PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता



नेत्र तामाङ

कांग्रेस सभापतिमा कल्याण गुरुङको उम्मेदवारी, यस्ता छन् उनका प्रतिवद्धता

काठमाडौं : कल्याण गुरुङले १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। अनामनगरस्थित युनियन हाउसमा एक कार्यक्रम गर्दै गुरुङले उम्मेदवारी घोषणा गरेका हुन्।

कांग्रेस सत्तामा पुगे पनि जनताले केही परिवर्तन महसुस नगरेको उनले बताए। गुरुङले पार्टीमा व्यक्तिवाद हावी भएको आरोप समेत लगाए।

'कांग्रेस सत्तामा पुगेपछि ५ वर्ष टिकाउन सकेन। कांग्रेस सत्तामा गएपछि केही परिवर्तन आउँछ कि भनेको तर आएन,' उनले भने, 'उही व्यक्ति, उही सोच। २०४८ देखि दोहोरिरहेको छ कांग्रेसमा। शासन व्यवस्था परिवर्तन भए पनि सोच र प्रवृत्तिमा परिवर्तन भएन,' उनले भने।

कांग्रेसका नेता/कार्यकर्ताहरुले र युवाहरुले परिवर्तन खोजेको भन्दै उनले प्रश्न गरेका थिए। 'युवा पुस्ताका साथीहरु खोजे मैले। ६० वर्ष मुनिका मानिस योग्य छैनन्? वीपी कोइराला ३३ वर्षको उमेरमा कार्यवाहक भए। ३९ वर्षमा सभापति भए,' उनले भने।

वीपी कोइराला ५० वर्षकै उमेरमा प्रधानमन्त्री भएको स्मरण गर्दै उनले उनले पार्टी सभापति शेरबहादुर देउवा ५२ वर्षको उमेरमा प्रधानमन्त्री बनेका र त्यसपछि पनि पटकपटक प्रधानमन्त्री भएको र वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सभामुख भइसकेको बताए।

'युवाहरु सक्षम छैन त अहिले?,' उनले फेरि प्रश्न गरे र भने, 'कांग्रेसको नयाँ पुस्ता पार्टी र देशको नेतृत्व गर्न सक्षम छ।'

उनले जितको अत्यन्तै नजिक भएकाले नै सभापति पदमा उम्मेदवार बनेको दावी गरे। उम्मेदवारी दिएको पदमा नै 'नोमिनेसन' दिनुपर्ने भन्दै उनले पदलाई 'बार्गेनिङ टुल' बनाउन नहुने बताए।

कांग्रेस सभापति देशको वैकल्पिक प्रधानमन्त्री  भएको बताउँदै आफूले त्यसैका लागि उम्मेदवारी दिएको बताए।

उनले आफू सभापति भए गर्ने कामहरुको खाकासमेत प्रस्तुत गरे। उनले गरेका प्रतिवद्धताहरु :

  • दुई पटकमात्र मन्त्री हुन पाउने। दुई पटकमात्र प्रधानमन्त्री हुने संवैधानिक व्यवस्था गर्न पहल गर्ने। विधानमा पनि यही गर्ने पहल गर्ने।
  • समानुपातिक सांसद एक पटकमात्रै हुने व्यवस्था गर्ने
  • एक व्यक्ति एक पद, केन्द्रीय सदस्य र पदाधिकारीमा दुई पटकमात्र।
  • स्थानीय तहमा ५० प्रतिशत महिला प्रमुख हुने व्यवस्था गर्ने
  • एकपटक पुरुष सभामुख भए अर्को पटक महिला सभामुख
  • सम्पत्ति विवरण नबुझाए क्रियाशील नवीकरण नहुने
  • शिक्षामा सुधार गर्दै त्यसलाई अनिवार्य र नि:शुल्क गर्ने
  • सबै अस्पताल राष्ट्रियकरण गर्ने व्यवस्था गर्ने
  • पार्टी भित्रको सबै गुटबन्दी अन्त्य गर्ने
  • कडाभन्दा कडा कानुन बनाएर ६ महिनाभित्र भ्रष्टाचार शून्य देश बनाउने



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell