PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पहिलो पटक अन्तर्राष्ट्रिय क्लबबाट खेल्न आउँदै मिक्की, चर्चित गायक योगेश्वर अमात्यको स्वागत



पहिलोपोस्ट

पहिलो पटक अन्तर्राष्ट्रिय क्लबबाट खेल्न आउँदै मिक्की, चर्चित गायक योगेश्वर अमात्यको स्वागत

युरोप यात्रामा रहेका चर्चि गायक योगेश्वर अमात्यले हिजो फेसबुक स्टाटस लेख्दै स्कुले साथी स्याङ्गे दोर्जेका छोरा मिकीलाई नेपालमा स्वागत गरे। व्यवसायिक क्रिकेट खेल्न नेपाल आउँदै गरेका मिकी दोर्जेलाई उनले स्वागत मात्र होइन उनको यहाँ अभिभावक समेत रहने लेखेका छन्। भारतको दार्जिलिङ पढ्दा सहपाठी स्याङ्गेका छोराबारे अमात्यले लेखेका छन्, 'उसको बुवा स्याङ्गेले मलाई मिक्कीको नेपाल रहँदाको अभिभावक बनाएको छ। तपाईँहरु सबैको साथ चाहिएको छ मिक्कीलाई।'

भुटानको चर्चित पत्रिका कुन्सेलमा मिक्कीले महत्वपूर्ण ठाउँ पाएका छन्। कुन्सेलको अनलाइन संस्करणमा जनाइए अनुसार मिक्की भुटानको राष्ट्रिय क्रिकेट टिमका पहिलो खेलाडी हुन् जसले विदेशी क्लबमा आवद्ध भएर प्रतिस्पर्धा गर्दैछन्। उनको पूरा नाम हो रनजंग मिक्की दोर्जे। उनी नेपालको क्रिकेट फ्रेन्चाइज ललितपुर प्याट्रियोट्ससँग आवद्ध भएका छन् र तीन सातापछि सुरु हुने एभरेस्ट प्रिमियर लिगमा सहभागी हुँदैछन्। सेप्टेम्बर २५ देखि प्रतियोगिता सुरु हुँदैछ।

२१ वर्षीय भुटानी क्रिकेटर ललितपुरका लागि ब्याटिङ अल राउन्डरका रुपमा जोडिएका हुन्। सातवटा टिम रहने एभरेस्ट प्रिमियर लिगमा ललितपुर डिफेन्डिङ च्याम्पिन हो।

नयाँ दिल्लीको सेन्ट स्टिफन कलेजबाट आर्टसमा स्नातक तह अध्ययन गरिरहेका छन् मिक्कीले। 'सन् २०१९ को दक्षिण एसियाली खेलमा मैले नेपालविरुद्धको खेलमा राम्रो गरेको थिएँ। ललितपुरले मलाई रोज्नुको पछाडि त्यही खेल हो जस्तो लाग्छ,' मिक्कीलाई उद्धृत गर्दै कुन्सेलले लेखेको छ।

मिक्की दोर्जेले सन् २०१८ मा मलेसियाविरुद्धको प्रतियोगितमा डेब्यु गरेका थिए। त्यस यता भुटानी राष्ट्रिय टोलीमा समावेश भएर ९ अन्तर्राष्ट्रिय प्रतियोगितामा उनले सहभागिता जनाइसकेका छन्। राष्ट्रिय टिममा डेब्यु हुँदा भुटानकै सबैभन्दा कम उमेरका खेलाडी रहेका थिए उनी।

नेपालमा हुने प्रतियोगिताले पढाईमा असर नपर्नेमा निश्चिन्त छन् उनी। 'नेपालमा हुने खेल २० दिनको मात्र हो। अहिले म अनलाइन क्लास लिइरहेको छु। कलेज व्यवस्थापनलाई म विदाका लागि अनुरोध गर्नेछु,' कुन्सेलसँग उनले भनेका छन्। उनले आफ्ना अभिभावक खेललाई लिएर सकारात्मक रहेको पनि सुनाएका छन्।

त्यसैले हुनुपर्छ योगेश्वर अमात्यले लेखेका छन्, 'मिक्की राम्रो खेलाडी हो। उसले हाम्रो विद्यालयलाई गौरवान्वित बनाएको छ।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell