PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

देउवाविरुद्ध संस्थापन इतरका नेताहरु एक ठाउँमा, महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा



नेत्र तामाङ

देउवाविरुद्ध संस्थापन इतरका नेताहरु एक ठाउँमा, महाधिवेशनमा साझा उम्मेदवार ल्याउने घोषणा

काठमाडौं : नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा इतरको ठूलो समूहले एकीकृत हुँदै एकमात्र उम्मेद्वार अघि सार्ने प्रतिवद्धता जाहेर गरेको छ। 'हामी पार्टीभित्र चुनावमा एउटा मात्र उम्मेदवार बनाउँछौ भन्ने आश्वास्त पर्न चाहन्छु देशभरिका साथीहरूलाई,' पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता रामचन्द्र पौडेलले भने। 

पार्टी कार्यालय सानेपामा संस्थापन इतरको पत्रकार सम्मेलनमा बोल्दै उनले सभापतिमा देउवाविरुद्ध सामुहिक रुपमा प्रतिस्पर्धा गर्ने बताएका हुन्। यसअघि सभापति देउवासँग लामो समय सहकार्य गर्दै आएका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन्। उनको उम्मेदवारी र संस्थापनइतरको आजको अभिव्यक्तिले नेपाली कांग्रसको महाधिवेशन रोचक मोडमा पुगेको छ।

कांग्रेसमा अलग्गै अस्तित्वमा रहेको दावी गर्दै आएका नेता कृष्ण सिटौला भने अनुपस्थित थिए। पौडेलसँगै महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुन नरसिंह केसी, सुजाता कोइराला, मिनेन्द्र रिजालदेखि गगन थापासम्म पत्रकार सम्मेलनमा उपस्थित थिए। यी सबैको उपस्थितिले देउवाविरुद्ध कांग्रेसभित्र बलियो गठबन्धन हुनसक्ने देखाएको छ। तर, कांग्रेसको महाधिवेशनसम्म यो समूह यसरी नै अगाडि बढ्छ भन्न चाहिँ सकिन्न।

तर, पत्रकार सम्मेलनमा पौडेलले यो समूहको एकतामा कुनै पनि आधारमा टुट नहुने दावी गरेका छन्। पौडेलले यो समूहले उम्मेदवारको छिट्टै नै फाइनल गर्नेसमेत उद्‍घोष गरे। पत्रकार सम्मेलनमा सभापति र प्रधानमन्त्री देउवाप्रति पौडेलले कडा टिप्पणी गरेका थिए। 

'दुई तिहाईको सरकार असफल भएपछि कांग्रेसको काँधमा सत्ता आएको छ। तर, कांग्रेसको सत्ताले पनि जनतालाई खुसी दिलाउन सकेन,' पौडेलले भने। उनले पार्टी लोकतान्त्रिक हुनुपर्ने र विधि, पद्धतिबाट चल्नुपर्ने बताए। चार वर्षमा हुनुपर्ने महाधिवेशन ५ वर्षमा पनि नभएको बताउँदै ६ महिनाको टेको समाएर महाधिवेशन शुरु भएकोमा पनि उनले असन्तुष्टि जनाएका थिए। 

कांग्रेसमा अझै क्रियाशील सदस्यताको विवाद कायम रहेको बताउँदै उनले त्यो पारदर्शी होस् भनेर संघर्ष गर्नुपरेको सुनाए। 

'पार्टीलाई सुधारेर जनताको भरोसाको केन्द्र बनाउन यो टिम चाहन्छ,' पौडेलले भने, 'हामीले यस अधिवेशनमा विचार मिल्ने साथीहरुसँग एकता गर्ने कुरामा विश्वास गर्छौ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell