PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

'अहिले पनि सपनामा 'आमा' भन्दै मैलो लुगा लगाएर फुत्त आउँछ, फुत्त जान्छ'



विधुर ढकाल

'अहिले पनि सपनामा 'आमा' भन्दै मैलो लुगा लगाएर फुत्त आउँछ, फुत्त जान्छ'

काठमाडौं : २०७५ साल जेठ ७ गते पेरिस डाँडामा रहेको नेकपा (माओवादी केन्द्र)को मुख्यालयमा रेनुका चौलागाईँले कविताको अंश वाचन गरिन् आफ्ना वेपत्ता पतिलाई सम्झिँदै।

न त तिम्रो लास साथ पाएँ

न त तिम्रो लास चुम्न पाएँ

न त विधवाको पहिचानमा ढल्न पाएँ

बारम्बार घोचिरहन्छ ‘वेपत्ता’ शब्दले’

कतै भेट होला कि भन्दै टोलाइरहन्छु

उनको कविताले सबैलाई भावुक बनायो। त्यतिबेला देशका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा (एमाले) र माओवादी केन्द्रको एकतापछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको थियो। नेकपाकै एक मुख्यालयको रुपमा पेरिसडाँडा कार्यालय थियो। पार्टी एकताको चार दिनपछि पेरिसडाँडामा वेपत्ता परिवारका आफन्तहरु भेला भएका थिए। उनीहरुलाई आश थियो- 'कम्युनिस्ट पार्टी देशको नेतृत्वमा पुगेको छ। दुई तिहाईको बहुमतको सरकार छ। अब हाम्रा आफन्तको कि सास पाइन्छ कि लास।'

तर, नेकपा एकताको २० महिना राजनीतिक खिचातानीमै बित्यो। भागबण्डाको किचलो, कुर्सीकै खेलमा बित्यो। न त्यतिबेला वेपत्ताका परिवारले राखेको आश पूरा भयो न त न उनीहरुले न्याय नै पाए। यसबिच वेपत्ता पारिएका व्यक्तिको खोजी गर्न बनेको वेपत्ता पारिएको व्यक्तिको छानविन आयोग नै कामविहीन बन्यो। पदाधिकारी मनोनयन नहुँदा काम अगाडि बढ्न सकेन। प्रभावकारी ऐन नहुँदा उद्देश्यअनुसार काम अगाडि बढ्न सकेन।

जनयुद्धमा बेपत्ता भएकाहरुको तस्विरमा श्रद्धाञ्जली दिँदै रेनुका चौलागाईँ


अझै पनि थुप्रै रेनुकाहरु आफ्ना पति फर्किने आशमा दैलो कुरेर बसिरहेका छन्। कतिका लाउँलाउँ खाउँखाउँ उमेरका छोराछोरीको मलिन अनुहार स्मृतिमा राखेर हरेक साँझ फर्किने आशमा अँगेना कुरिरहेका छन्। तर, उनीहरुको न्याय, अगेनामाथि पोतिएको दलिन जस्तै मैलिँदै गएको छ। मलिन हुँदै गएको छ।

बनेपा नगारपालिका ११ की ६७ वर्षीया सावित्री घिमिरेलाई अझै पनि आफ्ना छोरा प्रकाश फर्किन्छन् कि भन्ने आशा छ। १८ वर्ष अगाडि भक्तपुरको कौशलटारबाट उनका २४ वर्षका छोरा प्रकाशलाई नेपाली सेनाले वेपत्ता पारेको थियो। उनी जिवित भए अहिले ४२ वर्षका पुगिसेका हुने थिए। सावित्री भने अझै प्रकाशलाई २४ वर्षकै ठिटोको रुपमा सपनामा देख्छिन्। भर्खरै झुस्स पलाउँदै गरेका दारी सम्झिन्छिन्। सावित्रीलाई आफ्नो छोराको विस्मृत चेहरामा देखिने मुस्कानले हरेक रात झस्काउँछ।

एकातिर छोरो वेपत्ता हुनुको पीडा छ। अर्कोतिर समाजले नै उनलाई हेयले हेर्छ। ‘छोरो मरिसक्यो, अझै हाँस्दै हिँड्छे भन्छन् सबैले। म कसैलाई आशु देखाउँदिन,' उनले सुनाइन्। उनलाई अरुले के भन्छन् ध्यान छैन। बस छोराको फर्किने आशमा छिन् उनी।

सावित्री अधिकारी


‘तेरो छोरो मरिसक्यो भन्छन्। मलाई अझै जिउँदै छ भन्ने आशा छ,’ उनले भनिन्, ‘अझै सपनामा आमा भन्दै आउँछ। मैलो लुगा लगाएर फुत्त आउँछ फुत्त जान्छ। सपनामा देख्दा अझै केही भएको छैन जस्तो लाग्छ। मर्‍यो भन्ने लाग्दैन।’

कुर्सीमा पुगेपछि पार्टी (माओवादी)ले बिर्सिएको उनले गुनासो गरिन्।

‘सरकारमा पुगेपछि हाम्रा छोराहरूलाई बिर्सिए,’ सावित्रीले भनिन्, ‘उनीहरूलाई त के छ र कुर्सीमा पुगिहाले ठीक भो, हाम्रो आशामाथि अझै खेल्दै छन्। नेताहरूले कि लास दिनुपर्‍यो कि त सास दिनुपर्‍यो।’

२०५८ सालमा बर्दियाका चैतेलाल चौधरी र उनकी श्रीमतीलाई नेपाली सेनाले पक्राउ गर्‍यो। उनीसँगै गाउँबाट सात जनालाई नेपाली सेनाले पक्राउ गरेर लगेको थियो। उनीहरुसँग पक्राउ परेका दुई जना त छुटे अझै पाँच जना भने वेपत्ता छन्।

उनकी वृद्ध आमा न्यायको खोजीमा भौतारिँदा भौँतारिँदै संसारबाट बिदा भइसकेकी छन्। वृद्ध बाबु अझै पनि छोरो फर्किएर आउने आशमा छन्। छोरा बुहारी पक्राउ परेसँगै उनी विभिन्न निकाय धाए। मानव अधिकार आयोगले सेनाले चैतेलाल सहित उनकी श्रीमतीलाई पक्राउ गरी वेपत्ता पारेको निष्कर्ष निकाल्दै तत्कालीन राहतका लागि सिफारिस पनि गरेको थियो।

अझै पनि उनका बृद्ध बुवा र भाइ भागिराम चौधरी वेपत्ता दाजु भाउजुको ‘सास कि लाश’को खोजीमा भौतरिरहेका छन्। विश्व वेपत्ता विरुद्धको दिवसका दिन सोमवार बर्दियामा आयोजित कार्यक्रममा उनीहरु सहभागी भए त्यसैगरी जसरी हरेक वर्ष आजका दिन वेपत्ता नागरिकका  परिवारहरु भागिराम जस्तै कार्यक्रममा सहभागि हुन्छन्। सम्झन्छन् आफ्ना आफन्तहरु। 

विश्व वेपत्ता विरुद्धको दिवसको अवसरमा बर्दियाको गुलरियामा आयोजित कार्यक्रममा सहभागि हुने क्रममा (बायाँबाट दोस्रो)।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell