काठमाडौं : काठमाडौँ महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर भोलि बुधवार बिहान ६ बजेबाट उठ्ने भएको छ।
आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक लगायत सहितको बैठकले यस्तो निर्णय गरेको हो।
‘लामो समयसम्म फोहोर नउठाउँदा महानगरसँगै उपत्यकामा प्रदूषण बढ्ने भएकाले सरोकारवाला निकायसँगको छलफलपछि फोहोर उठाउने निर्णयमा पुगेका छौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले भने, ‘स्थानीयका हामीले गर्न सक्ने समस्या भए हामी समाधान गर्छौ। हामीले समाधान गर्न नसक्ने समस्या भए हामी सम्बन्धित निकायसँग समाधानका लागि पहल गर्छौ। तर, लामो समयसम्म फोहोर नउठाउने कुरा हुँदैन।’
शाक्यले स्थानीयहरूलाई कुनै पनि असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिए।
‘काठमाडौँ महानगरपालिकाले विगतका दिनमा पनि सिसडोलबासीका विभिन्न माग सम्बोधन गर्दै आएको छ,’ शाक्यले भने, ‘अहिले पनि उहाँहरूका जायज र काठमाडौँ महानगरपालिकाले सम्बोधन गर्न सक्ने माग पूरा गर्न हामी सकारात्मक छौँ।’
उनले फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी महानगरपालिकाको मात्रै नभई सम्पूर्णको समस्या हो भन्दै त्यसैले सबैतिरबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताए।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौँ महानगरपालिकाका प्रमुखको संयोजकत्वमा बसेको बैठकमा सकारात्मक छलफल भई फोहोर उठाउने निर्णय भएको जानकारी दिए।
‘बैठकले मोटामोटी तीन–चार ओटा निर्णय गरेको छ,’ पराजुलीले भने, ‘पहिलो निर्णय नै काठमाडौँ उपत्यकाको फोहोर भोलि बुधवार बिहान ६ बजेबाट उठाउने भयो।’
उनले त्यहाँ जाने बाटो सडक विभागले काठमाडौँ महानगरपालिकासँग समन्वय गरेर बाटोको तत्काल व्यवस्थापन गर्ने दोस्रो निर्णय भएको जानकारी दिए।
‘फोहोर उठाउन र त्यहाँ व्यवस्थापन गर्ने सन्दर्भमा सुरक्षा चुनौती देखियो भने शान्ति–सुरक्षाको व्यवस्था गृह प्रशासनले मिलाउने भन्ने भएको छ,’ उनले भने, ‘त्यसका लागि जिल्ला प्रशासन कार्यालय नुवाकोट र काठमाडौँ बिच समन्वय गरेर सुरक्षाको प्रबन्ध मिलाउने र तत्काल फोहोर व्यवस्थापन गर्ने भन्ने भएको छ।’
पराजुलीले स्थानीय अवरोध भए बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने जानकारी दिए।
‘फोहोर नगरपालिकाले उठाउँछ । स्थानीय स–साना विषय भए त्यो महानगरपालिकाले समन्वय गर्छ,’ पराजुलीले भन्नुभयो, ‘मैले प्रहरीलाई स्पष्ट आदेश दिएको छु । उहाँहरूको स्थानीय समस्या भए लेखेर दिनुहोला। कसले सम्बोधन गर्ने हो छलफल गरेर अघि बढ्छौँ। तर, अवरोध गर्ने भन्ने हुन्न । हामी सकेसम्म सम्झाइ–बुझाई गरेर शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्छौ। भएन भने बल प्रयोगको नियम प्रयोग गरेर भए पनि व्यवस्थापन गर्छौ।’
काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिए।
‘स्थानीय व्यक्तिका समस्या छन् भने त्यसको सुनुवाइ गर्ने प्रयास हुन्छ,’ सिंहले भने, ‘त्यति गर्दा पनि अवरोध कायम भए कारबाहीको दायरामा ल्याएर भए पनि फोहोर व्यवस्थापन गर्छौ।’
