PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

अष्टलक्ष्मीलाई हटाएर वाग्मती प्रदेशको मुख्यमन्त्रीका लागि तीन दलको दाबी, भर केन्द्रमा हुने सहमतिकै



निशा गुरुङ

अष्टलक्ष्मीलाई हटाएर वाग्मती प्रदेशको मुख्यमन्त्रीका लागि तीन दलको दाबी, भर केन्द्रमा हुने सहमतिकै

हेटौंडा : नेकपा एमाले विभाजनसँगै अल्पमतमा परेको वाग्मती प्रदेश सरकारलाई हटाई विपक्षी गठबन्धनले नयाँ सरकार गठनका लागि छलफल थालेका छन्। वाग्मती प्रदेश सरकारको नेतृत्वमा मुख्य रुपमा नेपाली काँग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीले दाबी गरेका छन्।

प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली काँग्रेसको तर्फबाट संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र नेकपा एकीकृत समाजवादी पार्टीका नेता राजेन्द्र पाण्डेले दाबी गरेका हुन्।

माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेलले पनि सरकारको नेतृत्वका लागि दाबी गरेका छन्। तर, उनी आफै पनि वाग्मती प्रदेश सरकारको नेतृत्व माओवादी केन्द्रले पाउनेमा विश्वस्त छैनन्।

प्रदेश सरकारको नेतृत्व कसले गर्ने भन्नेबारे गठबन्धनबिच ठोस सहमति हुन बाँकी छ। यसका लागि केन्द्रमै छलफल हुने र दलहरुबिच समझदारी बन्ने नेताहरु बताउँछन्। यद्यपि, प्रदेश तहमा हाल तीनवटा दलले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन्।

वाग्मती प्रदेश सरकारको नेतृत्वको विषयमा नेपाली काँग्रेसले स्वाभाविक रुपमा दाबी गर्ने काँग्रेसका वाग्मती प्रदेशसभा प्रवक्ता प्रभात तामाङले बताए।

‘मुख्यमन्त्रीमा तीनै दलले दाबी गर्नु स्वभाविक हो। तर, अष्टलक्ष्मी शाक्यको सरकारमा समावेश हुनसक्ने भनेको नेपाली कांग्रेस मात्रै हो। नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्र हाल शाक्यको सरकारमा समावेश हुन सक्दैन,’ हामी गठबन्धमा रहेका दलहरुसँग छलफलमा छौं। माओवादी केन्द्रले पनि हामीलाई साथ दिने कुरा भएको छ’ उनले भने।

उनले वाग्मती प्रदेशका मुख्यमन्त्री वाग्मती प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नै हुने दावी समेत गरेका छन्।

तामाङका अनुसार वर्तमान अवस्थामा सरकारको नेतृत्व गरिरहेको दल विभाजित भएको र सरकार अल्पमतमा रहेकाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुपर्ने वा संवैधानिक व्यवस्था अनुरुप संसदबाट विश्वासको मत लिनुपर्ने उनले बताए। तत्काल गठबन्धनको ध्यान त्यसतर्फ नै केन्द्रित रहेको उनले बताए।

माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेलले प्रदेश सरकारको नेतृत्वको लागि आफ्नो पार्टीले पनि दाबी गर्ने बताए। तर तीन वटा अन्य प्रदेशमा माओवादी केन्द्रले सरकारको नेतृत्व गर्दै आएका कारण वाग्मती प्रदेशमा पनि माओवादी केन्द्रलाई नै सरकारको नेतृत्व गर्न दिनेमा गठबन्धनका दल सहमत हुन नसक्ने सम्भावना रहेको उनले बताए। उनले नेतृत्वको लागि माओवादी केन्द्र पनि दाबेदार भएको र सरकारको नेतृत्व नपाए सरकारमा सहभागी भएर अघि बढ्ने बताए।

वाग्मती प्रदेश सरकारको नेतृत्वको लागि नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले पनि दाबी गरेका छन्। गठबन्धनका तर्फबाट सरकारको नेतृत्व आफूले गर्ने उनले बताए।

मंगलवार नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका सांसद राजेन्द्र पाण्डेले २३ गते आयोगले दलको सांसद संख्या दिए लगत्तै दलको तर्फबकाट प्रदेश सभामा पेश गर्ने र त्यही दिन सरकार अल्पमतमा पर्ने बताएका हुन्। पाण्डेले सरकार जोगाउन अब कुनै बाटो नभएको भन्दै एकीकृत समाजवादीको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरेका छन्।

'पार्टीले मलाई नै अगाडि सारेको छ। सत्तारुढ गठबन्धनमा पनि सबैको सहमतिमा म उम्मेदवार हुँ' उनले भने। देशका कुनै पनि प्रदेशमा नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व नगरेको भन्दै उनले वाग्मती प्रदेश सरकारमा आफ्नो दाबी रहने बताउँदै आएका छन्।

वाग्मती प्रदेशमा हाल कायम रहेका १०९ जना सांसदमध्ये नेकपा एमालेका ५६ सांसद थिए। एमाले विभाजनपछि १२ सांसदले नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराइसकेका छन्। अब एमालेमा ४४ सांसदमात्र छन् ।

प्रदेशसभामा नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली काँग्रेसका २२ जना, विवेकशील साझाका ३ जना, राप्रपा र नेमकिपाका २-२ जना र एक स्वतन्त्र सांसद् छन्।

प्रदेश सरकार गठनका लागि ५५ जना सांसदको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत जुटाउन थप ११ सांसदको समर्थन खोज्नुपर्ने हुन्छ।

गठबन्धनका तर्फबाट माओवादी, काँग्रेस र एकीकृत समाजवादी मिल्दा सहजै बहुमत पुग्ने देखिन्छ। एकीकृत समाजवादीका १२, माओवादीका २३ र काँग्रेसका २२ गरी ५७ सांसदका साथ गठबन्धनले प्रदेश सरकार गठन गर्न सक्ने अवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell