काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेताहरुले नेकपा एमाले दक्षिणपन्थी गुटवाद भएको आरोप लगाएका छन्।
नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले भारतबाट मिर्गौला प्रत्यारोपण गरेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा एमाले पार्टी दक्षिणपन्थी पार्टी भएको बताएका हुन्। सोही कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि केपी शर्मा ओली नेतृत्वको एमाले दक्षिणपन्थी गुटवादमा भासिने बताएका थिए।
खनालले नेताहरुलाई एमालेमा विद्रोह गर्न आग्रह समेत गरे। भने,'अहिले केपी ओलीको पार्टी भनेको दक्षिणपन्थी हो। हामीले त्यसका विरुद्ध विद्रोह गर्नुपर्छ। नयाँ दृष्टिकोणको आवश्यकता छ। नेकपा एमाले हामीले बनाएको पार्टी हो। त्यसका नशा नशामा हाम्रो पसिना छ।'
उनले विद्रोह मार्फत सिर्जनात्मक आन्दोलन हुने बताए। आफूहरुको पार्टीमा लागेका नेता कार्यकर्ताको भविष्य उज्वल हुने उनको भनाई थियो।
'विद्रोह सिर्जनाका लागि हो। उज्वल भविष्यका लागि हो। त्यसका लागि एक ढिक्का भएर अगाडि बढन आग्रह गर्छु। सबै कमरेडले आफूलाई नयाँ मान्छेको रुपमा रुपान्तरण गर्नुपर्छ,' खनालले भने, 'समाजवाद भनेको सामुहिकता हो। सामुहिकताका रुपमा अगाडि बढौं। हामी त्यस दिशातर्फ अगाडि बढदै छौ।'
उनले ओलीको पार्टीमा विस्तारै खडेरी पार्नुपर्ने मत राखे। ओलीले भ्रमको खेती फैलाएको भन्दै त्यसलाई चिर्न नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
'भ्रमका धेरै खेतीहरु भइरहेका छन्। त्यसलाई विस्तारै खडेरी पर्ने स्थिति बनाउनुपर्ने हुन्छ। क्रान्तिकारी विचारलाई अगाडि बढाउने क्रममा मन पनि फराकिलो हुँदै जान्छ,' उनले भने।
