PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

१२ सांसदले एमाले छाडेर रोजे एकीकृत समाजवादी, अष्टलक्ष्मी अल्पमतमा परेपछि मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी



निशा गुरुङ

१२ सांसदले एमाले छाडेर रोजे एकीकृत समाजवादी, अष्टलक्ष्मी अल्पमतमा परेपछि मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दाबी

हेटौंडा : वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन्। नेकपा एमाले विभाजन पछि १२ जना प्रदेशसभा सांसदले नेकपा एकीकृत समाजवादीमा सनाखत गराएसँगै शाक्य औपचारिक रुपमा अल्पमतमा परेकी हुन्।

एमाले विवाद चुलिएर औपचारिक रूपमा दुई दलमा विभाजन भएकै दिन शाक्य प्रदेशको मुख्यमन्त्री बनेकी थिइन्। माधवकुमार नेपाल समूहमा रहेकी उनले एकताका लागि भन्दै मुख्यमन्त्री बनेको बताउँदै आएकी छिन्। तर, सत्ताकै लागि पार्टी भने नछाड्ने घोषणा उनले गरिसकेकी छिन्।

बहुमत प्राप्त संसदीय दलको नेताको रुपमा मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले सामान्य अवस्थामा विश्वासको मत लिन नपर्ने भएपनि सत्तारुढ दल एमाले विभाजन भएकाले अब भने विश्वासको मत लिनु पर्ने भएको छ। १२ जना सांसदले साथ छाडेपछि प्रदेशसभामा शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून रहेको छ।

प्रदेशको एमाले र एकीकृत समाजवादीको संख्या 

११० प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा एक जना सदस्यको मृत्यु भएपछि हाल १०९ सदस्य छन्।  सरकार गठनको लागि ५६ जना सांसद आवश्यक पर्छ। हालसम्म सभामुखसहित ५६ जना सांसद रहेको एमालेले एकल बहुमतको सरकार चलाउँदै आएको थियो। तर, औपचारिक रूपमा एमाले फुटेर दुई दलमा विभाजन भएसँगै प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि एमालेले बहुमत गुमाइकेको छ।

एकीकृत समाजवादीमा सनाखत गर्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल छन् । यस्तै बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीका नाममा सनाखत गरेका हुन् । अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रीमा नियुक्त गरेका कृष्ण खनालले पनि एकीकृत समाजवादीमा सनाखत गराएका छन्।

यससँगै नेकपा एमालेको प्रदेशसभामा कूल सांसद् संख्या ४४ पुगेको छ।

नेकपा एकीकृत समाजवादीमा सनाखत गराएका प्रदेशसभा सांसदहरुले भदौ २२ गतेसम्म सनाखतको समय रहेकोले थप सांसदहरु माधव नेपालको पार्टी आउने दाबी गरेका छन्। एकीकृत समाजवादीमा सनाखत गराउनुअघि नेकपा एमाले मकवानपुर जिल्लाकी अध्यक्ष रहेकी मुनु सिग्देलले मुख्यमन्त्री शाक्यले पनि माधव नेपालको पार्टीमा सनाखत गराउन सक्ने बताएकी छिन्।

यसबिच १२ प्रदेशसभा सांसदले एमालेको साथ छाडेपछि वाग्मती प्रदेशमा हाल एकीकृत समाजवादी पार्टीको नेतृत्व गर्दै आइरहेका राजेन्द्र पाण्डेले आफू मुख्यमन्त्रीको दाबेदार रहेको बताएका छन्। अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परेको भन्दै उनले गठबन्धनबाट अब आफूले प्रदेशको नेतृत्व गर्ने दाबी समेत गरेका छन्।

मंगलवार नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सांसद राजेन्द्र पाण्डेले २३ गते आयोगले दलको सांसद संख्या दिए लगत्तै दलको तर्फबकाट प्रदेश सभामा पेश गर्ने र त्यही दिन सरकार अल्पतमा पर्ने बताएका हुन्। पाण्डेले सरकार जोगाउन अब कुनै बाटो नभएको भन्दै एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने बताए।

'पार्टीले मलाई नै अगाडि सारेको छ। सत्तारुढ गठबन्धनमा पनि सबैको सहमतिमा म उम्मेदवार हुँ' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell