PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

बन्द सिनेमा हलहरु खोल्न सरकारले दियो अनुमति तर संचालक भन्छन्, ‘फिल्म नै छैनन्, के हल चलाउनु?’



लक्ष्मी बलायर

बन्द सिनेमा हलहरु खोल्न सरकारले दियो अनुमति तर संचालक भन्छन्, ‘फिल्म नै छैनन्, के हल चलाउनु?’

काठमाडौं : कोरोना भाइरस संक्रमणका कारण लागू गरिएको निषेधाज्ञाका वैशाखको दोस्रो सातादेखि बन्द भएको काठमाडौं उपत्यकाका फिल्म हलहरु आजबाट संचालनमा आउँदैछन्। बुधवार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरुको बैठकले कोभिड १९ को नियमको पालना गर्दै उपत्यकामा फिल्म हल सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो।

स्वास्थ्य मापदण्ड पालना गरेर आजबाट हल सञ्चालन गर्ने अनुमति दिने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीयो)कालिप्रसाद पराजुलीले जानकारी दिए। अहिले संक्रमण दर घटेसँगै ‘स्मार्ट लकडाउन’को कार्यविधिअनुसार हल खोल्न पाउने निर्णय गरेको उनले बताए।

प्रशासनले फिल्म हल खोल्ने निर्णय गरेसँगै फिल्मकर्मी र सिनेमा हल व्यवस्थापन खुशी भएका छन्। यद्यपि, तत्काल नै नयाँ फिल्म हलहरुमा लाग्ने सम्भावना भने कम रहेको छ। पहिलोपटक लकडाउन र निषेधाज्ञापछि खुलेका हलहरुले अपेक्षा गरिएअनुसार व्यापार गर्न सकेनन्। कही नयाँ फिल्मबाहेक धेरै फिल्महरु होल्डमा नै रहे। हलहरुमा निषेधाज्ञा हटेपनि अहिले पनि संक्रमणको अवस्था कायम रहेकोले तत्काल नयाँ फिल्महरु प्रदर्शन नहुने सरोकारवालाहरु बताउँछन्।

क्युएफएक्सका सीइओ रोशन अडिगाले फिल्म हल खोल्ने निर्णय राम्रो भएपनि तत्काल नै फिल्म हल खोल्न नसकिने बताउँछन्।

हल खोल्नलाई फिल्म चाहिने र फिल्म नपाएसम्म हल नखोल्ने उनको तर्क छ। भन्छन् ‘फिल्मको लागि वितरकसँग कुरा गरिरहेका छौँ। तुरुन्तै भने हल खुल्ने अवस्था छैन। फिल्म हातमा परेपछि भने खुल्छ। यत्तिकै हल खोल्दा निकै घाटा हुन्छ। पहिले लकडाउनपछि पनि हल खोलेर राम्रो फिल्म नपाउँदा हामीले घाटा ब्यहोर्नुपर्‍यो। अब राम्रोसँग बुझेर ठुलो फिल्म आएपछि मात्रै हल खोल्ने विचार छ।’

यसअघि सिनेमा घर खुल्दा पुराना फिल्महरु प्रदर्शन गरिएपनि दर्शकहरुको उपस्थिति निकै न्यून थियो। नयाँ फिल्महरुले ‘रिक्स’ नै उठाउन चाहेनन्। त्यसैले अहिले पुरानो नेपाली फिल्म देखाएर काम नहुने र नयाँ फिल्म दिँदा निर्माताहरूलाई पनि जोखिम हुने उनले बताएका हुन्।

क्युज सिनेमाका सञ्चालक सुमित मैनाली प्रशासनले हल खोल्ने दिएको अनुमतिको स्वागत गर्छन् तर आजैदेखि फिल्म प्रदर्शन नहुने बताउँछन्। उनले पनि अहिले नयाँ नेपाली फिल्म हलहरुमा प्रदर्शन हुने सम्भावना नरहेको बताए।

‘सुरुमा हल सरसफाई गर्ने काम हुन्छ। हामीले हल खोलेर हिन्दी फिल्म चलाएर माहोल बनाएपछि मात्रै नेपाली फिल्म चलाउने अवस्था आउँछ। तत्काल कुनै नयाँ फिल्महरू पनि छैनन्। कुनै बलिउडको ठुलो फिल्म आयो भने त्यसले वातावरण राम्रो बनाउँदा अलि लाइनअप हुन्छ भन्ने आश छ,’ उनले पहिलोपोष्टसँगको कुराकानीमा बताए।

साथै, अहिले कोरोना भाइरसको संक्रमण रहैकै माहोलबिच हल खोल्दा खर्च बढ्ने उनको तर्क छ। ओटीटीमा रिलिज भएका केही नयाँ नेपाली फिल्मलाई सिनेमा हलसम्म ल्याउन सकिने उनी बताउँछन्।

एक साताअघि मात्रै सीताराम कट्टेल(धुर्मुस)र कुन्जना घिमिरे(सुन्तली)को फिल्म ‘म त मर्छु कि क्या हो’ ‘ओ हो मुभि’ ओटीटीमा रिलिज भएको थियो। ‘सो फिल्म सेन्सर नभएर सिधैँ ओटीटीमा राखिएको छ। त्यसको सेन्सर प्रकिया हुनुपर्छ। साथै फिल्मको लेन्स पनि कम छ। सायदै त्यो फिल्म हलमा नआउन सक्छ’ उनले भने।

आगामी सेप्टेम्बरसम्म भारतका सबै क्षेत्रमा हल खोल्ने भनिएको छ। जसले गर्दा दशैँसम्म नेपाली फिल्महरू पनि हलमा आउने कुरामा आशावादी छन् मैनाली।

एफ क्युब सिनेमाका व्यवस्थापक रामहरि कोइराला पनि हल खोल्ने निर्णयले निकै खुसी सुनिए। तर हल चलाउन नयाँ फिल्म कुर्नुबाहेक विकल्प नरहेको उनको भनाई छ।

‘पहिले सरसफाईको कार्य नै हुन्छ। अहिले फिल्म नै छैन। फिल्म नहुँदा त के हल चलाउनु। अहिले पुराना फिल्म पनि चलेर सकिसकेका छन्। त्यस्तो फिल्महरु हामीले चलाउँदैनौँ,’ उनी भन्छन्, ‘बरू आगामी साता एउटा हलिउड फिल्म आउदैँ छ। यदि कसै वितरकले किनेको खण्डमा रिलिज गर्न सकिन्छ। हललाई कसरी चलायमान बनाउन सकिन्छ भन्नेमा छलफल पनि गरिरहेका छौँ। अहिले पर्ख र हेर को अवस्था बाहेक कुनै उपाय छैन।’

सरकारले सावधानी अपनाएर फिल्म खोल्न भनेता पनि चलचित्र विकास बोर्डले कति राखेर चलाउन पाउने भनेर भन्नुपर्ने उनी बताउँछन्।

हलहरु खुलेपनि फिल्म निर्माताहरुले नयाँ फिल्महरु देखाउन मानिरहेका छैनन्। डेढ वर्षअघि नै रिलिज मिति तय भइसकेका 'म यस्तो गीत गाउँछु २', 'निरफूल', 'लक्का जवान' लगायतका फिल्महरु अझै होल्डमा छन्। अहिले हलहरु संचालनमा आउने सुरुवातकै समयमा यी फिल्महरु लाग्ने सम्भावना देखिँदैन। हाल देशभर कोरोनाविरुद्ध भ्याक्सिन अभियान संचालन भइरहेको अवस्थामा आउने केही हप्तामा दर्शकहरु फिल्महरु प्रति आकर्षित हुने फिल्म निर्देशक एवम् निर्माताहरुको आशा छ। केही हप्तापछिको प्रतिक्रियाले नयाँ फिल्म चल्ने नचल्ने बारे निर्णय हुने उनीहरु बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell