काठमाडौं : केही क्षेत्रलाई छोडेर हेर्ने हो भने अहिले काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा छैन भन्दा खासै फरक पर्दैन। सिनेमा हल, डान्स बार, रात्रिकालीन रेष्टुराँ लगायतका क्षेत्र बाहेक अन्य क्षेत्र खुल्ला जस्तै छन्। त्यस्तै केही नगरपालिकामा विद्यालयहरू पनि खुल्न थालिसकेका छन्।
जिल्ला प्रशासन कार्यालयले अहिले भएको निषेधाज्ञालाई अझ थप खुकुलो बनाउने तयारी गरेको छ। पछिल्लो पटक थप गएको निषेधाज्ञाको समय आज रातिबाट सकिदैंछ। त्यस्तै निषेधाज्ञा थप गर्ने काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बोलाइएको छ।
'आज दिउँसो बैठक बसेर निर्णय हुन्छ। अझै निषेधाज्ञा खुकुलो पार्ने तयारी भइरहेको छ,' जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने।
रात्रिकालीन व्यवसायीहरूलाई कसरी खुल्ला गर्ने भन्ने विषयमा छलफल भइरहेको छ। त्यस्तै होटेल र रेष्टुराँ संचालनको विषयमा पनि छलफल चलिरहेको छ। तर, तीनै वटा जिल्लाका सिडिओहरू के गर्ने भन्ने निर्णयमा भने पुगिसका छैनन्।
काठमाडौं उपत्यका लगायत देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ। आज बस्ने बैठकले पनि निषेधाज्ञा थप गर्ने तयारी गरेको छ। तर कति दिनसम्म थप्ने भन्ने विषय भने टुङ्गिएको छैन।
