PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सरकारले दिने भनिएको रकमका लागि खाता खोल्न राजन्तीको ४ घन्टा यात्रा! जयसिंहबारे छानविन गर्ने समितिको फेरि गुज्रिँदै समय



सविन ढकाल

सरकारले दिने भनिएको रकमका लागि खाता खोल्न राजन्तीको ४ घन्टा यात्रा! जयसिंहबारे छानविन गर्ने समितिको फेरि गुज्रिँदै समय

काठमाडौं : मंगलवार मध्यान्ह भइसकेको थियो। नरेन्द्र धामी र राजन्ती धामी उकालो लाग्दै थिए। बिहानै घरबाट बैंकमा खाता खोल्न भनेर बाटो तताएका थिए। राजन्तीलाई स्वास्थ्यले पनि खासै साथ दिएको थिएन। मनमा भर्खरै श्रीमान् गुमाएको पीडा र ज्यानमा रोगको। त्यसैले उनको गति सुस्तसुस्त नै थियो।

देवर नरेन्द्र भने केहीअघि बढेका थिए। राजन्ती अर्थात् जयसिंह धामीकी श्रीमती। नरेन्द्र उनका भाइ। जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका थिए। अहिलेसम्म जयसिंहको न त लास भेटियो न त सास नै।

सरकारले जयसिंहको घटनाबारे अनुसन्धान गर्न पाँच सदस्य छानबिन समिति गठन गर्‍यो। समितिले ड्रोनको प्रयोग गरेर जयसिंहको खोजी गर्‍यो। तर, हात केही लागेन। अहिले यो घटना सरकारको लागि पेचिलो बनेको छ। छानविन समिति गठन भएको एक महिना भयो। तर, घटनाको छानविनपछि प्रतिवेदन बुझाउन सकेको छैन। प्रतिवेदन समयमा नै नबुझाउँदा सरकारको चौतर्फी आलोचना भइरहेको छ। त्यतिमात्र होइन, पीडितले न्याय नपाउने हो कि भन्नेमा शंका समेत उब्जिन थालेको छ।

'चाँडो गर्नुपर्ने धेरै समय भयो। धेरै मानिससँग बुझ्दा नेपाल इन्डियाबाट नै चल्छ भनेको सुनेको थिएँ। कतै इन्डियाले नै दबाब दिएर हो कि?,' जयसिंहका भाइ नरेन्द्रले शंका गर्दै प्रश्न गरे।

जयसिंह बेपत्ता भएको घटना बाहिरिएपछि सरकारले साउन १७ गते गृह मन्त्रालयका सह सचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्य छानविन टोली गठन गरेको थियो। प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्नता भट्ट सदस्य रहेका छन्।

सरकारले गठन गरेको समितिले साउन १९ गते दार्चुला पुगेर अनुसन्धान गरेको थियो। त्यसभन्दा एक दिन अघि नै परिवारले केही नभेट्टाएपछि कुशको शव बनाएर जयसिंहको अन्त्येष्टि गरेका थिए। समितिका पदाधिकारी घटनास्थलमा पुगेर अवलोकन गरेको थियो। समितिको टोली पुग्दा काटिएको भनिएको तुइनको कुनै अंश या संकेतसमेत थिएन।

भारतीय सीमा सुरक्षा बल एसएसबीका दुई जवानले तुइन फुकालिदिएको र धामी महाकाली नदीमा खसेको प्रत्यक्षदर्शीले बताउँदै आएका छन्। यद्यपि, भारतीय प्रशासनले एसएसबीले गस्ती गरेको स्वीकार गरे पनि तुइन नकाटेको दाबी गरेको छ। समितिले कूटनीतिक पहल गरेर तुइन काटिएको विषयमा एसएबीसँग कुनै सोधपुछ समेत गरेन।

एसएसबीले तुइन नकाटेको दाबी गरे पनि प्रत्यक्षदर्शीहरुले भने तुहिन काटिएको बयान सरकारले गठन गरेको छानबिन समितिलाई दिएका छन्। कल्याण धामी, विक्रम सकेनी र अनिता धामी घटनाको प्रत्यक्ष साक्षी थिए। उनीहरूले एसएसपीले तुहिन काटिदिँदा जयसिंह धामी खोलामा बगेको देखेका थिए।

'जयसिंह तुहिनबाट तरेको थियो। दुई जना एसएसबी आए। एउटा अलिक अगाडि थियो, अर्कोपछि पछि आएको थियो। एउटाले तुहिन खोल्यो। त्यसपछि जयसिंह नदी बिचको बेगमा आएको पानीमा खस्यो। आँखा अगाडि नै बगायो,' कल्याण धामीले पहिलोपोस्टसँगको टेलिफोन सुनाए।

पीडित परिवार अहिले सरकारले सार्वजनिक गर्ने छानविन समितिको प्रतिवेदन र त्यसपछि सरकारले लिने एक्सनको प्रतीक्षामा छन्। तर, १० दिनमा प्रतिवेदन बुझाउन भन्दै गठन गरेको समितिले तीन पटक म्याद थपिसकेको छ। पछिल्लो पटक थप भएको म्याद आज सकिँदैछ। तर, अझै प्रतिवेदन बुझाउनभन्दा पनि म्याद थप गर्ने तयारी भइरहेको छ।

हामीले गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र पोखरेललाई जयसिंह घटनाबारे प्रतिवेदन कहिले सार्वजनिक होला? भन्दै सोध्यौं। प्रश्न गर्ने बित्तिकै 'बैठकमा भएको' भन्दै उनी तर्किए। तर, गृहमन्त्री बालकृष्ण खाँणले गत बिहीवार छानविन प्रतिवेदन यथाशीघ्र आउने दाबी गरेका थिए।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरूले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा गृहमन्त्री खाँणले घटनाको समितिले गम्भीर रूपमा छानबिन गरिरहेको बताएका थिए। उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएको समेत ब्रिफ गरेका थिए। समितिकी एक सदस्य केही समयअघि भारत गएकी थिइन्।

साउन २५ गते समितिको सात दिन म्याद थपिएको थियो। त्यस समयमा पनि समितिले काम गर्न सकेन। त्यसपछि भदौ १ गते फेरि अर्को सात दिनको म्याद थपियो। यस पटक पनि समितिले प्रतिवेदन बुझाएन। भदौ ८ गते फेरि म्याद थपेर भदौ १५ (आज)सम्म पुर्‍याइएको छ। गृह मन्त्रालय स्रोतले दिएको जानकारी अनुसार आज पनि प्रतिवेदन बुझाउने कार्यक्रम छैन।

२०५० सालदेखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको मृत्यु भइसकेको छ। तर, जब घटना हुन्छ राजनीतिक दलदेखि सरकार पनि तान्ने तर घटना सेलाएपछि सबैले बिर्सिने गरेको जयसिंहका भाइ नरेन्द्रले गुनासो गरे। उनको यो गुनासो मात्र होइन यथार्थ नै हो।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले जयसिंहको परिवारलाई सहयोग स्वरूप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ। जयसिंहका एक ५ वर्षीय छोरा र डेढ वर्षकी छोरी छन्। मंगलवार नरेन्द्र र राजन्ती सरकारले दिएको १० लाख रुपैयाँ लिन बैंक खाता खोल्नुपर्ने र केही प्रक्रिया मिलाउनु पर्ने भएकाले घरबाट ५ घण्टाको बाटो तय गरेका थिए। उनीहरू व्यास गाउँपालिका वडा नम्बर २ बाट वडा नम्बर ४ मा रहेको बैंकमा खाता खोल्न जाँदै थिए।

'केही दिनअघि सरकारले १० लाख रुपैयाँ दिने भनेको रहेछ। त्यसैको लागि बैंक जान लागेको हो। राहतको पैसा त केही वर्षमा सकिन्छ। त्यसपछि के गर्ने? सरकारले छोराछोरीको पढाइ लेखाइको व्यवस्था गर्नुपर्छ,' जयसिंहका श्रीमती राजन्ती धामीले भनिन्। आज उनीहरु बैंक खाता खोल्न गाउँबाट बाहिर निस्किएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell