PahiloPost

Jan 7, 2025 | २३ पुष २०८१

गगन थापाले गरे महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा : पहिले दाङबाट घोषणा गर्दा गल्ती पो भएको हो कि!



पहिलोपोस्ट

गगन थापाले गरे महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा : पहिले दाङबाट घोषणा गर्दा गल्ती पो भएको हो कि!

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। सोमवार बिहान काठमाडौं वडा नम्बर ३० ले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन्।

'मेरो लागि यो भन्दा पवित्र ठाउँ अरु हुँदैन। त्यसकारण आज मेरो वडा, जसले मलाई राजनीति सिकायो। मलाई आधार दियो। भरोसा दियो,' थापाले भने, 'मेरो बडा र अग्रजहरू बिचमा बडो गौरवका साथ १४औं महाधिवेशनमा नेपाली कांग्रेसको महामन्त्रीको घोषणा गर्छु। यो औपचारिक घोषणा हो।'

उम्मेद्वारी घोषणाका लागि यो नै उपयुक्त स्थान भएको उल्लेख गर्दै यस वडाबाट थालिने हरेक काम सफल भएको उनको भनाई थियो। थापाले अघिल्लोपटक १३ औं महाधिवेशनमा कृष्णप्रसाद सिटौला खेमाबाट उम्मेद्वारी दिएका थिए। त्यतिबेला दाङ पुगेर उम्मेद्वारी दिएको उल्लेख गर्दै गगनले यसपटक हरेक काम सफल हुने स्थानबाटै उम्मेद्वारी दिएको जनाए। 

'यो भन्दा ठूलो ठाउँ मेरा लागि अरु हुन सक्दैन। मैले कुनै पत्रपत्रिका अन्तर्वार्ता वा पार्टीका ठुला नेताहरुलाई राखेर भन्दा पनि यो ठाउँबाट प्रारम्भ गरेको कुरामा सधै सफलता प्राप्त गरेको छु,' गगनले भने, 'सायद अघिल्लोपटक ध्यान दिन सकिनँ यो कुरामा। त्यो बेला दाङमा गएर गरेको थिएँ। म अहिले पनि सम्झन्छु त्यो। मेरो मन्दिर, मेरो आँगन यही हो। तपाईँहरुको शुभेच्छा आशीर्वाद सधैंजसो यसपटक पनि पाउँछु भन्ने लाग्छ।'

कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुने नयाँ कार्यतालिका सार्वजनिक भएको छ। अहिलेसम्म महामन्त्रीमा गगनबाहेक कसैले उम्मेद्वारी दिएका छैनन्। सभापतिमा भने उपसभापति विमलेन्द्र निधिले बानेश्वरस्थित बाङ्क्वेटमा सम्पर्क कार्यालय खोलेर उम्मेद्वारी घोषणा गरेका छन्। यता अहिलेका सभापति शेरबहादुर देउवाले नेतृत्वमा पुन दोहोरिने बताइसकेका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आफ्नो पक्षबाट साझा उम्मेद्वार बन्न प्रयासरत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell