PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

ओली सच्चिएर ट्र्याकमा हिँडिरहेकै बेला माधव नेपाल आवेगमा निस्किए : युवराज ज्ञवाली



पी बी खड्का

ओली सच्चिएर ट्र्याकमा हिँडिरहेकै बेला माधव नेपाल आवेगमा निस्किए : युवराज ज्ञवाली

नेकपा एमालेभित्र लामो समय अन्तरविरोमा उत्रिएका नेता माधव नेपालले मुल पार्टीबाट अलग भई नयाँ दल दर्ता गरिसकेका छन्। एमाले टुक्रिएर नेता नेपालको नेतृत्वमा बनेको एकीकृत समाजवादी पार्टीले संस्थापन पक्ष एमालेलाई ठूलै चुनौती सिर्जना गरेको छ।

एमालेभित्रका नेता कार्यकर्ता नेता नेपालको नवगठित पार्टीमा जाने या एमालेमै रहने केही नेताकार्यकर्ताले टुंगो लगाईसके भने, बाँकीले एक साताभित्र लगाउने छन्। यद्यपि, दुवै दलका नेता तथा कार्यकर्ता आफ्नो पक्षमा नेता कार्यकर्ता तान्न लागि परेका छन्।

तत्कालिन एमालेमा रहँदा नेता नेपालको गढ मानिएको कर्णालीमा केही नेता कार्यकर्ता नेता नेपालको साथ छोडिसकेका छन् भने केही अझै पनि उनकै पक्षमा देखिएका छन्। जसले गर्दा नेता नेपाल पक्षका नेताकार्यकर्ता आफ्नो साख जोगाउने दाउमा देखिन्छन् भने, एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष थप बजबुत बनाउने दाउमा लागि परेको छ।

सोही क्रममा एमालेका उपाध्यक्ष एवं कर्णाली प्रदेश कमिटीका संयोजक युवराज ज्ञवाली अहिले कर्णालीमा छन्। एमालेका नेता कार्यकर्तालाई थामथुम पार्न कर्णाली पुगेका नेता ज्ञवालीसँग कर्णालीको एमालेभित्रको राजनीतिक उत्तारचढावका विषयमा पहिलोपोस्टले गरेको कुराकानीको सम्पादित अंश :  

अब कर्णालीमा एमाले कसरी अगाडि बढ्छ?

पछिल्लो समय हामी पार्टीको स्थायी समितिको बैठक बसिकेको छ। दशौं बैठक सम्पन्न गर्यौँ। त्यो बैठकको निर्णय अनुसार देशभरीका सवै कमिटीहरु २०७५ साल जेठ २ गतेको ढाँचामा आम रुपमा फर्किन्छ। तर, कतिपय साथीहरु पार्टी एकीकरणको सन्दर्भमा सामेल हुनुभएको छ। त्यो केन्द्र, प्रदेश र जिल्ला सबै तहमा हुनुहुन्छ। पार्टी एकीकरण सन्दर्भमा सामेल भएका साथीहरु संलग्न हुनुहुन्छ, मुलभूत र आधारभूत रुपमा २०७५ साल जेठ २ गतेको नेकपा एमालेको तलदेखि माथिसम्म जुन जुन कमिटीमा पदाधिकारी, सदस्य साथीहरु हुनुहुन्थ्यो। उहाँ सोही ठाउँमा रहनुहुन्छ। यो हाम्रो निर्णय भइसकेको छ। त्यही निर्णयअनुसार अन्तरपार्टी निर्देशनमा आईरहेको छ। त्यसमा लागू गर्न पहिलेका संयोजक सातै प्रदेशमा खटिनुभाछ। सोही अनुसार एमालेको तत्कालिन संयोजककै हैसियतमा म कर्णालीमा छु। हाम्रो केन्द्रिय सदस्यहरुको विचमा छलफल भइरहेको छ र पार्टीको निर्देशनअनुसार पार्टीको चार जना नेताहरु सहजकर्ताको रुपमा तोकिएको छ। त्यही सहजकर्ताको रुपमा हामीले काम गरिरहेका छौ। यहाँ केन्द्रिय सदस्यहरुको भेला गरेका छौ। उहाँहरुबाट सल्लाह लिने र दश बुदेँ निर्णय कार्यान्वयन गर्न प्रदेशका दश वटै जिल्लामा लागू गर्ने सन्दर्भमा योजना बनाईरहेका छौ। त्यही अनुसार विगतको भन्दा राम्रोसँग अगाडि बढ्छ।

माधव नेपाल नेतृत्वको नयाँ पार्टीले असर त पार्छ होला नी?

धेरै होइन, अलि अलि त असर पर्छ नै, केही न केही असर पर्छ, जुन दीर्घकालिन असर पर्छ त्यसलाई मेकअप गर्न सकिने, पुरा गर्न सकिने सम्भावना ठुलो छ। त्यो सम्भावनाको खोजी पनि हामीले गरिरहेका छौँ। परेको असरलाई मेकअप हुनेगरी पूर्णता दिन्छौँ। त्यहीअनुसार हाम्रो प्रदेश कमिटी लागि परेको छ।

तत्कालिन एमालेमा रहँदा कर्णालीमा ओली समूहभन्दा नेपाल समूह अर्थात त्यत्तिबेला हजुरहरु नै बलियो हुनुहुन्थ्यो, यस्तो अवस्था पनि एमाले मजबुत बन्छ त?

अवश्य पनि। केही साथीहरु नयाँ पार्टीमा जानुहुन्छ होला, तर, अधिकांश साथीहरु रोकिनुहुन्छ। र नयाँमा समावेश हुनु खोज्नुभएको र हुनुभएको साथीहरुलाई पनि केही महशुस अवश्य हुनेछ, हामीले अत्यधिक उदार भएर, कसैप्रति भेदभाव नगरी, आग्रह पूर्वाग्रह नगरीकन सवैलाई सम्बन्धित ठाउँमा राख्ने, आएका साथिहरुलाई उपयुक्त जिम्मेवारी दिने, भेदभाव नराख्ने, सवैलाई सम्मान गरेर योग्यता क्षमता अनुसारको काम, जिम्मेवारी दिने गरी उदाररुपमा त्यसरी सोच्नुपर्छ भन्ने योजना अनुसार सल्लाह भइरहेको छ।

यसअघि अध्यक्ष ओली विधि र पद्धतिमा नहिडेको भन्दै माधव नेपाललाई दिएको साथ अहिले किन छोड्नु भयो तपाईले?

कसैले पनि नीति, विधि र सिद्धान्त बिर्सन हुदैँन्। जुन बेला ज जसले नीति, विधि मिच्नु भयो, उहाँहरुले आत्मालोचित हुनुभाछ, हुनुपर्छ स्वभाविक रुपमा। कुनै बेला कसैले विधि मिचेको छ, कुनै बेला अर्कोले विधि मिचेको छ। कोही कसैले पनि अरु कसैलाई देखाएर आफुले विधि मिच्ने वा गल्ती गर्ने छुट कसैलाई छैन। त्यसो भएर पार्टीलाई नीति, सिद्धान्त, विधि र प्रक्रियाअनुसार विधानको मातहत रहेर हामी सवै नेताकार्यकर्ता सञ्चालन हुनुपर्छ। पार्टीलाई एक ढिक्का बनाएर जाउँभन्दा त्यो पक्षमा उहाँ देखिनुभएन, हामी जहिले पनि पार्टी एकताको पक्षमा उभिएका हौँ। एकताको पक्षमा आज उभियौँ, भोलि पनि उभिन्छौँ।

यसको मतलब अहिले ओली सही ट्र्याकमा हुनुहुन्छ भन्ने हो?

हो, उहाँ त सही ट्र्याकमा हिड्नै पर्छ नि। कुनै बेला उहाँले गल्ती गर्नुभए होला, तर, अव सही ट्र्याकमा हिड्नुपर्छ, हिडिराख्नु भएको छ। अरुले पनि त्यहीअनुसार पालन गरेर हिड्नुपर्छ। कसैले पनि कुनै पनि बेला विधि मिच्नुहुदैँन। सबै नेता कार्यकर्ता पार्टीको नियम, विधानअनुसार चल्नुपर्छ। तब मात्रै पार्टी, लोकतन्त्र सुदृढ हुनसक्छ। लोकतन्त्रमा जानेर जहाँ विधि, नियम, कानून, संविधान मिचिन्छ त्यत्तिबेला लोकतन्त्र कमजोर हुन्छ। देश कमजोर हुन्छ, भन्ने कुरा सबैले बुझ्नुपर्छ।

विधि र पद्धति मिचेर चलेको आरोप लगाएर अर्को विचार धारामा हिड्नुभो फेरि अध्यक्ष ओलीले सोही बाटो अपनाए के हुन्छ?

पार्टीमा कसैले गल्ती गर्नुहुदैँन, यदि कोही नेता कार्यकर्ताले गल्ती गरे त्यसको आलोचना हुन्छ, त्यसलाई सच्याउनुपर्छ। त्यसरी नै अगाडि बढ्नुपर्छ। कुनै नेताबाट गल्ती भयो भन्दैमा पार्टी नै छोडेर हिड्ने, पार्टी नै विभाजन गरेर हिड्ने काम गर्नुहुदैँन। बरु पार्टीभित्रै बसेर सच्याउनुपर्छ। सच्याउँछौँ।

अध्यक्ष ओलीले तपाईहरुकै भाषामा ‘विधि, विधान विपरीत स्वेच्छाचारी’ ढंगले चले अझै सँगै बस्नुहुन्छ?

विधि, विधान कसैले कुल्चिन पाइँदैन। कसैले कुल्चिहाल्यो भन्दैमा विद्रोह गरेर पार्टी छोड्ने, पार्टी विभाजन गर्ने होइन, यदि कुल्चिन थाले सच्याउनु पर्छ। सच्याएका छौँ। यसरी नै पार्टीलाई बलियो बनाउने हो।

लामो समयसँगै रहेका माधव नेपाललाई के भन्नुहुन्छ?

उहाँले अहिले जे निर्णय गर्नुभएको छ त्यो गलत छ। लामो समय कम्युनिष्ट आन्दोलनबाट स्थापित नेता हुनुहुन्छ। पार्टीभित्र उहाँको पनि ठूलो योगदान छ। त्यसो भएर आफ्नो विचार धारा, छोड्नु कुल्चिनु गलत छ। आवेगमा आएर उहाँले हामी कसैसँग स्थायी समितिका सदस्यहरुसँग छलफल नै नगरी एक्कासी दल दर्ता गर्नपुग्नु भो। एउटै नेपाल कम्युनिष्ट पार्टीको आन्दोलन, विचार धारा भएको दल दर्ता गर्न जरुरी नै छैन, भएको संगठनलाई बलियो बनाउन लाग्नुपर्ने थियो। परिवारभित्र सबैको विचार नमिल्न सक्छ, बहस र छलफलका माध्यमबाट निष्कर्षमा पुग्न सकिन्छ। एक अर्कामा भएको कमीकमजोरी सुधार गरेर अघि बढ्ने हो। कसैसँग कुरा मिलेन, विचार मिलेन भनेर पार्टी नै छोड्नु र विभाजनतर्फ लाग्नु गलत हो। क्षणिक लाभ मिल्ला तर, दीर्घकालिन त्यत्ति राम्रो बाटो होइन। उहाँले ढिलो चाँडो सही निर्णय गर्नुहुने छ। विश्वास छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell