काठमाडौं: नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतसँगको मैत्रीपूर्ण खेलको पूर्वसन्ध्यामा एसियन कपको लक्ष्य राखेर तयारी गरेको प्रतिक्रिया दिएका छन्। उनले तत्कालको खेलका लागि भारतीय टिमको राम्रो अध्ययन गरेको बताउँदै यो खेल साफ च्याम्पियनसिपको तयारीका रुपमा रहेको बताए।
'मेरो लागि यो सामान्य विषय हो। हामी तयार छौं। हामी बराबरी खेल्नका लागि नभएर जित्नका लागि खेल्दैछौं। हाम्रो मुख्य लक्ष्य एसिया कप नै हो,' अलमुताइरीले भने, 'इतिहासमा हेर्दा हाम्रो भारतसँगको प्रदर्शन राम्रो छैन। फिफा वरीयतामा पनि उनीहरु माथि छन्। उनीहरु बलिया टिम छन्। तर हामी पनि रियल गोर्खाली हो, बराबरीका लागि नभएर जितकै लागि खेल्नेछौं।'
उनले अगाडि भने: भारत बलियो प्रतिस्पर्धी हो तर हामी कमजोर छैनौं।
त्यस्तै राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले २ महिनाको तयारी भएको भन्दै साफ अघि घरेलु मैदानमा मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो भएको बताए।
'यो खेलले हामी कति बलियो छौं भनेर हेर्न मद्धत गर्छ। नतिजा महत्वपूर्ण त हुन्छ तर यो सिरिजबाट हाम्रो कमजोर पक्ष र बलियो पक्ष पत्ता लगाउन सहयोग गर्नेछ,' कप्तान चेम्जोङले भने, 'हामी एकदमै मोटिभेट छौं। प्रशिक्षकले 'बुवा' को जस्तो भूमिका निभाउनु भएको छ। यसपटक हामी शारीरिक र मानसिक दुबै रुपमा बलिया छौं।'
नेपाल र भारतबीचको दुई खेलको सिरिज भोलि र आइतवार दशरथ रंगशालामा हुँदैछ।
५ हजार १०० दर्शकलाई दशरथ रंगशालामा खेल हेर्न जाने प्रशासनले अनुमति दिएको नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए। यसरी दशरथ रंगशाला खेल हेर्न जाने दर्शकले अनिवार्य पीसीआर परीक्षण नेगेटिभको रिपोर्ट वा भ्याक्सिन लगाएको कार्ड देखाउनुपर्नेछ।
