PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

माधव नेपाल पक्षलाई उत्तेजित नबन्न युवराज ज्ञवालीको सुझाव, 'एमालेलाई त सिध्याउनुहोला तर तपाईहरुले जित्नुहुन्न'



पी बी खड्का

माधव नेपाल पक्षलाई उत्तेजित नबन्न युवराज ज्ञवालीको सुझाव, 'एमालेलाई त सिध्याउनुहोला तर तपाईहरुले जित्नुहुन्न'
सुर्खेतमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एमाले उपाध्यक्ष एवं कर्णालीका संयोजक युवराज ज्ञवाली।

सुर्खेत  : नेकपा एमाले कर्णालीको प्रदेश कमिटी ०७५ साल जेठ २ अघिमा फर्किएको छ। केन्द्रमा यसअघिनै केन्द्रीय कमिटि र स्थायी समितिको बैठक बसेर कार्यान्वयन गरिएकोमा प्रदेश हुदैँ जिल्लातहमा समेत कार्यान्वयन गर्न लागेको हो।

एमाले उपाध्यक्ष एवं कर्णालीका संयोजक युवराज ज्ञवालीले पार्टी जेठ अघि फर्किएको भन्दै कार्यान्वयनको चरणमा रहेको बताएका छन्।

‘त्यत्तिबेला जो जुन जिम्मेवारी छ, त्यही जिम्मेवारी सम्हाल्ने हो,’ सुर्खेतमा मंगलवार प्रदेश कमिटी कर्णालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘कर्णाली प्रदेशमा हिजोबाट जेठ २ मा फर्किएर कार्यान्वयन गरेका छौँ, त्यसै अनुसार अब दश जिल्लामा कार्य विभाजन अनुसार भेला छलफल तुरुन्त सुरुवात गर्न लागेका छौँ।’

पार्टीविभाजन अघि नेता माधव कुमार नेपालसँग घनिभूतरुपमा छलफल भएको बताएका छन्। पार्टी एकताका लागि नेता नेपालले नै अघि सारेको भएपनि अन्ततः विभाजनका पुगेको उनले बताए।

‘दश बुँदे कार्यान्वयन गर्ने र पार्टी एकता गर्ने खुदै माधव कमरेडले भन्नुभएको थियो,’ एमाले उपाध्यक्ष एवं कर्णालीका संयोजक ज्ञवाली भन्छन्, ‘माधव समूहमा अन्तरविरोध देखा पर्‍यो, त्यो समूहको स्थायी कमिटीमा र माधव कमरेडमा, हामी पार्टी एकता गरेर छलफल, बहस त्यही गर्नुपर्छ, सामुहिकरुपमा कमीकमजोरी सच्याउने गर्नुपर्छ भन्न हाम्रो भनाई थियो।’

माधव समूहमा रहँदा पार्टी विभाजन गर्ने या एकता गर्ने भन्ने विषयमा ठूलो छलफल भएको उनी बताउँछन्। ‘एक महिना अघिदेखि नै (पार्टी विभाजन हुनुअघि) भित्रभित्रै भयंकर छलफल भईरहेको थियो, किन विभाजन गर्ने, किन विभाजन नगर्ने भन्ने विषयमा,’ उनले भने, ‘अचानक स्थायी कमिटिको बैठक नराखेर, हामी सहमतिमा नहुदाँ नहुदैँ दल दर्ता गर्नुभयो, एउटै विचार भएको पार्टी निर्माण गर्नु गलत हो, नेता प्रधान होइन, नीति प्रधान हो, व्यक्ति प्रधान होइन, पार्टी प्रधान हो।’

माधव नेपाल सहितको एकता गर्ने प्रयास भएको र नेता नेपालले ओलीसंग मिलेर बस्न नचाहेको उनको भनाई थियो। आफ्नो समूहका नेताहरु अर्काे पार्टी बनाउने पनि होइन दश बुदेँ टेकेर इमान्दारिताका साथ कार्यान्वयन पक्षमा उभिएको बताए।

तर, नेता माधव नेपालले नयाँ दल दर्ता गर्नुको औचित्य पुष्टि गर्न नसक्ने उनको टिप्पणी छ। ‘नयाँ दर्ता गरेर ठूलो गल्ती गर्नुभएको छ, उहाँले कुनै दिन विचार गर्नुहोला, यो कसरी जष्टिफाई गर्नुहुन्छ, उहाँले कसरी ठिक गरेँ भनेर, एउटै नीति, एउटै विचार धारा भएको पार्टी विभाजन गरेर यसको औचित्य पुष्टि गर्नसक्नुहुन्न’ उपाध्यक्ष ज्ञवालीले भने,‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर, तपाईहरुले जित्नुहुन्न, आफुले आफुलाई सिध्याउने दिशामा लाग्नुभएको छ, एमालेको मत खोसेर हामी जित्छौँ भन्ने नसोच्नूस्।’

त्यस्तै, नेता नेपालले पार्टी विभाजन गरे पनि एमालेको विशाल जनआधार नभत्केको उनको दाबी छ। एमालेलाई एकतावद्ध हुन आग्रह गरेर एमाले बलियो भएमात्रै संविधान, राष्ट्रियता, लोकतन्त्र बलियो हुने उनको तर्क छ।

दलभित्र कोही कसैको गल्ती, कमीकमजोरी भए छलफल गरेर सच्याएर अघि बढ्नुपर्ने उनको भनाई छ। ‘एमाले सबै साथीहरुको आफ्नै घर हो, हिजो कसैले गल्ती गरेको थियो र गर्छ भने तलदेखि माथिसम्म घरका सदस्यले यही घनीभूत छलफल गर्नुपर्छ,’ उनले भने, ‘नेपाल कम्युनिष्टको आन्दोलन जोगाउन नेकपा एमाले जोगाउनुपर्छ। पार्टीभित्र कहाँ समस्या छ, सच्याएर जानुपर्छ। सिंगो नेपाल कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर अगाडि बढ्नुपर्छ।’

त्यसैगरी, पार्टीभित्र अन्तरविरोध भयो भन्दैमा उत्तेजित नहुन आग्रह गरेका छन्। नेता नेपाललाई लक्षित गर्दै उनले भने, ‘पार्टीभित्र अन्तरविरोध हुनुसक्छ, पार्टी नै बर्बाद भयो, पार्टी नै खतम भयो भनेर विभाजनमा जानू गलत हो। जिम्मेवार नेताले जनताप्रति जिम्मेवारीपूर्ण व्यवहार गर्नुपर्छ, उत्तेजित हुनुहुदैँन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell