वीरगंज : जनता समाजावादी पार्टी नेपालबाट टुक्रिएर बनेको लोकतान्त्रिक समाजावादी पार्टी नेपालका संघीय सांसद विमल श्रीवास्तवले उपेन्द्र यादवले उत्तरी शक्तिसँग मधेशको सौदाबाजी गरेको आरोप लगाएका छन्। सौदावाजीको 'डेलिभर' गर्न भने बाँकी रहेको उनले बताए।
नारायणी अस्पताल वीरगंजमा नवनिर्मित अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै उनले जसपा अध्यक्ष उपेन्द्र यादवमाथि आरोप लगाएका हुन्। उनले उपेन्द्र यादवले उत्तरी शक्तिको एजेन्ट भएर पनि काम गरिरहेको आरोप लगाए। उनले यादवको बहुरुपीया प्रवृत्तिले मधेशको कल्याण नहुने पनि दावी गरे।
'उपेन्द्र यादवले मधेसको युवालाई फसाएर मधेसको सौदाबाजी गर्ने र जहिले पनि आफनो स्वार्थ सिद्ध गर्न मात्र ततपर रहे,' उनले भने।
गत शनिवार उपेन्द्र यादवले वीरगंजको नगरसभामा आयोजित अभिमुखिकरण कार्यक्रममा सम्बोधन गर्दै लोसपा नेताहरुको आलोचना गरेका थिए। त्यसैको काउन्टरमा श्रीवास्तवले यादवको आलोचना गरेका हुन्। उनले उपेन्द्र यादवकै स्वार्थी प्रवृतिको कारण आफुले महन्थ ठाकुरको पार्टीमा गएको पनि बताए।
'उपेन्द्र यादवले जसको बलमा पर्सामा खुटा टेकेका थिए,तिनै नेतालाई विगतमा विदेशी शक्तिको इशारामा ६ महिना सम्म कारबाही गरे। उपेन्द्रले जहिले पनि पद,पैसा र विलासिताको लागि मधेशलाई बेच्ने खेलामा लागे,' उनले भने।
उपेन्द्र यादवले पद र मन्त्रालयका लागि विलासी भएको भन्दै श्रीवास्तवले यादवले डेढ करोडको नयाँ कार किनेको दाबी गरे। 'एम्बेसीको उपहार होला वा उसले जसको एजेन्टको रुपमा काम गरेका छन् ती मालिकले दिएको पैसाले किनिएको होला,' उनले भने।