PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

नेपालमा क्लिनिकल ट्रायल हुने चिनियाँ खोप ‘आर्कोभ’ : दुई वर्ष अघिको स्टार्ट अप कम्पनीको अनुसन्धान, सरकारको साथ र ठूलो कम्पनी साझेदार



विधुर ढकाल

नेपालमा क्लिनिकल ट्रायल हुने चिनियाँ खोप ‘आर्कोभ’ : दुई वर्ष अघिको स्टार्ट अप कम्पनीको अनुसन्धान, सरकारको साथ र ठूलो कम्पनी साझेदार
Photo : Getty Image

काठमाडौं : नेपालमा पहिलो पटक कोभिड-१९ विरुद्धको खोपको क्लिनिकल ट्रायलको तयारी भइरहेको छ। धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुने ट्रायलमा तीन हजार स्वयंसेवीको सहभागितामा हुने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डाक्टर प्रदीप ज्ञवालीले जानकारी दिए। 

कोभिड-१९ विरुद्धको एमआरएनए खोपको तेस्रो चरणको ट्रायलका लागि चिनियाँ खोपले तयारी गरिरहेको छ। चिनियाँ खोप उत्पादक कम्पनीले नेपालको देउराली जनता फर्मास्युटिकल्ससँग साझेदारी गरी परीक्षणको तयारी गरिरहेको छ। 

कुन खोपको हुँदै छ परीक्षण?
नेपालमा क्लिनिकल ट्रायलको तयारी गरिरहेको खोप हो  ‘एआरकोभ’। यसलाई वालभ्याक्स कोभिड-१९ भ्याक्सिन भनेर पनि चिनिन्छ। यो ‘एमआरएनए कोभिड-१९ भ्याक्सिन’ क्यान्डिटेटलाई चीनको जनमुक्ति सेनाको मिलिटरी साइन्स एकेडेमी र सुचौमा रहेको एबोजन वायो साइन्स र वालभ्याक्स वायोटेक्नोलोजीले विकास गरेको हो। 

हाल प्रभावकारी देखिँदै आएको एमआरएनए पद्धतीबाट विकास भएको यो खोपलाई क्लिनिकल ट्रायलका लागि सरकारले अनुमति दिने निर्णय गरिसकेको छ। 

सम्बन्धित समाचार
खोप सुनिश्चितताका लागि क्लिनिकल ट्रायल : ट्रायलका लागि नेपालले अनुमति दिएको एमआरएनए भ्याक्सिन कस्तो?  

यो भ्याक्सिन चीनमा क्लनिकल ट्रयालका लागि अनुमति पाउने पहिलो एमआरएन कोभिड-१९ भ्याक्सिन हो। यो भ्याक्सिन सामान्य रेफ्रिजेरेटरको तापक्रममा भण्डारण गर्न मिल्छ। यो खोपलाई २-८ डिग्री तापक्रममा ६ महिनासम्म भण्डारण गर्न सकिने उल्लेख छ। 

नेपालजस्तो भण्डारण पूर्वाधार पर्याप्त नभएका देशमा यसको भण्डारण र ओसारपसारमा सहज हुने अपेक्षा गरिएको छ। नेपालमा वालभ्याक्सको प्रायोजनमा देउराली जनता फर्मास्युटिकल्सले नेपाली लोकल पार्टनरको रुपमा क्लिनिकल ट्रायल गर्न लागिएको छ। 

यस खोपको क्लनिकल ट्रायलका लागि आवेदन परेपछि स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको बारेमा वैज्ञानिक आधारहरु, इथिकल रिपोर्ट जाँचबुझ गरी सरकारलाई सिफारिस गरेको थियो। सोही अनुसार मन्त्रिपरिषदले निर्णय गरेको हो। अब यो खोपलाई परीक्षणका लागि औषधी व्यवस्था विभागबाट अनुमतिपत्र लिनुपर्ने हुन्। विभागले स्वीकृति गरेपछि अनुसन्धान परिषद्ले यसको प्रक्रियालाई अगाडि बढाउँछ। 
ट्रायल साइट, कम्पनीसँग छलफल गरी परीक्षणका लागि अनुमति दिइनेछ। 

दुई वर्ष अगाडि स्थापना भएको थियो कम्पनी
दुई वर्ष अगाडि मात्र स्थापना भएको सुचौमा अवस्थित एक वायोटेक कम्पनी अहिले वालभ्याक्ससँग मिलेर चीनको पहिलो एमआरएनए कोभिड-१९ भ्याक्सिन उत्पादन गर्न सफल भएको छ। जुन विकासको अन्तिम चरणमा छ। 

मे ११ मा मेक्सिकोका विदेशमन्त्री कार्सेलो एवार्डले चीनमा विकास भएको एमआरएनए कोभिड-१९ भ्याक्सिन आफ्नो देशमा तेस्रो चरणको ट्रायलको तयारी भइरहेको घोषणा गरेका थिए। 

यस घोषणाले पश्चिमा विकासकर्ताहरुले सफल रुपमा प्रयोग गरेको एमआरएनए पद्धतीलाई चीनले पनि अंगिकार गर्योो। यो क्यान्डिडेटको विकास एबोजन इंकले गरेको हो। जुन २०१९ को जनवरीमा सुचौको वायोवे एरियामा सुरु भएको स्टार्टअप कम्पनी हो। 

यस कम्पनीका संस्थापक बो यिङ मोडर्ना इन्कको भेन्चरको रुपमा रहेको अनकाइडो थेपापिटिकमा काम गर्ने कर्मचारी हुन्। त्यस अगाडि उनले डिसेर्ना फर्मास्युटिकलमा पनि काम गरिसकेका थिए। 

बोस्टनमा रहेको मोडेर्ना एमाआरएनए कोभिड-१९ खोपको सफल विकास र उत्पादन गर्ने दुई मध्येको एक उत्पादक हो। मोडर्नाबाहेक फाइजर/वायोएनटेकले एमआरएनए पद्धतीबाट कोभिड-१९ को खोप उत्पादन गरिरहेको छ। 

बो यिङले सात वर्ष आरएनए प्रविधिमा रहेर दुई फरक संस्थामा अध्ययन अनुसधान र काम गरेका थिए। 

एउटा सानो भर्खरै सुरुवात भएको कम्पनीको लागि एमआरएनए खोपको विकास एउटा फरक बल गेम जस्तै भएको उनले बुझे। त्यसैले उनले ठूलो तथा स्थापित कम्पनीसँग साझेदारी गरेर खोप उत्पादन गर्ने अठोट गरे। सोही अनुसार गत वर्ष मेको अन्त्यमा एबोजनले वालभ्याक्स वायो टेक्नोलोजीलाई साझेदारको रुपमा छनोट गर्योर। सेनचनमा स्टक मार्केट लिस्टेड वालभ्याक्स पहिलोपटक चीनमा एमआरएनए कोभिड-१९ भ्याक्सिनको विकासमा हाम फालिहाल्यो। 

२०२० को अगस्टमा यीङ सहितका अनुसन्धानकर्ताहरुले पहिलो चरणको अनुसन्धान प्रकाशित गरेका थिए। यससँगै भ्याक्सिनले क्लिनिकल ट्रयालका रेकर्डहरु तोड्दै आएको छ।

२०१९ को जनवरीमा यीङले स्टार्टअप खडा गरी एमआरएनए भ्याक्सिनको विकासको पहिलो महत्त्वपूर्ण योजना अगाडि सारेका थिए। उनको महत्त्वकांक्षामा कोभिड-१९ महामारीले सकारात्मक प्रभाव पार्‍यो। वालभ्याक्ससँगै उनको यो अध्ययनमा चीनको मिलिटरी एकेडमीले पनि सुरुदेखि नै साझेदारका रुपमा काम गरिरहेको छ। 

अमेरिकाबाट फर्केका विज्ञले सुरु गरेको स्टार्टपमा देशभित्रैका ठूलो खेलाडीको र महत्त्वपूर्ण अनुसन्धान संस्था र सरकारको सहयोगका कारण आधिकारिक रुपमा चीनले आफ्नो पहिलो एमआरएनए भ्याक्सिन यही वर्षभित्र प्रयोगका लागि विकास हुने घोषणा गरिसकेको छ। २०२० को मेमा एबोजनले चीनको नियमक निकाय नेशनल मेडिकल प्रोडक्ट एडमिनिस्ट्रेशनबाट ग्रिन सिंग्नल प्राप्त गरेको थियो। त्यसयता स्टार्टअफका ९ साझेदार बिदा नभनी अनुसन्धानमा खटिरहे। 

चीनले यसको क्लिनिकल ट्रयालको अनुमति २०२० को जुनमा दिएको थियो। 

चीनले एमआरएनए भ्याक्सिनको प्लान्ट निर्माणको अनुमति २०२० को डिसेम्बरमै दिएको छ। जुन ८ महिनामा पूर्ण रुपमा सञ्चालनमा आउने र वार्षिक १२० मिलियन डोज उत्पादन गर्न सक्ने बताइएको थियो। 

चीनमा तेस्रो चरणको लागि अनुमति पाएको ‘आर्कोभ’ले मेक्सिकोमा अगस्ट १९ र इन्डोनेसियामा अगस्ट २७ मा अनुमति पाइसकेको छ। 

गत मे देखि नै मेक्सिकोमा क्लिनिकल ट्रायल सुरु हुने बताइएको भए पनि ढिलो भएको थियो। क्लिनिकल ट्रायलका लागि अनुमति पाएसँगै वालभ्याक्सले अनुसन्धान र विकासमा लगानी बढाउने घोषणा गरिसकेको छ।  

नेपाल सरकारले क्लिनिकल ट्रायलका लागि अनुमति दिएको तीन दिनमा उसले अनुसन्धान र विकासमा लगानी बढाउने घोषणा गरेको थियो। यसको क्लिनिकल ट्रायल युनान प्रान्त र क्वाङसी चुवाङमा भएको छ। 

वालभ्याक्सले युनानमा एमआरएनए कोभिड-१९ भ्याक्सिन उत्पादनका लागि ठूलो प्लान्ट तयार गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell