PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

गण्डकीमा माधव पक्षका सांसद् एमालेमै, नेपालको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण



रिना थापा

गण्डकीमा माधव पक्षका सांसद् एमालेमै, नेपालको समानान्तर कमिटी नेकपा एकीकृत समाजवादीमा रुपान्तरण

पोखरा : गण्डकी प्रदेशसभामा माधव कुमार नेपाल पक्षका सांसद्ले नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा सहभागिता नजनाउने भएका छन्। नेकपा (एमाले)मा रहँदा नेपाल पक्षमा रहेका सांसद् इन्द्रलाल सापकोटाले नेपाललाई साथ नदिने भएका हुन्।

एमालेका २७ प्रदेशसभा सदस्यमा सापकोटा माधव पक्षका एक मात्र सांसद् थिए। सापकोटाको साथ छुटेपछि प्रदेश सभामा एकीकृत समाजवादीका कोही पनि सांसद् हुने छैनन्।

उसो त सापकोटा एमाले अध्यक्ष केपी ओलीकै पक्षमा रहने आशंका गरिएको थियो। उनी पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ निकटका हुन्। प्रदेशमा सत्ताको दाउपेच चलिरहँदा सापकोटाले गुरुङलाई विश्वासको मत दिएका थिए।

ओलीकै पक्षमा रहने आशंका भएपनि सापकोटाले यस विषयमा कुरा भने गरेका थिएनन्। तर, माधव नेपालले नयाँ पार्टी खोलेपछि सापकोटा एमालेमै रहेने भएका हुन्।

बागलुङका जिल्ला अध्यक्ष समेत रहेका सापकोटाले एकीकृत समाजवादी पार्टीमा नरहने जानकारी जिल्ला र केन्द्रका नेतालाई दिइसकेका छन्।

‘उहाँ पहिलेदेखि माधव नेपालले खोलेको विचार समूहमा पनि हुनुहुन्थेन, बीचमा बस्नुभाथ्यो’, कास्कीका नेपाल पक्षका एक नेताले भने, ‘उतै उतै जानुभो हामीसँग सम्पर्क नभएको त ४/५ महिना भइसक्यो।’

१० बुँदे सहमतिको बहानामा मध्यमार्गी नेताहरू जसरी ओली पक्षमा लागे त्यसैगरी सापकोटाले साथ छोडेको उनले बताए। विचार सिद्धान्त र प्रलोभन अनुसार एक दुई जना आउने र जाने क्रमलाई स्वभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ।

साथै, उनले ओली पक्षका नेताहरुले प्रलोभन, डर र धम्की देखाएर ओली पक्षमा नेताहरू राखेको आरोप लगाए।

‘प्रलोभन दिने, दबाब दिने, पद दिने, पैसा बाँड्ने, केही नलागेमा धाकधम्की नि दिने काम गरिराख्नु भाछ’, उनले भने, ‘हामीलाई नि फोन गरेर विभिन्न प्रलोभन दिनुभएको छ, हामी विचार र सिद्धान्तमा रहन्छौँ, पद प्रतिष्ठा र स्वार्थ पूरा गर्न जादैनौँ।’

जिल्लामा एकीकृत समाजवादीको कमिटी

गण्डकी प्रदेशका जिल्लामा नेकपा एमाले (माधव कुमार नेपाल समूहको) समान्तर कमिटी नै नेकपा एकीकृत समाजवादी पार्टीमा रुपान्तरण हुने भएको छ। गत चैत १४ गते माधव नेपाल समूहले कास्कीसहित प्रदेशका जिल्लामा समानान्तर कमिटी घोषणा गरेका थिए।

पार्टी फुटेपछि कास्कीमा रहेको समानान्तर कमिटी एकीकृत समाजवादी पार्टीमा रुपान्तरण गर्ने कास्कीका एक नेताले जानकारी दिए।

‘स्याङ्जा, लमजुङमा रुपान्तरण भइसक्यो नवलपुर, बागलुङ, म्याग्दी रुपान्तरण गर्दै जान्छौँ संगठनलाई बलियो बनाउछौँ’, उनले भने, ‘हामीले प्रलोभन देखाउन केही छैन, सहि र गलत छुट्टाउन पर्‍यो।’

त्यस समय धनराज आचार्यको संयोजकत्वमा कास्कीमा गठन भएको समान्तर कमिटीमा ७५ सदस्य थिए। त्यसपछि चैत २४ गते १ सय ४७ सदस्यीय बनाइएको थियो। कास्कीमा मंगलवार कमिटी पार्टीमा रुपान्तरण हुँदै छ। बागलुङमा एकीकृत समाजवादीको जिल्ला कमिटी बनिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell