PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

माधव नेपालको रणनीति : पहिला शक्ति बटुल्ने अनि मात्रै सरकारमा जाने



पहिलोपोस्ट

माधव नेपालको रणनीति : पहिला शक्ति बटुल्ने अनि मात्रै सरकारमा जाने

काठमाडौं : डेढ महिनाभन्दा बढी भयो शेरबहादुर देउवाले सरकारको नेतृत्त्व गरेको। सर्वोच्चको परमादेशसँगै केपी शर्मा ओली अपदस्थ भएपछि देउवाले गठबन्धन सरकार बनाएका थिए। तर दलहरु बिचको आन्तरिक किचलोका कारण मन्त्रिपरिषद् पूर्णता भने दिन सकेका छैनन्।

गठबन्धनमा सहभागी दलहरु पहिला त कतिवटा मन्त्रालय पाउने भन्ने विषयमा अल्मलिए। माधवकुमार नेपालले एमाले फुटाएर सरकारमा सहभागी हुने भनेपछि मन्त्रालय भागबण्डाले पूर्णता पाउन सकेन। देउवाले माओवादी केन्द्रबाट दुईजना र कांग्रेसबाट ३ जना मन्त्री त बनाएर तर बाँकी मन्त्रालयलाई पूर्णता दिन गठबन्धन भित्रै सहमति कायम गर्न सकेनन्।

माधवकुमार नेपालले नेकपा एमाले फुटाउँदै नेकपा एकीकृत समाजवादी पार्टी बनाएपछि तत्काल सरकार बिस्तार हुने अनुमान गरिएको थियो। तर, दलहरु बिच अझै शक्ति संघर्ष चल्दा सरकार विस्तारमा अवरोध भइरहेको छ। मन्त्रालय मन्त्रीबिहीन हुँदा नीतिगत निर्णयहरु हुन सकेका छैनन्।

दलहरु बिच मन्त्रालयको संख्यामा कुरा मिले पनि कुन मन्त्रालय कुन दलले पाउने भन्ने विषयमा सहमति हुन सकेको छैन। 'हेभिवेट' र 'मालदार' मन्त्रालयहरुमा सबै दलले दाबी गरेपछि सरकार विस्तार हुन नसकेको हो।

सरकारले पूर्णता नपाउँदा देउवाको कार्यक्षमतामा नै प्रश्न उठेको छ। सर्वत्र उनको आलोचना भइरहेको छ।

यसबिच देउवा सरकार निर्माण गर्न 'निर्णायक' भनिएका माधव नेपालले अहिले नै सरकारले पूर्णता पाउने सम्भावना नरहेको बताएका छन्।

एमाले फुटाएपछि एकीकृत समाजवादीमा प्रवेश गर्न एमालेबाट निर्वातिच प्रदेशसभा सांसद र जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मको समय छ। प्रदेश १ मा १० जना प्रदेशसभा सांसद, वाग्मतीमा १२ जना, कर्णालीमा ३ जना सांसद एकीकृत समाजवादीमा खुलिसकेका छन्। यस्तै, जनप्रतिनिधिहरु पनि एकीकृत समाजवादीमा आउने क्रम जारी छ। त्यसैले २२ गतेसम्म माधव नेपालले आफ्नो दलको शक्ति यकिन गरेर सरकारमा जाने संकेत गरेका हुन्।    

‘मन्त्रिपरिषद विस्तारका विषयमा २२-२३ गतेसम्म त कसैले पनि चुइक्क बोल्दैन। त्यस बारेमा अहिले केही चर्चा हुँदैछ। हामी त्यसका लागि पनि उपयुक्त समयमा छलफल गर्नेछौं,’ अध्यक्ष नेपालले भने।

माधवकुमार नेपालले स्पष्ट संकेत दिएका छन् - पहिला पार्टीले कति शक्ति बटुल्न हेर्न अनि त्यसपछि त्यही शक्तिका आधारमा रणनीति बनाएर सरकारमा मन्त्रालय दाबी गर्ने।

माधवले एमालेका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई एकीकृत समाजवादीमा आउन आह्वान समेत गरेका छन्। ओली र उनका मान्छेहरुले दश बुँदे सहमतिबारे भ्रम फैलाएको भन्दै नेपालले भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell