काठमाडौं : विदेशमा रहेका साथीभाइ लगायत अन्यलाई नेपाल आएको समयमा कसैले केही सामान लगिदिँदै हुनुहुन्छ वा लैजाने गर्नु भएको छ? एक पटक सोचेरमात्र त्यस्ता सामानहरु लैजानुहोला। नत्र, तपाईँ प्रहरीको फन्दामा पर्न सक्नुहुन्छ बुद्धिराजजस्तै।
अरुका लागि कोसेली बोकेर जाँदा केही दिन अघिमात्रै यस्तै एउटा घटनामा चितवनका विदेश त होइन प्रहरी हिरासतमा पुग्न बाध्य भए। चितवन खैरहनी नगपालिका वडा नम्बर १० घर भएका २९ वर्षीय बुद्धिराज पाठकलाई त्रिभुवन विमानस्थलबाट भदौ ८ गते प्रहरीले पक्राउ गर्यो।
वैदेशिक रोजगारीमा कतारबाट फर्किएर आएका उनी सोही दिन बिहान साढे १० बजे कतार एयरलाइन्सको उडान नम्बर क्युआर ६४९ बाट उड्नका लागि विमानस्थल पुगे। उनका लागि विमानस्थलमा हुने प्रक्रिया नौलो थिएन। त्यसैले कुनै अलमल नभई सरासर एक्स-रे मेसिन भएको स्थानमा पुगे।
विमानस्थलको एक्स-रे मेसिनमा पुगेपछि उनको लगेजमा भएको सामान केही शंकास्पद देखियो। त्यहाँ खटिएका सुरक्षाकर्मीले उनीलाई नियन्त्रणमा लिए। उनको लगेजमा १२ वटा बट्टा थिए। बाहिरपट्टि ग्यास्ट्रिक हरण चूर्ण लेखिएको थियो बट्टामा। यतिका धेरै चूर्ण किन लैजान लागेको? उनीसँग कुनै वैद्य वा डाक्टरको कुनै प्रेब्सक्रिप्सन थिएन। त्यसैले प्रहरी झन् सशङ्कित भयो।
त्यसपछि प्रहरीले उनलाई निगरानीमा लिएर अनुसन्धान गर्यो। पछि बट्टा खोलेर हेर्दा प्रहरी नै अचम्मित भयो। त्यहाँ चूर्ण थिएन - गाँजा (चिप्पड) ले भरिएको थियो।
'बट्टा धेरै देखेपछि नै शङ्का लागेको थियो। त्यसपछि खोलेर हेर्दा सबैमा गाँजा भेट्टायौँ,' लागु औषध नियन्त्रण ब्युरोका एसपी जीवनकुमार श्रेष्ठले भने।
चितवनबाट कतारका लागि विमानस्थल पुगेका पाठकको अबको यात्रा विमानस्थलबाट प्रहरीको हिरासततिर सोझियो। प्रहरीले घटनमा थप अनुसन्धान सुरु गर्यो। उनले त्यो सामान आफ्नो नभएको दावी गरिरहेका थिए। त्यसो भए कसको त? प्रहरीको प्रश्नले अनुसन्धान चितवन खैरहनीका ३६ वर्षीय विष्णु श्रेष्ठतिर मोडियो। सोही दिन प्रहरीले विष्णुलाई नियन्त्रणमा लियो।
'उसले विदेशमा रहेको साथीलाई पठाइदिनु भन्दै चितवनका एक पुरुषले दिएको बयान दिएपछि हामीले विष्णु श्रेष्ठ भन्ने मानिसलाई चितवनबाट नियन्त्रणमा लियौँ,' एसपी श्रेष्ठले भने।
प्रहरीले नियन्त्रणमा लिएका विष्णु र बुद्धिराज ज्वाइँ - जेठान हुन्। बुद्धिका ज्वाइँ पर्छन् विष्णु। विष्णुले पनि बुद्धिको झैँ जवाफ दिए। सामान आफ्नो नभएको र अरूले नै कतारमा बस्ने साथीलाई पठाएको बताए।
खासमा कतार सामान पठाउने मानिस चितवनका थिएनन्। उनी थिए मोरङ सुन्दरहरैचा नगरपालिकाका ३८ वर्षीय कुमार श्रेष्ठ। उनी पनि वैदेशिक रोजगारीमा गएर फर्किएका युवक। विष्णु र कुमार बिच चिनजानको नाता भएकाले साथीलाई सामान पठाउन कुमारले लगाएको बयान विष्णुले प्रहरीमा दिएका छन्।
'उनीहरू दुई जनाले आफ्नो सामान नभएको र त्यहाँ के छ भन्ने समेत जानकारी नभएको बताएका छन्। अब हामी तीनै जनाको बयान भिडाएर हेर्छौँ। अहिलेसम्म दुई जनालाई थाहा छैन,' एसपी श्रेष्ठले भने।
प्रहरीले १२ वटा बट्टाबाट ८ सय ग्राम गाँजा बरामद गरेको हो। नेपालबाट कतारसम्म गाँजा पुर्याए ८ लाख रुपैयाँसम्म बिक्री हुने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।
उनीहरुको कसुर प्रमाणित भए ६ महिनादेखि २ वर्ष कैद र २ हजार देखि १० हजार रुपैयाँसम्म जरिवाना बुझाउनु पर्नेछ।
