PahiloPost

Sep 19, 2024 | ३ असोज २०८१

रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी



पहिलोपोस्ट

रोनाल्डो बने सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी

पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पुरुष फुटबलमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका छन्। गएराति सम्पन्न विश्वकप क्वालिफायर्स अन्तर्गतको खेलमा आयरल्याण्डविरुद्ध दुई गोल गरेका उनी सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्। यसअघि रोनाल्डोले १०९ गोल गर्दै इरानका खेलाडी अलि डेइसँग सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमै थिए। गएरातिको खेलमा गोल गरेसँगै १११ गोल गरेर अलिलाई पनि पछि पार्दै सर्वाकालिन सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी बनेका हुन्।

जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने अलिले सन् २००३ मा हंगेरियन लेजेन्ट फेरेन्क पुस्कासको ८५ अन्तर्राष्ट्रिय गोलको कीर्तिमान भंग गर्दै आफ्नो कीर्तिमान बनाएका थिए। कुल १०९ गोल गरेका उनले ९५ गोल एसियन टिमविरुद्ध गरेका थिए। जसमा माल्दिभ्सविरुद्ध सर्वाधिक ८ गोल र लेबनानविरुद्ध ६ गोल गरेका थिए।

विश्वकप छनोट अन्तर्गतको समूह ए को खेलमा पोर्चुगलले आयरल्याण्डलाई २-१ ले हराएको थियो। खेलको १५ औं मिनेटमै रोनाल्डो पेनाल्टीमा चुक्दा पोर्चुगलले अग्रता बनाउने अवसर गुमाएको थियो। उता आयरल्याण्डका जोन एगनले ४५ औं मिनेटमा गोल गर्दा पहिलो हाफमा आयरल्याण्ड एक गोलले अघि रह्यो। दोस्रो हाफमा भने पोर्चुगल खेलमा फर्कन सफल भयो। खेलको ८९ औं मिनेट र इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै पराजयको निकट पुगेको खेलमा आफ्नो जित सुरक्षित गर्न सफल रहे।

रोनाल्डोको गोल कुन प्रतियोगितामा कति?

विश्वकप छनोट ३३ गोल

युरोपियन च्याम्पियनसिप क्वालिफायर्स ३१

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण : १९

युरोपियन च्याम्पियनसिप : १४

विश्वकप: ७

यूईएफए नेशन्स कप: ५

कन्फिडरेसन कप : २

यसमध्ये रोनाल्डोका अधिकांश गोलहरु (लगभग) खेलको अन्तिम ३० मिनेटमा आएका छन्। त्यस्तै ३३ पटक अन्तिम १५ मिनेटमा गरेका छन्। त्यस्तै २२ गोल ६१ देखि ७५ मिनेटको बीचमा गरेका छन्। त्यस्तै उनले सर्वाधिक गोल गरेका दुई टिम लिथुवानिया र स्वीडेन हुन्। दुबै टिमविरुद्ध उनले ७/७ गोल गरेका छन्।

रोनाल्डो र अलिपछि सर्वाधिक गोलगर्ने खेलाडीको सूचिमा मलेसियन खेलाडी मोख्तर दहारी रहेका छन्। उनले ८९ गोल गरेका छन्।

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले रोनाल्डोलाई बधाइ दिँदै उनी नेसनल हिरोमात्र नभएर अन्तर्राष्ट्रिय आइकनसमेत भएको बताए। उनले विश्वभरका फुटबल खेलाडीलाई इन्सपायर गरेको बताउँदै दुई दशकसम्म उच्च तहमा  देशका लागि खेल्न सक्नु सम्मानको विषय भएको प्रतिकृया दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell