PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

मेलम्चीको पानी काठमाडौं आइपुग्ने नयाँ 'डेडलाइन' अब २०८० साल!



दिनेश खड्का

मेलम्चीको पानी काठमाडौं आइपुग्ने नयाँ 'डेडलाइन' अब २०८० साल!

काठमाडौं : बाढीका कारण क्षति पुगेपछि अनिश्चित बनेको मेलम्ची खानेपानी काठमाडौं आइपुग्न अझै केही वर्ष लाग्ने देखिएको छ। बाढीले हेड वर्क्समै क्षति पुगेको र आँकलन गरेभन्दा ठुलो क्षति पुगेकाले परियोजना अनिश्चित बनेको हो।

यद्यपि २०८० सालभित्रै काठमाडौंमा पानी आइपुग्ने गरी योजना अघि बढाउने तयारीमा परियोजना लागेको आयोजनका एक अधिकारीले बताएका छन्। '२०८० कात्तिकसम्म सबै काम सक्ने गरी योजना बनाइएको छ। हाम्रो खाकाअनुसार काम हुन सके आयोजना फेरि छिटै काठमाडौंलाई पानी आपूर्ति गर्न तयार हुनेछ,' ती अधिकारीले भने।

नेपाली सेनालाई पनि खटाइने

मेलम्ची खानेपानी आयोजनाको पुनर्स्थापनामा नेपाली सेनालाई पनि खटाइने भएको छ। मेलम्ची खानेपानी विकास समितिले काम बाँडेर गर्न योजना प्रस्ताव गरेको हो।

'सबै काम सेनाले मात्रै गर्ने होइन, खास खास काम बाँडेर गर्न खाका बनाएका हौं,' उनले भने, 'धेरै समय लागेको र वैदेशिक ऋणसहितको ठूलो लगानी भएको आयोजना हो, ठप्प भइरहँदा चुप लागेर बस्न मिल्दैन। त्यसैले पुनर्स्थापना योजना तयार पारिएको छ।'

आयोजनाको प्रस्तावित योजनाअनुसार सेना खटाउने/नखटाउनेमा सरकारले निर्णय भने गरिसकेको छैन। सेनाले दूरगामी महत्त्व र ठूलो लागतका पूर्वाधार आयोजनाहरुमा काम गर्दै आएको छ। मेलम्चीमा पनि काम गर्ने बारे भने प्रस्ताव रक्षा मन्त्रालय र सेनासम्म पुग्नै बाँकी छ।

सेना अघि लगाएर एक्लै गर्न दिने ७५ करोड लागत आउने दुइटा काम छन् भने आयोजना निर्माण कम्पनीसँग मिलेर गर्ने १ करोड ७५ लाख लागत आउने अनुमान गरिएको एउटा काम प्रस्तावित छ।   

मेलम्ची आयोजनाले उपत्यकाका पानी परीक्षण वितरण गरिसकेको थियो। उक्त परीक्षणको नतिजाबाट आयोजनाका अधिकारीहरु ढुक्क थिए। तर गत असारको बाढीपहिरोपछि आयोजना पुरै ठप्प हुँदा अझैसम्म अन्योलमा छ। लामो समय लगाएर एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माणाधीन आयोजनामा विदेशी परामर्शदाता र निर्माण कम्पनीले काम गरिरहेका थिए।

भेम्राथाङको पहिरोपछि अहिले आएर आयोजनास्थल र त्यसभन्दा तल्लो क्षेत्रलाई मात्रै ध्यान दिएर काम गरेको खुलेको छ। आयोजनास्थल माथिल्लो क्षेत्रबाट आएको पहिरो र बाढीले पुरेको छ, जसको हेक्का नै प्राविधिकले राखेका थिएनन्।    

मेलम्ची खानेपानी विकास समितिले नेपाली सेना, सडक, सिंचाइ विभागसहित विभिन्न निकायको सहयोगमा निर्माण अघि बढाउने गरी पुनर्स्थापना  कार्य योजना बनाएको छ। चालु महिनाबाटै काम थाल्ने गरी योजना बनाइएको आयोजनाका एक अधिकारीले बताए। 'त्यसका लागि २ अर्ब २७ करोड रुपैया (संशोधन हुन सक्ने) लाग्ने अनुमान गरिएको छ,' उनले भने।

गत असार १ मा हेलम्बु गाउँपालिकाको भेम्राथाङमा गएको पहिरोले थुनिएको बहाव खुलेर मेलम्ची खोलामा बाढी आउँदा आयोजनासम्म पुग्ने सडकसँगै तीन बेलिब्रिज र दुई पक्की पुल बगाएको छ। समितिका अनुसार आयोजनाको मुहानस्थल अम्बाथानमा रहेको कामदार बस्ने क्याम्प, उपकरण, निर्माण सामाग्री, पहुँच सडक, पुललगायत अन्य भौतिक संरचनाहरु समेत बाढीले बगाएको छ। धेरै संरचना पुरिएका छन्।

कार्ययोजनामा के छ?

पहिलो काम अम्बाथान क्याम्पको पुन: निर्माण, मेलम्ची बजारस्थित मुख्य क्याम्पहरुको मर्मत तथा क्याम्पहरुमा आवश्यक खानेपानी, विद्युत, सरसफाइ जस्ता सेवाहरु सञ्चालन गर्ने रहेको छ। यसको मुख्य जिम्मेवार निकाय मेलम्ची खानेपानी विकास समितिले सिनो हाइड्रो र नेपाली सेनामार्फत काम गराउने योजना छ। सिनो हाइड्रो निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको चिनियाँ कम्पनी हो। भदौभित्रै निर्माण सुरु गरेर असोजसम्म सक्ने योजना छ।

दोस्रो रिबर्मादेखि हेडवर्क्ससम्मको करिब २.५ किमिको वैकल्पिक ट्रयाक खोल्ने योजना छ। हेलम्बु गाउँपालिका र उपभोक्ता समितिमार्फत कार्यान्वयन गर्ने योजना छ। भदौ मसान्तसम्म सक्ने लक्ष्य छ।

तेस्रो डाइभर्सन टनेल, अडिट टनेल र हेडवर्क्स भित्रको भग्नावशेष संरचना सफा गर्ने, अस्थायी ड्याम बनाउने लगायतका कामहरु छन्। यसमा मुख्य जिम्मेवार सिनो हाइड्रो छ। कात्तिकमा सुरु गरेर चैतमा सक्ने लक्ष्य छ।

वैकल्पिक सडक मर्मत र स्तरोन्नति

अन्य निकायमार्फत पाँच काम गर्ने योजना छ। पहिलो, पार्टी भन्ज्याङ-थानकुने-चित्र-गोल्फु-कुटुमसाङ-तारतुङ- रिवर्मा हेडवर्क्सको वैकल्पिक सडकहरुको करिब ३५ किमिको स्तरोन्नति गर्ने भन्ने छ। हेडवर्क्ससम्म पुग्न वैकल्पिक बाटो चाहिएको छ।

यो काम सडक विभागमार्फत कार्यान्वयन गराउने योजना छ। असोजमा सुरु गरेर मंसिरमा सक्ने लक्ष्य छ। दोस्रो, मेलम्ची बजारदेखि हेडवर्क्ससम्मको मुख्य प्रवेशमार्ग र ३ वटा बेलीब्रिज निर्माण गर्ने योजना छ। जुन नेपाली सेना परिचालन गरी तत्काल सम्पन्न गराउन निर्णय गराउनुपर्ने प्रस्तावित कार्ययोजनामा उल्लेख छ। नेपाली सेनामार्फत असोजमा निर्माण थालेर पुसमा सक्ने लक्ष्य छ।

तेस्रो मेलम्ची पुल बजारदेखि अम्बाथान हेडवर्क्ससम्मको मुख्य प्रवेश मार्गको करिब २२ किमि तथा ६ वटा नयाँ पुल स्तरोन्नति गर्ने काम छ। जुन सडक विभागबाट गराउने योजना छ। असोजबाट निर्माण थालेर २०८० असारमा सक्ने लक्ष्य छ।

चौथो, हेडवर्क्स-अम्बाथान अडिट सुरुङदेखि २ किमि तलसम्मको मेलम्ची नदीमा जम्मा भएको नदीजन्य पदार्थहरुको सफाइ नेपाली सेनाबाट गराउने योजनामा उल्लेख छ। त्यसका लागि सरकारले स्वीकृति दिनु पर्नेछ। कात्तिकबाट सुरु गरेर चैतमा सक्ने लक्ष्य छ।

पाँचौंमा हेडवर्क्स तथा सोभन्दा माथि क्षेत्रको पहिरो तथा बाढी रोकथाम तथा नियन्त्रण गर्ने काम  छ। सिंचाइ विभागबाट कार्यान्वयन गराउने उल्लेख छ। आगामी कात्तिकमा सुरु गरेर २०८० कात्तिकसम्म पुरा गर्ने लक्ष्य छ।

प्रस्तावित नयाँ कार्ययोजना अनुसार काम सुरु भइसकेको मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर (सीडीइ) राजेन्द्रप्रसाद पन्तले बताए। 'हेलम्बु गाउँपालिकाले सडक निर्माणको काम गरिरहेको छ। बाँकी कामहरु पनि सुरु गर्ने योजना छ,' उनले भने, 'तर मनसुन सक्रिय भएर बाढी आउने क्रम नरोकिएकाले केही काम थाल्ने भन्दाभन्दै ढिला भइरहेको छ।'

योजना बन्यो तर मेलम्ची अनिश्चित

अस्थायी पुनर्स्थापनाका लागि योजना बनेको भए पनि मेलम्ची खानेपानी आयोजनाले काठमाडौंमा पानी पठाउने काम कहिले गर्न सकिन्छ भन्ने टुंगो गरेको छैन।

आयोजनाकै अधिकारीहरु फेरि मेलम्ची कहिले ल्याउन सकिन्छ भन्ने अन्योलमा छन्। आयोजनाको मुहानस्थल अम्बाथान माथितिर कस्तो भूगोल छ भन्ने जानकारी आयोजनासँग छैन।

पुन: संरचना ठड्याउदा फेरि बाढी आएर बगाउन सक्ने सम्भावना छ। माथितिरको भूगोल हेरेर स्थायी समाधान नभएसम्म मेलम्ची अनिश्चित नै रहेको सीडीइ पन्तको भनाइ छ। 'अहिले बनाइएको योजना अस्थायी पथान्तरणका लागि हो। माथितिरको गइरहेको पहिरोको स्थायी समाधान नभएसम्म स्थायी संरचना बनाउन सकिदैन,' उनले भने, 'बर्खा नसकी त्यहाँ गएर हात हाल्ने अवस्था पनि छैन। मेलम्ची अनिश्चित नै छ।'

आयोजनाको हेडवर्क्स लगायतका संरचना बाढीले पुरेकाले के कति क्षति भयो भन्ने वास्तविक एकिन हुन सकेको छैन। ' हेडवर्क्स बाहिरबाट देख्दा क्षति नभएको जस्तो लाग्छ तर यसमा धेरै प्रकारका स्वचालित गेटहरु समेत छन्। त्यसमा क्षति पुगेको रहेछ भने भारतबाट ल्याउनुपर्ने हुन्छ,' उनले भने, 'पुरिएको माटो र ढुंगा हटाएपछि मात्रै अवस्था थाहा हुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell