PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

सुदूरपश्चिमको राजनीतिमा पकड गुमाउँदै भीम रावल र लेखराज भट्ट, दल र गुट फेर्दा दुबै संकटमा



एम बम

सुदूरपश्चिमको राजनीतिमा पकड गुमाउँदै भीम रावल र लेखराज भट्ट, दल र गुट फेर्दा दुबै संकटमा

कैलाली: कुनै समय आ-आफ्नो दलभित्र सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा एकछत्र राज गर्ने नेतामध्ये थिए -डा. भीम रावल र लेखराज भट्ट। तर, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (ने क पा) विभाजनपछि भने दुवै नेता कमजोर बन्दै गएका छन्।

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पूर्ववत् अवस्थामा हुने सर्वोच्च अदालतको फैसलापछि माओवादी छाडेर एमाले रोजेका भट्टसँग प्रदेश सभामा एक सांसद मात्रै देखिए। कर्णाली प्रदेशका तत्कालीन अर्थमन्त्री झपट बोहरा उनको साथमा थिए।

लेखराजकै पछि लागेका कारण बोहराले मन्त्री र सांसद दुवै पदबाट हात धुनुपर्‍यो। भट्ट एमालेमा जाँदा केही नेता, कार्यकर्ता पनि सँगै गए। अहिले कञ्चनपुरका अध्यक्ष वीरबहादुर थापाबाहेक उनीसँग कार्यकर्ताको साथ शून्य छ।

पार्टी छोडेर अर्को दल रोजेका भट्ट जस्तै गुट फेरेका भीम रावल पनि सुदूरपश्चिममा आफ्नै विश्वास पात्रको साथ गुमाउँदै गएका छन्। रावल सुदूरपश्चिम संयोजक रहेको समयमा अछाममा पार्टी अध्यक्ष रहेका शेरबहादुर कुँवरले नै साथ छोडेका छन्। राष्ट्रिय सभा सदस्य रहेका कुँवर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को पक्षमा लागेका छन्। कुँवर सुदूरपश्चिमको राजनीतिमा प्रभाव राख्ने नेताका रूपमा परिचित छन्। २०६४ को निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्ष निर्वाचित तीन सांसदमध्ये एक उनी हुन्।

कुँवरपछि सुदूरपश्चिमको राजनीतिमा प्रभाव राख्ने नेताका रूपमा परिचित तथा रावलका विश्वासपात्र दीर्घ सोडारीले पनि साथ छाडेका छन्। सोडारीले नवगठित एकीकृत समाजवादी रोज्न कार्यकर्तालाई आग्रह गर्न थालेका छन्। सुदूरपश्चिमका जनप्रतिनिधिलाई एकीकृत समाजवादीको पक्षमा सनाखत गराउने सबैभन्दा सक्रिय भूमिकामा उनी नै छन्।

‘सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल हाम्रो नै हुन्छ अब’, सोडारीले भने, ‘१० जना साथीहरूले सनाखत गरिसक्नु भयो। अन्यसँग छलफल जारी छ। ३/४ जना सांसदले भोलि सनाखत गर्ने तयारी गरिरहेका छन्। अन्य सांसदसँग पनि छलफल जारी रहेकोले हामीलाई ढिलाइ भएको हो, हामी भोलि गर्छौँ।’

यस अघिसम्म आफू भीम रावलको खल्तीको नेता हुँ भन्दै आएकी कर्णाली प्रदेशका पूर्व उद्योग, पर्यटन, बन तथा वातावरण  मन्त्री माया भट्टले पनि साथ छाडेकी छिन्। भट्टले मंगलबार सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयमा पुगेर माधव नेपाल नेतृत्वको नयाँ दलका पक्षमा सनाखत गरिसकेकी छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापको चर्को आलोचना गर्दै आएका रावलले १० बुँदे कार्यान्वयनमा लचक बनेपछि माधव नेपालको साथ छोड्दा अधिकांश प्रदेशका नेताहरूले उनलाई छोडेका हुन्।

‘उहाँले आफूलाई आदर्श नेता र राष्ट्रियताका सवालमा निकै चम्किलो देख्नुहुन्छ’, अहिले समाजवादी दल रोजेका एक सांसदले भने, ‘तर, अन्ततः उहाँले नै खोक्रो राष्ट्रवादी बनाएका ओलीसँग नै टाँसिन जानुभयो। त्यसैले आफ्नो अडानमा बस्न नसक्ने उहाँ जस्ता नेतासँग जानुभन्दा इमानमा बस्न ठिक हो भनेर अहिले धेरैले उहाँलाई बुझेका हुन्।’

सुदूरपश्चिममा एमालेका २५ सांसदमध्ये नेपाल गुटमा हुँदा १७ जना भीम रावलसँगै थिए। एमालेको प्रदेश संसदीय दलको बैठकमै बसेर भीम रावलले ओलीले तत्कालीन गठबन्धनबाट पछि हट्न जारी गरेको निर्देशन नमान्न १७ जनालाई ह्विप लगाउने निर्णय समेत गराएका थिए। तर, अहिले उनी माधव गुट छोडेर एमालेमै रहेपछि उनीसँग २ जना सांसद मात्रै गएका छन्।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र अछामबाट प्रतिनिधित्व गर्ने रावलकै नाता पर्ने प्रदेश सभाको अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति हर्कबहादुर कुँवर छन्। पूर्व सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले कित्ता स्पष्ट बनाउन सकेका छैनन्।

सुदूरपश्चिममा मंगलबार १० जना सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, सामाजिक विकास मन्त्री लालबहादुर खड्का, पूर्व मन्त्री माया भट्ट, राज्यमन्त्रीहरू चुनकुमारी चौधरी, मनाकुमारी साउद तथा सांसदहरु दुर्गाकुमारी कामी, कुलवीर चौधरी, अमरबहादुर साउद, बलबहादुर सोडारी र सुशीला बुढाथोकीले माधव नेपालको नयाँ पार्टीको पक्षमा सनाखत गरेका छन्।

थप तीन जना यो दलको पक्षमा सनाखत गर्ने निश्चित जस्तै छ। तर एकीकृत समाजवादीका नेताहरु भने ४ जना पुग्ने दाबी गर्दै आएका छन्। तीनको ठाउँमा ४ जना पुर्‍याउन सके सुदूरपश्चिममा ठूलो दल नेपाल नेतृत्वको एकीकृत समाजवादी बन्ने छ। साथै वर्तमान गठबन्धनको सरकार कायमै रहने छ।

योभन्दा अघिसम्म माओवादीमा लेखराज र एमालेमा रावलको प्रभाव रहेको सुदूरपश्चिममा अब भने उनीहरू कमजोर देखिएका छन्। अहिले दुवै जना एमालेमै छन्। तर, प्रदेशमा उनीहरूको पक्षमा बढीमा ११ जना सांसद मात्रै पुग्ने अवस्था बनेको छ। त्यो ११ जनामा पनि ७ जना यसअघि ओली पक्षमै रहेका सांसद हुन्।

लेखराजको पक्षमा प्रदेश सभामा एक जना पनि सांसद छैनन्। रावलको पक्षमा बढीमा ४ जना पुग्ने देखिएको छ। त्यसमा पनि २ जनाको टुङ्गो लाग्न बाँकी छ।

सुदूरपश्चिममा एमालेका २५ सांसदमध्ये १३ माधव नेतृत्वको दलमा खुलेका छन्। अन्य दलहरूमा माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादीका २ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell