PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

निरन्तरको वर्षापछि दार्चुलामा बाढी पहिरो : तीन जनाको मृत्यु, दुई जना बेपत्ता



एम बम

निरन्तरको वर्षापछि दार्चुलामा बाढी पहिरो : तीन जनाको मृत्यु, दुई जना बेपत्ता
फोटो सौजन्य : सारथी खबर।

कैलाली : निरन्तरको वर्षापछि दार्चुलाका विभिन्न क्षेत्रमा आइतवार राति आएको बाढी पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। पहिरोले घर पुरिँदा दुहुँ गाउँपालिका-१ बास पालिकामा नरसिंह महर र उनकी श्रीमती कौशिल्या महरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए।

राति सुतिरहेकै अवस्थामा घरमाथिबाट खसेको पहिरोले पुरिएर उनीहरूको मृत्यु भएको भट्टले बताए। बाढीले घर, पुल र लघु जलविद्युत् समेत बगाएको छ।

यस्तै, दुहुँ गाउँपालिकाको वडा नम्बर ५ मा बाढीले बगाएर मनुवा डडालको पनि मृत्यु भएको छ। काला गाड खोलामा आएको बाढीले डडाललाई घरसहित बगाएको थियो।

बाढीले घरसहित पुल, जलविद्युत आयोजना, पानी घट्ट र पशु चौपाया पनि बगाएको छ। बाढीले कति क्षति भएको छ भन्ने अझै यकिन गर्न नसकिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए।

सो क्षेत्रमा ५ वटा पसल, दुई वटा लघु जलविद्युत् आयोजना, चार वटा झोलुङ्गे पुल र एउटा पक्की पुल बगेको जानकारीमा आए पनि यकिन भई नसकेको उनको भनाइ छ। यस्तै, वडा नम्बर ३ निजाङगाडमा बाढीले दुई जना बेपत्ता भएका छन्।

निजाङगाड खोलाको बाढीले स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भट्टले बताए।

निजाङगाडकै खोलाले दार्चुला-तिंकर सडकमा रहेको मोटरेबल पुल र दुई वटा झोलुङ्गे पुल पनि बगाएको छ। सो क्षेत्रमा रहेका आधा दर्जन घर तथा पसलहरू बगाएको छ। दार्चुला-तिंकर सडकको निजाङगाड पुल बग्दा दुहुँ र व्यास गाउँपालिकाको आवतजावत रोकिएको छ।

यस्तै, महाकाली नगरपालिका १ को श्रीबगडमा देवबहादुर बम, अमर बहादुर बम, सुन्दर बहादुर बम र जीतबहादुर बमको पसल बगाएको छ। सो क्षेत्रमा रहेको श्रीबगड बजार नै बगाएको प्रजिअ जोशीको भनाइ छ।

अहिले घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली तथा जनप्रतिनिधिहरू समेत पुगेका र राहत तथा उद्धारको काम भइरहेको जोशीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell