PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

कोभ्याक्स सुविधाको खोप लिन उत्तर कोरियाले गर्‍यो अस्वीकार : हामीलाई पर्दैन, अति प्रभावित देशलाई देऊ



पहिलोपोस्ट

कोभ्याक्स सुविधाको खोप लिन उत्तर कोरियाले गर्‍यो अस्वीकार : हामीलाई पर्दैन, अति प्रभावित देशलाई देऊ
कोभ्याक्स सुविधा मार्फत नेपाल आइपुगेको भ्याक्सिन, फाइल फोटो।

उत्तर कोरियाले आफ्ना लागि छुट्याइएको कोभिड-१९ विरुद्धको खोप लिन अस्वीकार गरेको छ। कोभ्याक्स सुविधा मार्फत् उत्तर कोरियाका लागि पठाउन लागिएको चिनियाँ खोप लिन उसले अस्वीकार गरेको युनिसेफले जनाएको छ।

उत्तर कोरियाको जनस्वास्थ्य मन्त्रालयले २.९७ मिलियन डोज भ्याक्सिन कोभिड-१९ बाट अति प्रभावित देशहरुका लागि छुट्याइयोस् भनेर पत्र पठाएको थियो। उसले खोपको विश्वव्यापी आपूर्ति सीमित भएको भन्दै अति आवश्यक परेका देशलाई आफ्ना लागि छुट्याएको खोप उपलब्ध गराउन आग्रह गरेको युनिसेफका प्रवक्ताले भीओए कोरियालाई जानकारी दिएका छन्।

कोभ्याक्स कोभिड-१९ विरुद्धको खोप वितरण गर्ने अन्तर्राष्ट्रिय कार्यक्रम हो। यसले अति कम विकसित देशहरुमा खोप अनुदानमा उपलब्ध गराउँदै आएको छ। सो खोप युनिसेफले वितरण गर्दै आएको छ।

‘जनस्वास्थ्य मन्त्रालयले आगामी महिनाहरुमा कोभ्याक्स सुविधा मार्फत् खोपको लिने विषयमा कोभ्याक्ससँग सम्पर्क गर्ने समेत बताएको छ,’ युनिसेफका प्रवक्ताले भनेका छन्।

प्योङयाङमा हालसम्म कुनै पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छैन। डब्लुएचओलाई उत्तर कोरियाले बुझाएको तथ्यांक अनुसार हालसम्म त्यहाँ ३७ हजार २९१ परीक्षण भएको छ। अगस्ट १९ सम्मको यो परीक्षणका क्रममा सबै नतिजा नेगेटिभ आएको उल्लेख छ।

यद्यपि, उक्त संख्यामा आशंका समेत व्यक्त हुँदै आएको छ। उत्तर कोरियाले भाइरसविरुद्ध कडा मापदण्ड लागू गर्दै सीमा बन्द र आन्तरिक यात्रमासमेत प्रतिबन्ध गरेको छ।

डब्लुएचओका प्योङ्याङ कार्यालय प्रमुख एडविन साल्भाडोरले गत अगस्ट १९ मा कोभ्याक्स सुविधा मार्फत् उत्तर कोरियाका लागि २.९७ मिलियन डोज चिनियाँ सिनोभ्याक खोप छुट्याइएको र उत्तर कोरियाका अधिकारीहरुको प्रतिक्रियाको पर्खाइमा रहेको बताएका थिए।

युनिसेफले उत्तर कोरियाको सहभागिताका विषयमा पूर्ण जानकारी नभएको भन्दै खोप आपूर्तिमा लागि ढिलाइ भइरहेको बताउँदै आएको थियो।

त्यहाँको सीमित स्वास्थ्य पूर्वाधारका कारण फाइजर र मोडेर्ना खोपको आपूर्ति असहज भएको भन्दै चिनियाँ खोप छुट्याएको थियो।

गत जुलाईमा उत्तर कोरियाले अस्ट्राजेनेकाको भ्याक्सिन लिन अस्वीकार गरेको थियो। दक्षिण कोरियाको इन्स्टिच्युट अफ सेक्युरिटी स्ट्राटेजीको रिपोर्ट अनुसार त्यतिबेला अस्ट्राजेनेका खोपको साइड इफेक्टप्रति चासो देखाउँदै अस्वीकार गरेको थियो। उसले चिनियाँ खोपको प्रभावकारिताप्रति चासो दिएको थियो। तर, उत्तर कोरिया रसियाको स्पुतनिक भी प्रति भने सकरात्मक देखिएको रिपोर्टमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell