PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भिडभाड गर्न नमिल्ने भनेपछि छतमै गौराष्टमीको रौनक, शिरमा सगुनफाग, गाउँदै नाचगान

भिडभाड गर्न नमिल्ने भनेपछि छतमै गौराष्टमीको रौनक, शिरमा सगुनफाग, गाउँदै नाचगान

रोजन श्रेष्ठ/पहिलोपोस्ट


गौरा पर्वको आज चौथो दिन अर्थात् गौराष्टमी। स्थिति सबै ठीक हुन्थ्यो भने सुदूर पश्चिममात्र होइन, काठमाडौंमा पनि भव्यसँग यो पर्व मनाइरहेको देखिन्थ्यो। राजधानीको टुँडीखेलमा गौरा मनाउने परम्परा नै स्थापित भइसकेको थियो। तर, कोभिड १९ ले गत वर्षजस्तै यसपाला पनि पर्व मनाउनेहरुलाई सहज बनाएन। त्यसैले गौरा मनाउनेहरुले घरको छतमै भए पनि परम्परालाई धानेँ। र, यो दृश्य हो भक्तपुरको जहाँ आज गौराष्टमी मनाइयो। 

गौरा सुरु भएको आज चौथो दिन जसलाई अठवाली पनि भनिन्छ। अष्टमीको दिन ब्रतालु महिलाहरूले बिहानैदेखि  पूर्ण भक्तिका साथ गौरा माता र महेश्वरको बिरूडा र फूलपाती चडाएर पूजा आराधना गर्दछन्। गौरा मातालाई सौभाग्यका सामग्रीहरू जस्तैः चुरा, पोते, टीका, धागो, सिन्दूर र रातो बस्त्रहरू र महेश्वरलाई पहेलो बस्त्र चडाउँछन्। एक हिसाबले यस दिन गौरा महेश्वरको विवाह महोत्सव नै हो। बेलुकिपख गौरा र महेश्वरका प्रतिस्वरूप राखिएका दुई डालोलाई ब्रतालु महिलाहरूले पालैपालो शिरमा राखी सगुनफाग गाउँदै नाचगान गर्दछन्।

महिलाहरूले पुरानो दुबो धागोको बिसर्जन गर्दै पण्डितको मन्त्र बाचन र अभिषेकबाट शुध्द पारिएको सप्तमीमा चढएको नयाँ दुबो धागो धारण गर्दछन्। यो दुबो धागो पुरूषहरूले लगाउने जनै जत्तिकै पवित्र र धार्मिक महत्वको छ। यसलाई विवाहित महिलाहरूले मृत्युपर्यान्त लगाउँछन्। विवाहित महिलाहरूले दुबो धागो जपेरमात्र खाना खाने चलन पनि छ।

पूजाआजा सकिएपछि, गौरा पूजा गर्दा चडाइएका फलफूल, अक्षता लगायतका सामग्रीहरू ठूला पछ्यौरामा राखी पाँच पटकसम्म आकासतिर पछ्यौरा हुत्याउने वा फड्काउने चलन छ। महिलाहरू पोल्टा थापेर ती फलहरू समात्छन्। र, आफ्नो भाग्य, सौभाग्यको आँकलन गर्दछन्। यसलाई फल फड्काउने भन्ने चलन छ। अन्तमा, ब्रतालु महिलाहरूले बिरूडालाई अफ्नो परिवारका सदस्यहरूको टाउकोमा छरेर, टीका लगाइदिएर अर्शिवाद दिन्छन्। यस्तो कार्यलाई मुन्टो पुज्ने भनिन्छ। बिरूडालाई प्रसादको रूपमा वितरण गरिन्छ।

सामान्यतः अष्टमीको भोलिपल्ट गौराको प्रतिरूपलाई बाजागाजासहित फाग गाउदै शुद्ध ठाँउमा लगेर बिसर्जन गरिन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell