काठमाडौं : मोडल निशा घिमिरेको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको नर्भिक अस्पतालले जनाएको छ।
अस्पतालमा उपचार भइरहेको ३ महिनासम्म पनि निशाको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको निशाका बुवा प्रेम प्रसाद घिमिरेले बताए।
'छोरीको स्वास्थ्यमा सोचेजस्तो सुधार हुन सकेको छैन। तीन महिनामा धेरै सुधार हुनुपर्ने थियो तर हुन सकेन भनेर डाक्टरहरूले भन्नु भएको छ। साथै रिहाब सेन्टरमा राखेर उपचार गर्ने समेत डाक्टरहरूले बताउनुभएको छ' उनले सुनाए।
दुर्घटनापछि निशाको मस्तिस्कमा गम्भीर चोट परेको र लामो समय उपचारविहिन अवस्थामा राखिएकाले विभिन्न उपचार विधि प्रयोग गर्दा पनि स्वास्थ्यमा सुधार हुन नसकेको अस्पतालले जनाएको छ।
निशाका बुवाले छोरीलाई लिएर टिकटक तथा सामाजिक संजालमा भ्रामक भिडियो आएको कारण आफूलाई तनाव भएको समेत बताएका छन्। यस्ता भ्रामक समाचार नफैलाउन अनुरोध गर्दैँ उनले भ्रामक खबर फैलाउनेलाई कारवाहीको माग समेत गरेका छन्।
२०७६ पुस १८ गते भारतको देहरादुनमा उनी कार दुर्घटनामा परेकी थिइन्। भारतमा १० लाख भारतीय रुपैयाँ खर्च भएपछि २२ दिनको उपचारपछि उनलाई नेपाल ल्याइएको थियो। भारतमा खर्च जुटाउन गाह्रो भएपछि उनका बुवा प्रेमले निशालाई नेपाल ल्याएका थिए।
त्यसपछि निशालाई काठमाडौँको ट्रमा सेन्टरमा भर्ना गरियो। तर, निशालाई नेपाल ल्याएको केहि महिनामा नै कोरोना भाइरसको संक्रमण फैलियो। त्यसपछि उनलाई अस्पतालबाट भैंसीपाटीस्थित कोठामा सारियो। तर, आर्थिक अभावका कारण उनको उपचार सम्भव हुन सकेको थिएन।
यसैबिच संचारमाध्यममा उनको स्वास्थ्य अवस्थाको खबर प्रकाशित भएपछि नवजीवन परोपकार संस्थाका संचालक दुर्गानाथ दाहालको पहलमा नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले निशाको उपचार नि: शुल्क गर्ने घोषणा गरेकी थिइन्।