क्लेम गर्नै मुश्किल हुन्छ, अहिले त मैले नविकरण गरेको छैन्।’
स्वास्थ्य संस्थालाई हालसम्म ३९ करोड भुक्तानी
आर्थिक वर्षमा ०७७/०७८ सम्म बीमा गरेका कर्णालीवासीबाट १४ करोड ५७ लाख ५० हजार पाँच सय ७० रुपैयाँ संकलन भएको छ। यो रकम प्रदेशका दश जिल्लाका नागरिकले स्वास्थ्य बीमा गरे वापतको रकम हो।
कर्णाली प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममा नेपाल सरकारले १३ करोड ७६ लाख ६१ हजार ६ सय १० रुपैयाँ भुक्तानी गरेको छ।
त्यस्तै, कर्णाली प्रदेशका सेवा प्रदायक स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराएको रकममा ३९ करोड ३४ लाख ६२ हजार आठ सय १४ रुपैयाँ भुक्तानी गरेको छ।
कार्यक्रमलाई प्रभावकारी बनाउन बोर्ड लागि परेको भन्दै विगतको तुलनामा आकर्षण बढेको संयोजक पण्डितको दावी छ।
‘विगतमा भन्दा अहिले आकर्षण बढेको छ,’ उनले भने, ‘अझै पनि प्रचारप्रसार र बीमाबाट हुने फाइदाका विषयमा जानकारी नहुदाँ पनि केही अन्योल देखिएको छ।’
यसका लागि स्थानीय तहका जनप्रतिनिधिसहित प्रदेश सरकार लगाएत विभिन्न सरोकारवाला निकायहरुले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको जोड छ।
यी हुन् सेवा प्रदायक स्वास्थ्य संस्था
बीमीत सदस्यले उपचार गराउने स्वास्थ्य संस्थाको संख्या कर्णालीमा २४ वटा रहेका छन्।
जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्र
दैलेख : जिल्ला अस्पताल र दुल्लु अस्पताल
जाजरकोट : जिल्ला अस्पताल, डल्ली र लिम्सा प्राथमिक स्वास्थ्य केन्द
सुर्खेत : प्रदेश अस्पताल, मेहलकुना अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुर, सालकोट, अवलचिंग, सुर्खेत आखाँ अस्पताल
रुकुम : आठविसकोट नगर अस्पताल, चौरजहारी मिसन अस्पताल, जिल्ला अस्पताल, आँखा अस्पताल सल्ले, कोटजहारी प्राथमिक स्वास्थ्य केन्द्र,
कालिकोट : जिल्ला अस्पताल र कुमालगाउँ प्राथमिक स्वास्थ्य केन्द्र,
डोल्पा : जिल्ला अस्पताल
मुगु : जिल्ला अस्पताल र कोटडाँडा प्राथमिक स्वास्थ्य केन्द्र
हुम्ला : जिल्ला अस्पताल