PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

पदक विजेता बक्सिङ टोली नेपाल फर्कियो



पहिलोपोस्ट

पदक विजेता बक्सिङ टोली नेपाल फर्कियो
तस्बिर: राखेप

काठमाडौं: एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी भइ ३ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली मंगलबार स्वदेश फर्किएको छ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, प्रवक्ता श्याम अवाले, बक्सिङ मुख्य प्रशिक्षक प्रकाश थापा मगरलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे।

छ खेलाडीले प्रतिस्पर्धा गरेकोमा मंगलबार स्वदेश फर्किने तीनै खेलाडी पदक विजेता हुन्। अगष्ट २० देखि ३१ तारिखसम्म दुबईमा भएको प्रतियोगितामा ६ खेलाडीसहित ११ सदस्यीय टोलीले भाग लिएका थिए। ३ खेलाडीसहित ७ सदस्यीय टोली भने यसअघि नै फर्किसकेको नेपाल बक्सिङ संघले जनाएको छ।

पुरुष जुनियर ५४ केजीमा छिरिङ वाङदी शेर्पाले कांस्य जिते। क्वाटरफाइनलमा कुवेतका खेलाडीलाई ५–० ले पराजित गर्दै छिरिङले सेमिफाइनलमा स्थान बनाएका थिए। सेमिफाइनलमा छिरिङ ताजकिस्तानका खेलाडीसंग चुके। पछि यो स्पर्धामा ताजकिस्तानका खेलाडीले स्वर्ण नै जिते।

घरेलु प्रतियोगितामा चावहिलको बक्समान्डुबाट खेल्ने छिरिङको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हो। विमानस्थलमा भएको स्वागत कार्यक्रममा छिरिङले प्रतियोगिताका लागि धेरै मेहनत गर्नुका साथै ट्रेनिङमा बक्सिङ संघ र गुरुहरुले पनि धेरै सहयोग गरेका कारण सफलता प्राप्त भएको बताए। छिरिङले सफलताले आगामी दिनमा अझ बढी राम्रो गर्न हौसला बढेको बताउदै अबको लक्ष्य युथ च्याम्पियनसिप रहेको बताए।

महिलातर्फ जुनियर ५२ केजीमा स्वस्तिका तिरुवा तथा युथ ५७ केजीमा नारिका राईले कांस्य हात पारे। पहिलो चरणमा वाइ पाउदै सेमिफाइनलमा पुगेपछि दुवैको कम्तीमा कांस्य पदक सुनिश्चित भएको थियो। सेमिफाइनलमा दुवै भारतीय खेलाडीसँग पराजित भए। कास्य विजेता खेलाडीत्रयले १ हजार अमेरिकी डलर नगद पुरस्कार जिते। बाँकी तीन खेलाडी सुलभ माली, इन्द्रबहादुर सुनार र सुदेन गिरी पहिलो चरणबाटै बाहिरिएको पदक विजेता खेलाडीसँगै स्वदेश फर्किएका प्रशिक्षक दीपक महर्जनले जानकारी गराए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell