PahiloPost

Sep 19, 2021 | ३ असोज २०७८

भारतमा कति पाउँछ फुटबलले प्राथमिकता?



मुकुन्द घिमिरे

भारतमा कति पाउँछ फुटबलले प्राथमिकता?
फोटो : twitter.com/IndianFootball

काठमाडौं : नेपालसँग मैत्रीपूर्ण खेलका लागि भारतको राष्ट्रिय फुटबल टोली सोमवार काठमाडौं आइपुगेको छ। काठमाडौंमा राम्रो स्वागत पाएको भन्दै भारतीय फुटबल टिमको आधिकारिक ट्विटर ह्याण्डलले फोटो पोस्ट गरियो। उक्त ट्वीटमा रहेको भारतीय समर्थकहरुको रिप्लाइले भने केही सोच्न बाध्य बनायो, 'कति प्राथमिकता पाउँछ फुटबलले भारतमा?'

एकजना प्रयोगकर्ताले आफ्नै देशमा फुटबलले स्वागत नपाउने गरेको र मिडियाको नामसमेत उल्लेख गर्दै लेखेका छन्। त्यस्तै, एक अर्का प्रयोगकर्ता लेख्छन् : भारतीय फुटबल टिमले अन्य देशमा मिडिया अटेन्सन पाउँछन् तर आफ्नै देशमा पाउँदैनन्। सीमित रिप्लाइहरु मध्ये बाँकीको चासो खेलको मिति र प्रत्यक्ष प्रसारणलाई लिएर थियो।

१ सय ३० करोड जनसंख्या। विश्वको सबैभन्दा चर्चित खेल फुटबलमा बरीयता त्यस्तै सयको सेरोफेरोमा। त्यसैले त फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले भारतलाई 'स्लिपिङ जायन्ट' उपनाम दिए। खासमा भारतमा फुटबल खेल क्रिकेटको छायाँमा परेको हो। अझ भन्ने हो भने फुटबलमात्र नभएर अन्य सबै खेलहरु क्रिकेटको छायाँमा छन्। विश्वकप तथा एसिया कप छनोटमा पनि भारतको प्रदर्शन उत्कृष्ट रहेको थिएन। भलै, एसिया कप छनोटको अन्तिम चरणमा भारत, नेपाल दुवै पुगिसकेका छन्। साफ फुटबलमा भारत सर्वाधिक सफल टिम भएर पनि आफ्नै देशमा भने लोकप्रियता कमाउन संघर्ष गरिरहेको छ। पछिल्ला केही वर्षहरुमा फुटबलले केही गति सम्हाले पनि क्रिकेटको कल्चरले डोमिनेट भएको भारतमा बजार बनाउन फुटबल अझै संघर्षरत छ।

यतिसम्म कि सन् २०१८ मा केन्यविरुद्धको खेलका लागि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले समर्थकहरुलाई स्टेडियममा आएर खेल हेरिदिन आग्रह नै गरेका थिए। उनले ट्वीटरमार्फत् स्टेडियममै आएर बरु आफूमाथि आलोचना, गाली गरे पनि स्वीकार्ने बताएका थिए।

उनको ट्वीटपछि क्रिकेट टिमका कप्तान विराट कोहली लगायतका क्रिकेटर र सेलिब्रेटीहरुले भारतमै तय होम गेम हेर्न जानका लागि अपील गरेका थिए। र, त्यसपटक स्टेडियम पनि भरिएको थियो।

खेल जानकारहरु भारतमा फुटबलले लोकप्रियता कमाउन संघर्ष गर्नुका पछाडि क्रिकेटलाई कारण ठहर्‍याउँछन्। हुन पनि क्रिकेट भारतमा एउटा संस्कृतिकै रुपमा विकसित भइसकेको छ। क्रिकेटमा विश्वकपको उपाधि भारतले पटक पटक जितेको त छ नै सदाबहार उपाधि दाबेदार टोलीका रुपमा गनिने पनि गर्छ। अर्कोतर्फ फुटबलमा ऊ धेरै पछाडि छ। विश्वकप अझै टाढा छ भारतका लागि। सन् १९६२ मा एसियन गेम्समा स्वर्ण जितेयता भारतको उल्लेखनीय उपलब्धि देखिँदैन।

भारतीय फुटबल केही विशेष क्षेत्रमा समेटिएको पाइन्छ। खासगरी नर्थ इस्ट, गोवा, केरला, वेस्ट बेङ्गोल लगायतका क्षेत्रमा फुटबल चर्चित छ।

जस्तो क्षेत्रीय हिसाबमा लामो इतिहास बोकेका र फुटबलको विरासत धानेका क्लबहरू पनि छन् भारतमा। 'इस्ट बेङ्गोल' र 'मोहन बगान' कोलकत्ता डर्बीको रुपमा हेरिन्छ र भारतमा राष्ट्रियस्तरमै चर्चा पनि पाउँछ।

इतिहासबाट हेर्दा १९ औं शताब्दीको अन्त्यबाट भारतमा फुटबल सुरु भएको मानिन्छ। भारतमा फुटबलको जग बसाएको श्रेय ब्रिटिसहरुले पाउने गरेका छन्।

१९११ मा भारतमा स्वतन्त्रताको चेत आउँदै गर्दा मोहन बगान क्लबले ब्रिटिसहरुको टिम आइएफए सिल्डालाई हराउँदै फाइनल उपाधि जितेको थियो। त्यतिबेला भारतमा फुटबल निकै चर्चित नभए पनि सेलिब्रेसन भने भव्य गरेका थिए।

फुटबललाई चर्चित बनाउन भने सन् १९९६ मा नेसनल फुटबल लिग खेलाउन सुरु गरेबाट हो। यद्यपि, यो लिग आयोजनाका हिसाबले र खेल स्तरका हिसाबले एकदमै कमजोर थियो। पहिलो गाँसमै ढुंगा लागे पनि लिगले निरन्तरता पायो र २००६ मा आएपछि 'आई लिग'का रुपमा अपग्रेड भयो। त्यसपछि ब्रोडकास्ट, स्पोन्सर्सहरु फुटबलमा आकर्षित हुन थाले।

लिगमा टिमको संख्य बढे। भारतमा फुटबलले आफ्नो अस्तित्व बनाउनलाई आइ लिगले ठूलो भूमिका खेल्यो।

भारतीय फुटबलको विकासमा कोषेढुंगा बनेर भने इण्डियन सुपर लिग (आईएसएल) आयो। इन्टरनेशनल म्यानेजमेन्ट ग्रुप (आईएमजी) को स्पोन्सरमा गराइएको प्रतियोगिता भारतीय फुटबल फेडेरेसनसँगको एग्रिमेन्ट बिना नै खेलाइएको थियो भने एएफसी र फिफाले पनि रिकग्नाइज गरेको थिएन। ठूला कर्पोरेट कम्पनी भित्रिएसँगै फुटबलमा लगानी पनि ह्वात्तै बढ्यो। साथसाथै, खेलको भ्युअरसीप पनि। र, समानान्तर रुपमा लिगहरु चल्दै आए। यसैक्रममा फुटबलका चर्चित हस्तीहरु पनि भारतमा खेल्न पुगे।

त्यसयता एएफसी फिफाबाट समानान्तर लिग चलाएको भन्दै भारतीय फुटबल दबावमा छ। आन्तरिक रुपमा यसलाई विभिन्न चरणमा गरेर मिलाउन पनि लागि परेको छ। यसका बाबजुद भारतीय सञ्चारमाध्यममै पनि फुटबलले खास स्थान बनाउँदैन। मुलधारे केही मिडियामा एउटा सामान्य समाचार बाहेक फुटबलको स्थान खास देखिँदैन। जबकि नेपालमा बन्द प्रक्षिक्षणदेखि खेल सकिँदासम्म चर्चामा रहन्छ यो खेल।

नेपाल र भारत सेप्टेम्बर २ र ५ मा दशरथ रंगशालामा आमने सामने हुँदैछन्। दुवै टोली साफ च्याम्पियनसीप र एसिया कप क्वालिफायर्सको तयारीमा छन्।

को को छन् भारतीय टोलीमा?

गोलिकिपर: अरमिन्दर सिंह, धीरज सिंह मोइरंगदेम, गुरप्रीतसिंह संधु

डिफेन्डर: प्रीतम कोटल, चिनग्लेनसना सिंह कोन्सम, मंदार राव देसाइ, आकाश मिश्रा, राहुल वेके, सुभाषिश बेस, सेरिटन फर्नान्डेज

मिडफिल्डर: लालेंगमालिया, बिपिन सिंह, अनिरुद्ध्र थापा, सहल अब्दुल समद, ब्रेन्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहम्मद, ग्लेन मार्टिन्स, सुरेश सिंह वांगजाम, जेकसन सिंह, प्रणय हलदर

फर्वार्डस्: मनभीर सिंह, रहिम अली, सुनिल क्षेत्री, फारुक चौधरी

प्रशिक्षणमा रहेका नेपाली खेलाडी

किरणकुमार लिम्बु, दीप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुस घलान, बिसाल राई, दिनेश राजबंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell