PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

२२ गतेसम्म मुख्यमन्त्री शाक्य पनि माधव नेपालको पार्टीमा सनाखत गर्न आउन सक्नुहुन्छ : सांसद सिग्देल



निशा गुरुङ

२२ गतेसम्म मुख्यमन्त्री शाक्य पनि माधव नेपालको पार्टीमा सनाखत गर्न आउन सक्नुहुन्छ : सांसद सिग्देल

हेटौंडा :  नेकपा एकीकृत समाजवादीमा मंगलवार सनाखत गरेकी प्रदेशसभा सदस्य मुनु सिग्देलले तत्काल मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई अविश्वासको प्रस्ताव दर्ता नगर्ने बताएकी छिन्।

यसअघि नेकपा एमाले मकवानपुर जिल्लाकी अध्यक्ष रहेकी सिग्देलले माधवकुमार नेपालको नयाँ दलमा सनाखत गराउँदै मुख्यमन्त्री शाक्यको सरकार तत्काल नढल्ने बताएकी हुन्।

‘सनाखत गर्न २२ गतेसम्म समय दिएको छ। २२ गतेसम्म अक्ष्टलक्ष्मी शाक्यजी पनि सनाखत गर्न आउन सक्नु हुन्छ। त्यसैले हामीले अहिल्यै नै अष्टलक्ष्मी शाक्यको सरकार ढल्छ भन्न सक्दैनौं,’ उनले भनिन्। 

मंगलवार नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा वाग्मती प्रदेशका ११ सांसदले सनाखत गरेका छन्। यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालनिकट अष्टलक्ष्मी शाक्यलाई वाग्मतीको मुख्यमन्त्री पदका लागि अघि सारेका थिए। शाक्य मुख्यमन्त्री बन्दा नेपालनिकट सांसद एमालेमै बस्ने आँकलन विपरीत मंगलबार ११ सांसद एकीकृत समाजवादीमा खुलेका हुन्।

प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भइ सनाखत गर्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल छन्। यस्तै बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीका नाममा सनाखत गरेका हुन्।

अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका तर माधव नेपालको नयाँ दलको केन्द्रीय सदस्यमा नाम रहेका कृष्ण खनालले भने अहिले कत्तै खुलेका छैनन्। सांसद बसुन्धरा हुमागाईंका अनुसार खनाल सनाखतमा लागि आउने दाबी गरिन्। नेपाल पक्षका सांसदहरुका अनुसार अझै केही सांसदहरु एमाले छोडेर एकीकृत समावादीमा थपिनेछन्।

११ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ। शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले पार्टी परिवर्तन नगरे प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell