PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

एकीकृत समाजवादीमा सनाखत गराएपछि राजेन्द्र राईले मागे प्रदेश १ का मुख्यमन्त्री आचार्यको राजीनामा



पहिलोपोस्ट

एकीकृत समाजवादीमा सनाखत गराएपछि राजेन्द्र राईले मागे प्रदेश १ का मुख्यमन्त्री आचार्यको राजीनामा

विराटनगर : एमालेबाट छुट्टिएर बुधबार १० सांसद्सहित निर्वाचन आयोगमा सनाखत गरेका एकीकृत समाजवादीका नेता एवम् प्रदेश नम्बर १ का सांसद् राजेन्द्र राईले मुख्यमन्त्री भीम आचार्यको राजीनामा माग गरेका छन्।

सनाखत सकिएपछि सांसद् राईले मुख्यमन्त्री आचार्यले राजीनामा दिनुपर्ने माग गरेका हुन्।

‘उहाँ अल्पमतमा परिसक्नुभएको छ’, सांसद् राईले भने, ‘उहाँ ओलीको प्रतिगामी कित्तामा पुग्नुभएको छ। त्यसैले हामी उहाँको नेतृत्वको सरकारलाई समर्थन गर्न सक्दैनौं। परिस्थिति बुझेर उहाँले राजीनामा दिनु सर्वोत्तम हुन्छ। हामी उहाँले राजीनामा दिएर हामीलाई बाटो क्लियर गरिदिनुस् भन्ने आग्रह गर्दछौँ।’

राईले मुख्यमन्त्री आचार्यले आफ्ना पदबाट राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर पदबाट हटाउने चेतावनी समेत दिए।

तपाईंहरू प्रदेश सरकारको नेतृत्वका लागि गठबन्धनमा दाबी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा उनले यो केन्द्रबाटै निर्णय भएर आउने र माथि जे सरसल्लाह र निर्णय हुन्छ प्रदेशमा सोहीअनुरूप गर्ने उत्तर दिए।

उनले निर्वाचन आयोगले आधिकारिकता दिएपछि प्रदेश नम्बर १ को प्रदेश सभामा आफ्नो पार्टीको संसदीय दलको बैठक बसेर आवश्यक प्रक्रिया सुरु गर्ने बताए।

उनले आयोगले भदौ २२ पछि आधिकारिकता दिन सक्ने उल्लेख गरे। जसअनुसार पहिलो बैठक २३ गते हुनसक्ने स्पष्ट पारे।

प्रदेश नम्बर १ को प्रदेश सभा ९३ सदस्यीय छ। यसमा माओवादीका नेता टङ्क आङ्बोहाङ एमालेमा गएका कारण उनको पद खारेज भएपछि हाल ९२ सांसद् छन्। जसमा १० जना एकीकृत समाजवादीमा गएपछि एमालेका अब ५१ बाट ४१ सांसद् भएका छन्। मुख्यमन्त्री आचार्यलाई आफ्ना पक्षमा बहुमत ४७ सांसद् आवश्यक पर्छ। यसरी आचार्य अल्पमतमा परिसकेका छन्।

त्यस्तै नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, सङ्घीय समाजवादीका ३ तथा राप्रपा र संयुक्त राष्ट्रिय लोकतान्त्रिक मञ्चका १–१ सांसद् छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell