काठमाडौं : २०५२ फागुन १ मा माओवादीले सशस्त्र जनयुद्धको घोषणा गर्यो। १० वर्षसम्म चलेको आन्दोलनमा करिब १७ हजारले ज्यान गुमाए। धेरैजना अपाङ्ग भए। कतिजना बेपत्ता भएभने कति त डरले विस्थापित हुन पुगे।
सशस्त्र द्वन्द्वको यही घटनाको सेरोफेरोमाथि आज 'युद्धका घाउ' नाटक मञ्चन हुँदैछ। द्वन्द्वको फरक-फरक मुद्दा र विषयवस्तुमा चारवटा लघु नाटकहरु ‘विश्व बेपत्ता विरूद्धको दिवस’ को अवसर पारेर मण्डला थियटरमा मञ्जन हुँदैछ। आज साँझ ५:३० मा मण्डला थियटरको फेसबुक पेजबाट नाटक लाइभ प्रस्तुत हुनेछ।
मण्डला ड्रामा स्कुलको पहिलो ब्याचका विद्यार्थीहरुले तयार पारेको यो नाटकमा आठ जना महिला र आठ जना पुरूषले अभिनय गरेका छन्। १६ जना विद्यार्थीहरूले नै नाटक लेख्नेदेखि स्टेजको डिजाइन, व्यवस्थापन र निर्देशन गरेका हुन्।
सामाजिक रुपान्तरण गर्ने उद्देश्यले नाटकमा रुची भएकाहरुका लागि मण्डलाले डेढ वर्षको कोर्स तयार गरेको छ। 'युद्धका घाउ' नाटकका प्रोडक्सन डिजाइनर समेत रहेका सोमनाथ खनालले ‘द मण्डला ड्रामा स्कुल’ को पहिलो ब्याचका विद्यार्थीको यो नौलो प्रयास रहेको समेत बताए।
अघिल्ला वर्ष झै यसवर्ष पनि ‘विश्व बेपत्ता विरूद्धको दिवस’ मा बेपत्ता नागरिक सम्बन्धित ‘थाहा’ नाटक तयार पारिएको छ। जसमा प्रदिप ढुङगाना, शिव परियार, निरजवावु चौधरी र आदित्य मिश्राले अभिनय गरेका छन्। नाटकमा पात्रहरू आफ्ना बेपत्ता पारिएका परिवार र आफन्तहरूलाई खोजिरहेका हुन्छन्।
दोस्रो नाटक हो ‘भंवर’। नाटकको विषयवस्तु जनयुद्धमा महिलाहरूले भोग्नु परेको यौन हिंसा र यातनाको विषयमा केन्द्रित छ। सुस्मिता गुरागाई, पासाङ ल्हामु शेर्पा, सुस्मिता पोखरेल, अनिल कुर्मी र समृद्धि नेपालले कथा रचना गर्नुका साथै अभिनय गरेका छन्।
तेस्रो नाटक हो ‘लिई’। कथामा एक गरिब सामान्य मान्छेले हतियार बनाउने काम गर्छन्। तर जनयुद्ध ताका माओवादीलाई हतियार बेच्यो भनेर उनको हातहरू काटिन्छ। जसलाई सुमित्रा पेहिम र सञ्जय विश्वकर्माले मिलेर बनाएका हुन्।
अन्तिम नाटक हो ‘जिउँदो लाश’। धादिङको जोगिमाराबाट १८ कामदारहरू कालिकोट गएका थिए। तर कालिकोटमा एयरपोर्ट बनाउन गएका १८ जना मजदुरहरूले मृत्यु वरण गर्नुपर्यो। कारण- उनीहरुलाई माओवादीको आरोप लगाइयो र मारियो। सरकारी काममा गएका मजदुरहरुले सशस्त्र द्वन्द्वको आक्रमणमा ज्यान गुमाउनु परेको थियो। तर उनीहरू मरेको खबर आएपनि लाश अहिले पनि नभेटिएको सोमनाथ बताउँछन्। 'जिउँदो लाश' यही विषयवस्तुमा आधारित कथा हो। यो नाटक आकाश नेपाली, सरिता कठायत, दिक्षा चौधरी, हाङ ओ हाङ राई र विष्णुमाया परियारले बनाएका हुन्।
यो नाटक विद्यार्थीहरुको फाइनल परीक्षा सरह रहेको सोमनाथ बताउँछन्। भन्छन् ‘एक वर्षमा विद्यार्थीहरुले के सिके त? उनीहरुले हाम्रो लागि नाटक बनाउनु पर्ने नै थियो। यसरी अनलाइनबाट पनि देखाउन सकिन्छ भनेर यो नाटक देखाइन लागेका हौँ।’
मण्डला ड्रामा स्कुलले भौतिक उपस्थितिमा नै डेढ वर्ष यो कोर्स संचालन गर्ने योजना बनाएको थियो। तर, कक्षा सुरू नहुँदै कोरोना महामारी आयो। जसकारण पहिलो लकडाउन खुलेपछि गत वर्ष सेप्टेम्बरबाट अनलाइन क्लास सुरु भएको थियो। तर सबैलाई काठमाडौँ बोलाएर नोभेम्बरबाट फिजिकल क्लास सुरु गरियो। यो ड्रामा स्कुलमा पढ्न १६१ जनाले आवेदन दिएका थिए तर १६ जना मात्रै छनोट भएका थिए। दोस्रो लकडाउनमा समेत क्लास सञ्चालन गरिएको थियो।
१६ जना विद्यार्थीलाई नागरिक शान्ती समाजले छात्रवृत्ती दिएर सहयोग गरेको छ। ‘यो विद्यालयको उद्देश्य कलाकार उत्पादन गर्नु मात्रै होइन, नाटकमार्फत शान्तिकर्मीहरु उत्पादन गर्नु हो। जसले शान्तिको पक्षमा काम गर्छन्। यो प्रोगामलाई त्यसरी नै डिजाइन गरिएको छ। जो शान्तीसँग सम्बन्धित छ। सामाजिक रुपान्तरण र द्वन्द रुपान्तरणका लागि नाटक तयार गरिएको हो।’ खनालले बताए।
कोरोनाकै कारण थियटर बन्द नहुने उनको भनाइ छ। ‘पहिले पनि धेरै महामारीहरु आएका थिए। त्यो बेलादेखि अहिले सम्म थियटरको कल्चर जिवित नै छ। थियटरलाई अनलाइन लाने भन्ने पनि होइन तर हामीलाई केहीले रोक्न खोज्यो भने विकल्प भने खोज्नु पर्छ। अहिले परिक्षण गर्ने बेला पनि हो। नयाँ कुरा गर्न डराउनु हुँदैन’ उनले सुनाए।
थियटरमै नाटक मञ्चन गर्नु र डिजिटल प्लेटफर्मबाट नाटक देखाउँदा प्राविधिक कुरामा भने फरक हुने उनले बताए। थियटरमा नाटक हेर्दा दर्शकहरुले नाटकमा प्रस्तुत गरेका भावहरु महसुस गर्न सक्ने तर लाइभबाट चाँहि ती भावना महसुस नहुने उनी बताउँछन्। लाइभबाट नाटक देखाउँदा क्यामेराले दर्शकको स्वतन्त्रता खोसिदिने उनको तर्क छ।
हाम्रो समाजमा द्वन्द्वको मुद्दाहरु प्राथमिकतामा नपर्ने खनालले गुनासो गरे। तर जनयुद्धका कारण पीडा भोगेका नागरिकहरू अझै पनि द्वन्द्वको 'साइकोलिजकल ट्रमा'बाट उम्कन नसकेको उनी बताउँछन्।
‘हाम्रो संविधानले समाजवाद उन्मुख राष्ट्र भन्छ। तर यी कुराहरु छोडेर राष्ट्र समाजवादमा पुग्न सक्दैन। द्वन्द्व सकिएको धेरै वर्ष भएता पनि अहिले पनि त्यसको परिणाम भोग्नु परेको छ।’उनी भन्छन् ‘अबको पुस्ता द्वन्द्वमा जान प्रेरित नहोस्। विकासमा लागि द्वन्द चाहिए पनि हिंसात्मक द्वन्द्वमा नजाओस् भन्ने नाटक ‘युद्धका घाउहरू’ ले सन्देश दिन खोजेको छ।’